झापा, १३ फागुन । झापाको भद्रपुरस्थित सशस्त्र प्रहरी बल नेपाल, २ नं. हेडक्वार्टर गणले चन्द्रगढी–काँकरभिट्टा मार्गमा शंकास्पद रुपमा गइरहेका दुई भारतीय नम्बर प्लेटका सवारीसाधनलाई चेकजाँच गर्ने क्रममा सवार व्यक्तिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ ।
प्रहरी अनुसन्धानमा खुलेको विवरणअनुसार नियन्त्रणमा परेका अभियुक्तहरुले संगठित रुपमा ठगी गर्ने उद्देश्यले नोट (कागजी मुद्रा) आकारका सादा कागजका बन्डल तयार गरी माथि–तल सक्कली नोट राख्ने, सरकारी कार्यालयको पत्र संलग्न गर्ने जस्ता गतिविधि गरेका थिए ।
उनीहरुले व्यापारमा लगानी गरेको रकम कानुनी अडचनका कारण नेपाल सरकारले जफत गरेको र भारततर्फ ल्याउन जरिवाना तिर्नुपर्ने भन्दै चिनाजान वा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरुलाई भिडियो सन्देश पठाई ठगी गर्ने योजना बनाएको देखिएको छ ।
अनुसन्धान क्रममा मेचिनगर नगरपालिका–४ आमडाँगीस्थित स्थानबाट २१ वटा टिनको बाक्सा र २३७ बन्डल नोट आकारको सादा कागज बरामद गरिएको छ । साथै, सरकारी छाप, दस्तखत किर्ते कागजात, नेपाल सरकारको निशान छाप, नेपाल प्रहरीको नक्कली परिचयपत्र लगायतका कागजात समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले किर्ते कागजातलाई विश्वास दिलाउन नोटरी पब्लिकबाट प्रमाणित गराउन भारतबाट काँकरभिट्टा नाका हुँदै चन्द्रगढी आएका थिए । डेढ महिना अगाडि मेचिनगर–४ स्थित एक होटलमा टिनको बाक्सा र नोट आकारको सादा कागजको फोटो तथा भिडियो खिचिएको बुझिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा विगतमा पनि यस्ता ठगी धन्दा तथा अन्य किसिमका स्क्याम गरी दुबै मुलुकका नागरिकलाई पीडित बनाएको हुन सक्ने प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय झापाले यस घटनाबाट ठगीमा परेका सम्भावित पिडितहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । अभियुक्तहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम लिखत सम्बन्धी कसुर अन्तरगत अनुसन्धान तथा कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीहरू
१. भारत पश्चिम बंगाल, आदर्श पल्ली बस्ने ४५ वर्षीय अरिन्दम धर (Arindam Dhar)
२. भारत पश्चिम बंगाल, सारत पल्ली बस्ने ३६ वर्षीया दिपा भौमिक (Dipa Bhowmick)
३. भारत पश्चिम बंगाल, चन्द्र मोहन गुहा रोड, हरिनभी, साउथ २४ पार्गानास बस्ने ३५ वर्षीय सुमन सरकार (Suman Sarkar)
४. भारत पश्चिम बंगाल, पार्गानास मुसलमान पारा बस्ने ३७ वर्षीय नुर कलाम शेख (Nur Kalam Sekh)
५. झापा, कमल गाउँपालिका–६ बस्ने ४३ वर्षीय देवेन्द्र सापकोटा
६. भारत पश्चिम बंगाल, जलपाईगुरी बस्ने ५२ वर्षीय अबेद अली होसैन (Abed Ali Hossain)
७. भारत पश्चिम बंगाल, उमाचरनपुर फालाकाता बस्ने २० वर्षीय फारुक अज्मी (Faruk Azmi)

0 comments:
Post a Comment