चुनाव अवधिभर जाँडरक्सी बिक्रीवितरण र पिउन प्रतिबन्ध


काठमाण्डौ, १४ फागुन । आउँदो २१ गते हुने चुनावका लागि जाँडरक्सी बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लागेको छ । मतदानको मितिभन्दा सात दिन अगाडिदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म जाँडरक्सी पदार्थ बिक्री–वितरण तथा पिउन प्रतिबन्ध लगाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्णय गरेअनुसार यो नियम आजदेखि लागू भएको हो ।


उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय अनुसार आउँदो १८ गते सोमवार राति १२ बजेदेखि चुनावी प्रचारप्रसार निषेध हुनेछ । यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिएको छ ।
मतदानको दिनमा अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका गाडी र पास प्राप्त गरेका गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडीहरू सञ्चालनमा रोक लाग्नेछ । यो निर्णय फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान नसकिएसम्मका लागि लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
अत्यावश्यक सेवाका गाडीमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका गाडी, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने गाडी रहेका छन् ।
मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत सञ्चालनको व्यवस्था मिलाउन, अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म तथा घर र बसोबास गर्ने होटलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको गाडी प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले सम्बन्धित निकायलाई भनेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment