इलाम–२ : उपनिर्वाचनमा झैँ सहज छैन सुहाङलाई

  • नमीन ढकाल 
मंगलबार, माघ २८ २०८२


इलाम : इलाम–२ नेपालको संविधान–२०७२ जारी गर्न निर्णायक भूमिका खेल्ने पूर्व सभामुख स्व सुवासचन्द्र नेम्वाङले ३१ बर्ष एक छत्र वर्चस्व राखेको क्षेत्र हो। अहिले त्यहाँ उनको विरासत छोरा सुहाङ नेम्वाङले धानिरहेका छन्। तीन दशकदेखि नेम्वाङ परिवारको प्रभाव कायम रहँदै आएको यो क्षेत्रमा पछिल्ला वर्षहरूमा भने मतदाताको मनोविज्ञान बदलिँदै गएको देखिन्छ। जेनजी आन्दोलनपछि भएको संसद विघटनबाट उत्पन्न परिस्थितीले यही परिवर्तनको संकेत दिएको छ। जसले फागुन २१ को निर्वाचन अझ रोचक र प्रतिस्पर्धात्मक बनाइदिएको छ।
फागुन २१ का लागि क्षेत्र नम्बर–२ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेका छन्। ६० हजार ९ सय ७५ पुरुष, ५८ हजार ५ सय १२ महिला र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन्। पूर्वसभामुख नेम्वाङको असामयिक निधनपछि २०८१ मा भएको उपनिर्वाचनमा कूल १ लाख १५ हजार ८९९ मतदाता थिए। जसमा ६९ हजार ३७४ मत खसेको थियो। तीमध्ये ६८ हजार ४७२ मत सदर भएका थिए। परिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याउँदै जित निकाले। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २१ हजार ९४२ मत पाए भने पहिचानवादी धारका डकेन्द्रसिंह लिम्बुले ११ हजार ४५७ मत प्राप्त गरे।
वैकल्पिक शक्ति भनिएको रास्वपाका मिलन कुमार योङयाङ लिम्बुले ५ हजार ५० मत ल्याएपछि जमानत जोगाउन सकेनन्। र तत्कालिन नेकपा एकिकृत समाजवादीका जीत बहादुर राईले ४०८ मत ल्याए। सतहमा हेर्दा यो परिणाम सुहाङको स्पष्ट जितजस्तो देखिए पनि भित्री तहमा हेर्दा यो जित अस्थायी गठबन्धन र मत विभाजनको उपज थियो।
माओवादी केन्द्रले उम्मेदवार नउठाई सुहाङलाई सहयोग गरेको थियो। २०७९ को निर्वाचनमा इलाम–२ मा माओवादी केन्द्रले समानुपातिकतर्फ पाएको करिब ५ हजार १५३ मतलाई आधार मान्दा, त्यो समर्थन बिना सुहाङको परिणाम फरक हुन सक्थ्यो भन्ने विश्लेषण गरिन्छ।
त्यस समयमा सुवास नेम्वाङ विरुद्ध माओवादीले नेपाली कांग्रेसकै खड्कालाई सहयोग गरेको थियो। परिणाममा नेम्वाङ १ सय १४ मतले मात्र विजयी भए। तर अहिले माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी आफ्नै उम्मेदवार ओम बहादुर गुरुङ जिताउन जनताको घरदैलोमा पुगिरहेको छ। यसले गर्दा उपनिर्वाचनमा जस्तो समर्थन पुनः दोहोरिने छैन्। इलाम–२ मा नेम्वाङ परिवारको वर्चश्व २०५१ समयदेखि कायम छ। सुवास नेम्वाङको लामो राजनीतिक यात्राले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिसँग जोड्यो। तर लामो समय एउटै परिवारको प्रतिनिधित्व रहँदा स्थानीयस्तरमा ‘अब परिवर्तन चाहियो’ भन्ने भावना विस्तारै बलियो बन्दै गएको छ।
२०८१ को उपनिर्वाचनपछि गाउँ–बस्तीमा सुनिन थालेको यही स्वर आगामी निर्वाचनको मुख्य मनोविज्ञान बन्न सक्ने संकेत देखिन्छ। यही परिवेशमा नेपाली कांग्रेसका भेषराज भारीलाई बलियो दाबेदारका रूपमा हेरिएको छ। लामो समयदेखि स्थानीय तहमा सक्रिय रहेका, जनसरोकारका मुद्दामा निरन्तर उपस्थित भेषराजले स्थानीय मतदातामाझ विश्वासको आधार बनाउँदै आएका छन्। धेरैको बुझाइमा यदि उनलाई विगतकै निर्वाचनमा टिकट दिएको भए कांग्रेसले जित निकाल्न सक्थ्यो। अहिले कांग्रेसका मात्र होइन, एमालेभित्रका असन्तुष्ट समूहले पनि भेषराजलाई मत दिने सम्भावना रहेको चर्चा छ।
कांग्रेसभित्र २०७९ को निर्वाचनमा सुवास नेम्वाङसँग झिनो मतान्तरले पराजित डम्बर खड्कालाई पुनः टिकट दिइँदा उत्पन्न असन्तुष्टिको असर अझै देखिन्छ। अर्कोतर्फ वैकल्पिक राजनीतिप्रति आकर्षित मतदाताले रास्वपालाई रोज्दा कांग्रेसको परम्परागत आधार केही कमजोर बनेको छ। एमालेतर्फ पनि पहिचानवादी धारका उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई मत गएको देखिन्छ। माङसेबुङ क्षेत्र इलाम–२ को निर्णायक भूगोलका रूपमा चिनिन्छ। उपनिर्वाचनमा सुहाङले यहाँबाट ल्याएको मतको आधाभन्दा कम मात्रै यस पटक उनको पक्षमा आउने स्थानीय आँकलन छ। श्रम संस्कृति पार्टी, लिम्बुवान, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय परिवर्तन पार्टीजस्ता दलहरूको सक्रियताले मत थप विभाजित हुने सम्भावना छ। यस्तो अवस्थामा मत विभाजनको फाइदा भेषराज भारीले लिन सक्ने देखिन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समेत युवा उम्मेदवारको रुपमा गोकुल राईलाई उठाएको छ। उपनिर्वाचनमा मिलन लिम्बुले ल्याएको मतलाई जोगाउँदै थप मत जोडन सकेको अवस्थामा इलामको राजनीतिले फरक कोर्स बनाउन सक्छ। तर यही बीचमा एमालेभित्र र सुहाङ समर्थक वृत्तमा एउटा फरक बहस पनि चलेको छ ुइलामलाई स्थायित्व चाहियो, प्रयोग होइनु। उनीहरूका अनुसार सुहाङ युवा, ऊर्जाशील र निरन्तर क्षेत्रमै खटिने नेता हुन्, जसलाई निरन्तर अवसर दिइएमा दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न सक्ने क्षमता छ। अल्पकालीन असन्तुष्टिका कारण नेतृत्व बदल्दै जानेभन्दा, सुरु भइसकेका पहलहरूलाई पूर्णता दिन सुहाङलाई नै जिताउनुपर्छ भन्ने धारणा यदाकदा चर्चामा छ। इलाम–२ मा नेम्वाङ परिवारको वर्चश्व २०५६ साल यता निरन्तर छ।
सुवास नेम्वाङको लामो राजनीतिक यात्राले यो क्षेत्रलाई राष्ट्रिय राजनीतिसँग जोड्यो। सुहाङले त्यो विरासतलाई केवल नामका रूपमा होइन, नयाँ पुस्ताको शैली र प्राथमिकतासहित अघि बढाउने प्रयास गरिरहेका छन्। उनी संसदमा पुगेपछि शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणसम्बन्धी विषयलाई निरन्तर उठाइरहेका छन्। इलाम–२ जस्तो संवेदनशील र राजनीतिक रूपमा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्न राष्ट्रिय तहमा प्रभाव राख्ने दलको सांसद आवश्यक हुन्छ, ताकि ठूला पूर्वाधार आयोजना र बजेट सुनिश्चित गर्न सजिलो होस्।
सरकार निर्माण र नीतिगत निर्णयमा प्रत्यक्ष पहुँच राख्ने दलको प्रतिनिधि भएकाले कानुन व्यवसायी समेत रहेका सुहाङले इलामका मुद्दा अघि बढाउन बढी प्रभावकारी भूमिका खेल्न सक्ने देखिन्छ। माङसेबुङ क्षेत्र इलाम–२ को निर्णायक भूगोलका रूपमा चिनिन्छ। उपनिर्वाचनमा सुहाङले यहाँबाट ल्याएको मतको आधाभन्दा कम मात्रै यस पटक उनको पक्षमा आउने स्थानीय आँकलन छ। तर यही क्षेत्रमा २०८२ असोज १८ र १९ को विपद्का बेला सुहाङ प्रत्यक्ष खटिएको स्मरण गर्दै ‘संकटमा साथ दिने नेता’ भनेर उनलाई फेरि अवसर दिनुपर्ने मत एमालेका नेता कार्यकर्ताहरुले उठाएका छन्।
सुहाङ युवा उम्मेदवार हुनु, जेनजी पुस्तासँग संवाद गर्ने शैली अपनाउनु र पार्टीभित्रै फरक धार राख्न सक्ने साहस देखाउनु उनका पक्षमा जाने आधार हुन्। नेकपा एमाले भित्र सुहाङ जस्ता भिजन भएको युवाहरुलाई निरन्तर मौका दिइएन भने पुरानै ढाँचाको राजनीति दोहोरिरहन्छ, त्यसैले इलामले नयाँ पुस्ताको नेतृत्वलाई बलियो बनाउने अवसर गुमाउनु हुँदैन भन्ने धारणा छ। सुहाङ नेम्वाङलाई निरन्तरता दिनु भनेको इलामलाई दीर्घकालीन स्थायित्व, राष्ट्रिय पहुँच र नयाँ पुस्ताको प्रतिनिधित्व दिलाउने निर्णय हुनसक्ने तर्क पनि बलियो रूपमा अघि सारिन थालेको छ।
समग्रमा हेर्दा, २०८१ को उपनिर्वाचनले इलाम–२ मा प्रतिस्पर्धाको ढोका खोलिदिएको छ। अबको निर्वाचन नेम्वाङ परिवारको लामो विरासत जोगिने कि स्थानीय तहबाट उदाएको परिवर्तनको चाहनाले नयाँ अध्याय सुरु गर्ने भन्ने निर्णायक मोडमा पुगेको छ। उपनिर्वाचनमा जस्तो सहज जितको अवस्थामा सुहाङ छैनन्, र यही कारण इलाम–२ को चुनाव यस पटक झन् चासोका साथ हेरिएको छ। मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेकै भएपछि हार–जितको नतिजामा फराकिलो अन्तर नहुने संकेत देखिएको छ।
लाेकल सन्देशबाट सभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment