कांग्रेसको इलामको प्रतिबद्धतापत्र : संविधान परिमार्जनदेखि स्थानीय सेवा सुधारसम्म (प्रतिबद्धतासहित)


इलाम : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाली कांग्रेस इलामले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । मङ्गलबार इलाममा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिबद्धतापत्र लेखन कार्यदलका संयोजक होम दुलालले दस्तावेज सार्वजनिक गर्दै वाचन गरेर सुनाएका हुन् ।
‘बदलियो कांग्रेस, बदल्छौं देश’ मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा पार्टीले पूर्वजहरूको त्याग र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको परिवर्तन चाहनालाई आत्मसात गरेको उल्लेख गरिएको छ । कांग्रेसले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती र शासकीय विकृतिलाई देशका प्रमुख दुश्मनका रूपमा चित्रण गर्दै आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र नागरिकमैत्री शासन प्रणाली स्थापना गर्ने संकल्प गरेको छ ।
प्रतिबद्धतापत्रमा संविधान कार्यान्वयनको १० वर्षको समीक्षा गर्दै राष्ट्रिय सहमतिमा आवश्यक परिमार्जनका लागि पहल गर्ने घोषणा गरिएको छ । बजेट कार्यान्वयनमा पारदर्शिता, जनसहभागिता र नियमित सार्वजनिक परीक्षणलाई अनिवार्य बनाइने प्रतिबद्धता जनाइएको छ । मालपोत, नापी, नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र स्थायी लेखा नम्बरजस्ता आधारभूत सेवा स्थानीय तहबाटै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
प्रतिबद्धतापत्रमा जीर्ण बनेको मेची राजमार्गको पुनर्निर्माण र दिगो व्यवस्थापन, वैकल्पिक मार्ग निर्माण तथा वर्षायाममा सडक सञ्जालबाट विच्छेद हुने अवस्थाको अन्त्य गर्ने योजना अघि सारिएको छ । ‘एक घर-एक धारा’ अवधारणाअनुसार स्वच्छ खानेपानी वितरण सुनिश्चित गरिने उल्लेख छ । प्रत्येक पालिकामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार बहुउद्देश्यीय खेलमैदान निर्माण गरी खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
त्यस्तै कृषिमा आधुनिक प्रविधि विस्तार, सिँचाइ र बीउबिजनको सहज उपलब्धता तथा उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गरिने बताइएको छ । चिया, कफी, अलैँची, अदुवा, अकबरे खुर्सानी, किवी, जडीबुटी, दुध र फलफूल जस्ता स्थानीय उत्पादनको प्रशोधन र बजारीकरणका लागि ‘एक पालिका-एक उद्योग’ अवधारणा अघि सारिएको छ ।
‘गाउँमै रोजगारी, स्वदेशमै उद्यम’ नारासहित युवालाई डिजिटल मार्केटिङ, एआई टुल्स लगायतका सीपमूलक तालिम प्रदान गरी उद्यमशीलता विकास गरिने उल्लेख छ । बाँदर, दुम्सी लगायत वन्यजन्तुबाट हुने कृषिजन्य क्षति न्यूनीकरणका लागि वैकल्पिक कृषि प्रणाली अध्ययन गरी कार्यान्वयनमा ल्याइने योजना पनि समेटिएको छ ।
त्यसैगरी इलामको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई आधार मानी नयाँ पर्यटन करिडोर विकास गर्ने योजना प्रस्तुत गरिएको छ । इको टुरिजम, एग्रो टुरिजम र सीमापार पर्यटन प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गरिने जनाइएको छ ।
जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न हरित ऊर्जा प्रवर्द्धन, जलवायु-स्मार्ट कृषि र विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता जनाइएको छ । मेची, जोगमाई, माई, पुवामाई र देउमाई खोलाको संरक्षण तथा उपयोगका लागि स्थानीय पानी साझेदारी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
इलामलाई शैक्षिक हबका रूपमा विकास गर्ने लक्ष्यसहित सूचना प्रविधि (आईटी) सम्बन्धी उच्च शिक्षा उपलब्ध गराउने, प्राविधिक शिक्षालयको क्षमता अभिवृद्धि गर्ने र स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ । जिल्ला अस्पतालमा विशेषज्ञ सेवा र उपकरण व्यवस्थापन गरी अधिकांश उपचार सेवा इलाममै उपलब्ध गराउने, ट्रमा सेन्टर स्थापना गर्ने र गैरसंक्रामक रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
प्रतिबद्धतापत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, एकल महिला, फरक क्षमता भएका व्यक्ति, सहिद परिवार तथा विपद्पीडित नागरिकका लागि विशेष कार्यक्रम ल्याइने उल्लेख छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने र भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्याको दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता जनाइएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा चुनाव चिन्ह रुखमा मतदान गर्न अपिल गरेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वारहरू निश्कल राई (इलाम क्षेत्र नं. १) र भेषराज आचार्य (इलाम क्षेत्र नं. २) लाई अत्यधिक मतले विजयी गराउन आह्वान गरिएको छ ।
‘इलामको विकास-हाम्रो प्रतिबद्धता, हाम्रो जिम्मेवारी’ भन्ने नारासहित सार्वजनिक प्रतिबद्धतापत्रले इलाममा विकास, सुशासन र समृद्धिको नयाँ आधार तयार गर्ने दाबी कांग्रेसले गरेको छ ।
प्रतिबद्धतापत्र :

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment