बाँदर आतङ्कले खेतीयोग्य जमिन बाझिँदै

फाल्गुन २६, २०८२


भोजपुर, भोजपुर जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन बर्सेनि बाझिँदै गएको छ । अन्नबाली जोगाउन नसक्ने अवस्था सिर्जना भएपछि किसान खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन् । बाँदरको निरन्तर उपद्रोका कारण ग्रामीण बस्ती क्रमशः सुनसान बन्दै गएका छन् ।
स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन् । खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनःफर्किने भएकाले नियन्त्रण गर्न झन कठिन भएको छ । कतिपयले डर देखाउने आकृति बनाएका छन् । खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन ।
मानेभञ्ज्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका–५ (साविक वडा नं ८ र ९) मा समस्या गम्भीर देखिएको छ । स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ प्रायः रित्तिएको छ । “पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ”, उहाँले भन्नुभयो ।
अर्चले, भोर्लेनी, दमाईंछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायत बस्तीमा अहिले अधिकांश घर जीर्ण र खाली अवस्थामा छन् । एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन् । खेतका कान्ला र पाखा झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ । उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ ।
किसानका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारीजस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ । “बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ”, तामाङले गुनासो गर्नुभयो, “दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन । मेहनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे । कतिपयले त गाउँ नै छाड्नुपरेको छ ।”
जिल्लाका अन्य स्थानीय तहमा पनि बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकको गुनासो छ । कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवार आर्थिक रूपमा मारमा परेका छन् । युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतङ्कका कारण उनीहरू पनि निरुत्साहित भएका छन् ।
स्थानीय सरोकार भएका निकायका अनुसार वनक्षेत्र नजिकका बस्तीमा समस्या बढी छ । मानवीय बस्ती घट्दै जाँदा बाँकी रहेका बाँदर बस्ती केन्द्रित बनेका छन् । दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानको भनाइ छ ।
बाँदर नियन्त्रणका लागि प्रभावकारी नीतिनिर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ । साथै, स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानको माग छ ।
समयमै प्रभावकारी पहल नभए कृषिमा आधारित जीविकोपार्जन सङ्कटमा पर्ने स्थानीय जानकारहरुले बताउने गरेका छन् । बाँदरका कारण ग्रामीण बस्तीको सामाजिक संरचनामै दीर्घकालीन असर पर्ने देखिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment