इलाम गोल्डकप: रोहित चन्द सम्मिलित मछिन्द्रसंग भिड्ने यस्तो छ मलेसियन टिम

  • नमीन ढकाल 
सोमबार, बैशाख ७ २०८३

इलाम । इलाम गोल्डकपको तेश्रो क्वाटरफाइनल खेलमा आज पाहुना टोली एन पेनाङ एफसी र शहिद स्मारक लिग पूर्व च्याम्पियन मछिन्द्र क्लब प्रतिस्पर्धा गर्दैछन् । इलाम गोल्डकपमा यी २ टोली पहिलो पटक प्रतिस्पर्धा गदैैछन् । तर यी २ टिम पहिलो पटक प्रतिस्पर्धा गरेका भने हैनन् ।
२ महिना अघि झापामा भएको विनोद बस्नेत स्मृति झापा गोल्डकपको क्वाटरफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जसमा मछिन्द्र २–१ ले विजयी बनेको थियो । मछिन्द्रका लागि सनिश श्रेष्ठ र जोनाथन जोरिल्लाको गोलबाट जित निकालेको थियो । मलेसियाका लागि जोन डी एराले सान्तवाना गोल गरेका थिए ।
मछिन्द्रले यस पटक नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्दलाई समेत इलामको मैदानमा उतार्ने तयारी गरेको छ । मछिन्द्रमा रोहितसंगै राष्ट्रिय टिमका वर्तमान र पूर्व खेलाडीहरु छन् । मछिन्द्रको टिममा नेपालबाट प्रतिनिधित्व गरेका सनिश श्रेष्ठ, मिलन राई, रोमन भुजेल, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, सौरभ लिम्बु रहेका छन् ।
नेपाली यु–२० राष्ट्रिय टिमका दिपेश गुरुङ र अविशान स्याङतान समेत रहनेछन् । मछिन्द्रका लागि २०८३ साल सुखद रहेको छैन् । नयाँ बर्षको पहिलो दिन नै १६ औ इटहरी गोल्डकपमा सडनडेथमा ८–७ गोल अन्तरले झापा–११ संग पराजय भोगेको थियो ।


२०८२ को अन्तिम प्रतियोगिताको रुपमा सहभागिता जनाएको ३८ औ विराट गोल्डकपमा समेत नेपाल पुलिससंग सडनडेथमा ७–६ गोल अन्तरले पराजित हुन पुगेको थियो । मछिन्द्रलाई लिग च्याम्पियन बनाएका प्रवेश कट्वाल प्रशिक्षकको रुपमा रहेका छन् । प्राप्त जानकारी अनुसार मछिन्द्रको टिममा इटहरी र विराट गोल्डकप खेलेका खेलाडीहरु नै रहेका छन् ।
यता मलेसियाको टिमबाट केही नेपाली खेलाडी सहित अधिकाँश अफ्रिकन खेलाडी रहेका छन् । मलेसियामा नेपाल यु–२३ राष्ट्रिय टिमका डिफेन्डर लहान सुब्बा समेत रहेका छन् । त्यसैगरी सनम राई र मदन स्याङतान समेत रहेका छन् ।
मलेसियामा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको क्लब एन पेनाङले गत महिना तेश्रो संस्करणको एन पेनाङ गोल्डकप सम्पन्न गरिसकेको छ । जसमा आयोजक टिमले मकालु एफसी माथि ६–० को फराकिलो जितका साथ उपाधि रक्षा गरेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment