हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

बैशाख २७, २०८३


मेचीनगर :  भारतको पश्चिम बंगालबाट आएको हात्तीको बथानले पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगी लगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।
मेचीनगर नगरपालिकाको वडा नं। १, ४ र ५ अन्तर्गत बाहुनडाँगी क्षेत्रमा एक सातायता भारतीय जङ्गलबाट दैनिक प्रवेश गर्ने ३० देखि ४० वटासम्म हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्‍याइरहेको छ।
प्रवेश नाकामै हात्ती रोक्न, स्थानीयको सुरक्षा सुनिश्चित गर्न तथा खेतीबालीमा हुने क्षति न्यूनीकरण गर्न सर्वपक्षीय बैठकको निर्णयअनुसार सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिमलगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।
उनका अनुसार, एक सातायता भारतको आसामबाट आएका करिब १०० वटा हात्ती दिनभर सीमापारिको जङ्गलमा बस्ने गरेका छन् भने रात परेपछि बथानबाट छुट्टिएर ३० देखि ४० वटासम्म हात्ती नेपाल प्रवेश गरी किसानको बालीमा क्षति पुर्‍याउने गरेका छन्।
हात्तीको बथान नेपाल प्रवेश गर्न नदिने उपाय खोज्न हालै सर्वपक्षीय बैठक आयोजना गरिएको थियो। बैठकले भारतीय वन अधिकारी तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने, साँझ ६ बजेपछि हात्ती हेर्ने बहानामा प्रवेश नाकामा सर्वसाधारणलाई जान रोक लगाउने, प्रभावित क्षेत्रका बस्ती वरिपरि मौसमी तारबार लगाउने, हात्ती खेदाउन तथा प्रवेश नाका रोक्न ट्र्याक्टर परिचालन गर्ने, नगरपालिकाबाट ट्र्याक्टरका लागि इन्धन उपलब्ध गराउने र रातिको समयमा हिँडडुल नगर्न माइकिङमार्फत सचेतना फैलाउनेलगायत निर्णय गरेको वडाध्यक्ष कार्कीले जानकारी दिए।
मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुनडाँगीका सीमावर्ती तीन वडामा जडान गरिएको १८ किलोमिटर लामो सौर्य तारबारको मर्मतसम्भार प्रक्रिया अघि बढिरहेको बताए।
उनका अनुसार, एक दशकअघि जडान गरिएको उक्त विद्युतीय तारबारमा प्रयोग भएका अधिकांश ब्याट्री फेर्नुपर्ने अवस्थामा पुगेका छन्। त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र मेचीनगर नगरपालिकाको ३० लाख रुपैयाँ बजेटमा तारबार मर्मत गरिनेछ।
मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका पूर्वअध्यक्ष निरज घिमिरेले नेपालमा बाली पाक्ने समयमा भारतबाट सयौँको सङ्ख्यामा हात्ती प्रवेश गर्ने र त्यसका कारण बर्सेनि जनधनको क्षति दोहोरिने गरेको बताए। उनले भारत सरकारका सम्बन्धित निकायसँग उच्चस्तरीय वार्ता गरी हात्तीको बथान नियन्त्रण गर्नुपर्ने माग गरे।
यसपटक आएको हात्तीको बथानले पाक्न लागेको मकैबाली सखाप पारेको र सुपारीका बोटसमेत भाँचिदिएको स्थानीयको गुनासो छ। केही महिनायता हात्तीको आक्रमणबाट बाहुनडाँगीमा तीन जना घाइते भएका छन् भने १५ घरमा क्षति पुगेको स्थानीय गोपी रिजालले बताए। उनले सीमा क्षेत्रमा जडान गरिएको सौर्य तारबारका ब्याट्री चोरी भएकाले नयाँ ब्याट्री जडान गर्न माग गरे।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment