पूर्वमा पाँचको मृत्यु, चार बेपत्ता
O सिरहाका तीन गाविसलाई चारैतिर बाढीले घेर्यो
O धनुषामा जनकपुर नगरपालिका र कयौं गाउँ डुबानमा
O सिन्धुलीमा १० घर डुबेपछि पीडित परिवार अरूको शरणमा
O धनकुटामा गाडी नै पुरियो
O डाइभर्सन बगेपछि कोसी राजमार्ग अवरुद्ध
O भोजपुर, ओखलढुंगा र पाँचथरमा पनि पहिरो, आवतजावत बन्द
O सप्तकोसीमा वर्षकै उच्च बहाव रेकर्ड
बाढी पहिरोबाट पूर्वी क्षेत्रमा पाँच जनाको मृत्यु भएको छ भने चार बेपत्ता भएका छन्। पूर्वपश्चिम राजमार्ग र अन्य सडकका पुलमा क्षति पुगेको छ। कयौं स्थान डुबानमा परेका छन्। मोरङमा दुई, सिन्धुलीमा एक, उदयपुरमा एक र धनुषामा एकजनाको ज्यान गएको हो। सिरहामा दुई, उदयपुर र धनुषामा १र१ जना बेपत्ता भएका हुन्। मोरङमा लेटाङ ८ का ३६ वर्षीय कर्णबहादुर केप्छाकीको स्थानीय तुर्के खोला तर्ने क्रममा र वारंगी ८ का खड्गबहादुर लिम्बूको चिसाङ खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो।
सिन्धुलीमा कमला नदी तर्ने क्रममा बुधबार साँझ हत्पते ७ का ६२ वर्षीय भक्तबहादुर श्रेष्ठको बगेर मृत्यु भएको हो। निपाने गाविसतर्फ जाने क्रममा नदी पार गर्न लाग्दा गागन नजिकै बगेका श्रेष्ठको शव बिहीबार नदी किनारमा फेला परेको हो।
यस्तै, उदयपुरमा बेलटार बसहा २ मा द्वार खोलाले बगाएर इलामको फाकफोक घर भएका ४३ वर्षीय भानुभक्त राईको ज्यान गएको छ। त्रियुगा ३ मा बस्दै आएका सिरहा विष्णुपुर ३ का मोहन राई त्रियुगा खोला तर्ने क्रममा बेपत्ता भएका छन्। कोसीको बाढी पसेर तपेश्वरी १ का २५ घर डुबानमा परेका छन्। धनुषामा तुलसी २ का ४१ वर्षीय गोपाल भित्रीकोटीको सिन्दुरी खोलाले बगाएर मृत्यु भएको हो। प्रहरीका अनुसार बलुवा खोलाको बाढीले बगाएर ५५ वर्षीय मगर बुढा बेपत्ता छन्। यसैगरी, सिरहाको भोक्राहा ९ मा खेतमा बाली रुँगेर सुतेका भिखारी महरा कमला नदीको तटबन्ध भत्केर आएको बाढीमा परी बेपत्ता भएका छन्। उनीसँगै सुतेका चार जनाले पौडेर ज्यान बचाएको स्थानीय कुशेश्वर महतोले बताए। यस्तै, मझौलिया २ का ४० वषर्ीया अलबेला यादव पनि बगेर बेपत्ता छन्। सिरहाका भोक्राहा र चिकना गाविस तथा विष्णुपुर प्रराको जमुवा टोललाई चारैतिरबाट बाढीले घेरेको छ। स्थानीय बासिन्दा गाउँबाट निस्किन सक्ने अवस्थामा छैनन्। पानीको बहाव झनै बढदै गएपछि सेना, सशस्त्र र प्रहरीलाई उद्धारका लागि पठाइएको छ। सेनाको इटहरीस्थित पूर्वी पृतनाबाट आएको टोलीले उद्धार जारी राखेको छ। बाढीबाट भोक्राहाका २०, चिकनाका २५, विष्णुपुर प्रराका ६०, चतरीका ४०, बेल्हाका २५ र सारस्वरका ६० तथा सिरहा नगरपालिका ६ र ७ वडाका ३ सय गरी ५ सय ३० परिवार प्रभावित भएको डीएसपी लक्ष्मण गिरीले बताए।
धनुषामा कमला नदीको बाढीबाट बरमझिया, किरतपुर, रघुनाथपुर, बथनाहीलगायत एक दर्जन गाउँ डुबानमा परेका छन्। पानीको निकास हुन नसकेकाले जनकपुर नगरपालिकाका केही क्षेत्र जलमग्न छन्। ट्रयाकमा क्षति पुग्नुका साथै सिन्धुलीको खुर्कोट(नेपालथोक खण्डको ठाउँ(ठाउँमा पहिरो गएपछि बिहीबारदेखि बीपी राजमार्गमा यातायात अवरुद्ध भएको छ। सिन्धुली सदरमुकाम, रामेछाप र मध्यपहाडी लोकमार्गबाट राजधानी आउजाउ गर्ने सवारीसाधन बीचमा अलपत्र परेका छन्। वर्षाकै कारण सिन्धुलीका आडगढी, चपौली, मझुवा, तीनकन्या, नेत्रकाली, अमले बस्तीपुर, चकमकेलगायत स्थानमा यातायातका साधन चल्न सकेका छैनन्।
सिन्धुलीस्थित कमला नदीको बाढीले बिहीबारदेखि कटान थालेको छ। दुधौली गाविसमा खेतीयोग्य जमिन बगाइसकेको छ भने बाढी बस्तीमा पस्ने जोखिम बढेपछि स्थानीय बासिन्दा त्रसित छन्। स्थानीय लालबहादुर थापाका अनुसार दुधौलीको पतियानी, सिमलडाँडा र खिरयानी गाउँमा नदी पस्न खोजिरहेको छ। टाँडीको थलीमा समेत कटान भइरहेको छ। तावाककुर खोलाले लदाभिर गाविसका सुगारे, चमराही र बकाहाफाँटमा कटान थालेको छ। मरिणखोला र चँदाहाको बाढीले समेत विभिन्न ठाउँमा कटान गरिरहेको स्थानीयवासीले बताए। यस्तै, सिर्थौली १ स्थित मुसहर बस्तीका १० घर डुबेका छन्। पीडित परिवार छिमेकीका घरमा आश्रय लिएर बसिरहेको स्थानीय थानेश्वर काफ्लेले जनाए। बेलघारी गाविसको झुँगाखोलाको बाढीले काठेपुल बगाएको छ। मरिणखोलाको बाढीबाट महादेवस्थान गाविसका ५० घर जोखिममा परेका छन्।
पाँचथरमा खहरे खोलाले बगाएर ल्याएका ढुंगा, माटो र रोडाले स्यावरुम्बा(९ लम्बुघाटस्थित तमोर नदीलाई अवरोध पुर्याएको छ। पाँचथर र तेह्रथुम सीमामा पर्ने उक्त स्थानमा आम्बोटे खोलाले पाँचथरतिरबाट ल्याएको ढुंगा, माटो र रोडा थुप्रिएको हो। प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले उक्त स्थानको २०र२५ मिटर फैलावट हुने गरी ५ मिटर अग्लो ढुंगा, माटो र रोडा थुप्रिएको बताए। बढदै गए नदीको बहाव थुन्ने जोखिम देखिएकाले पन्छाउन लागिएको उनले बताए। त्यसका कारण सोही स्थानमा डिभिजन सडक कार्यालय, धनकुटामार्फत निर्माणाधीन पक्की पुलको जगमा क्षति पुगेको छ।
ओखलढुंगाका विभिन्न स्थानमा पहिरो झरेपछि सिद्धिचरण राजमार्गसँगै अधिकांश सडक अवरुद्ध भएका छन्। सिद्धिचरण राजमार्गमा मात्रै केतुके, मानेभन्ज्याङ, लगलगे, ओखलढुंगा गरी चार बढी स्थानमा पहिरो गएको छ। रामपुर, रबुवा, ओखलढुंगा(सोलुखुम्बुलगायत स्थानीय सडकमा सवारी आवतजावत बन्द भएको छ। पहिरोले बिजुलीको पोल लडाएका कारण बुइपा(ओखलढुंगा ११ केभी प्रसारण लाइन बन्द भएपछि सदरमुकाम र आसपासका क्षेत्र अन्धकारमय छन्। ओखलढुंगा जिल्ला प्रशासन र शिक्षा कार्यालय पनि जोखिममा छन्। एक स्थानीय बासिन्दाले घडेरीका लागि खनेको जग्गाबाट सुरु भएको पहिरो निरन्तर झरेपछि करिब २० मिटर नजिकसम्म पहिरो आइपुगेको हो। ुप्रशासनको क्वार्टर भवन र शिक्षा कार्यालय कतिखेर बगाउने हो, टुंगो छैन,ु प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईले भने, ुतत्कालका लागि जोखिमबाट बच्ने उपाय अपनाइरहेका छौं, दीर्घकालीन समाधानका लागि संस्थागत पहल नगरी हुँदैन।ु
भोजपुरका विभिन्न ठाउँमा पहिरोले क्षति पुर्याएको छ। हिले(लेगुवा(भोजपुर नारदमुनी थुलुङ सडकको श्यामशिला र भैंसीपंखा क्षेत्रमा पहिरोले यातायात अवरुद्ध भएको छ। सदरमुकाम नजिक बोखिमस्थित शिवबहादुर पाण्डेको घर पुरिएको छ। सदरमुकामस्थित डाँडागाउँमा नेपाल खाद्य संस्थानको गोदामको पर्खाल भत्किएको छ। खाटाम्मा गाविसस्थित लघु जलविद्युत् आयोजनाको कुलो भत्किएपछि अन्धकार भएको छ। जिल्लाका अधिकांश गाविसमा बाढी र पहिरोले भौतिक संरचना र खेतबारीमा क्षति पुगेको छ। पिखुवा खोलामा पानी बढेकाले भोजपुर(ओख्रे, मानेभन्ज्याङ, चखेवा, भोजपुर(दिङला लगायत क्षेत्रको यातायात सेवा अवरुद्ध भएको छ।
धनकुटामा लेउती खोलाको बाढीले कोसी राजमार्ग अन्तर्गत लाबरबोटेमा बनाइएको करिब ५० मिटर अस्थायी डाइभर्सन बगाएको छ। जसका कारण धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभामा यातायात अवरुद्ध भएको छ। वारिपारि रहेका केही सवारीसाधनले यात्रु ओसारिरहेका छन्। केही सवारी बाटैमा अलपत्र छन्। तीमध्ये अधिकांश तेह्रथुम र धनकुटाबाट तरकारी लिएर भारत र तराईका विभिन्न सहर तथा राजधानी हिँडेका हुन्।
बाढीले गोलभेंडा बोकेर मुलघाटबाट धरान जाँदै गरेको मे१ज १५२३ नम्बरको पिकअप जिप पुरेको छ। खोलाको बीचमा फसेका दुई मोटरसाइकल र तिनमा सवार यात्रुलाई प्रहरीले उद्धार गरेको छ। सडक सुचारु गर्न प्रशासनले डोजर र स्काभेटरसहित सेना, सशस्त्र र प्रहरी परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी भगिराज इङनामले जतिसक्दो छिटो सडक सुचारु गर्न निर्देशन दिएका छन्। धार परिवर्तन गरी अस्थायी सडकबाट बग्दै गरेको पानीको बहाव पुरानै बाटोमा फकाइएको छ। गत वर्ष भदौ २१ गते राति आएको बाढीले लेउती(लावरबोटे खण्डको ३ सय मिटर पक्की सडक बगाएको थियो। लेउती खोला आसपासका १२ घर बाढी पहिरोमा पर्दा करोडौंको क्षति भएको थियो। त्यसयता अस्थायी डाइभर्सन बनाएर खोलाबाटै यातायात सञ्चालन हुँदै आएको छ।
सुनसरीमा कोसी ब्जारेजले सप्तकोसी नदीमा बिहीबार यस वर्षकै उच्च बहाव रेकर्ड भएको जनाएको छ। पूर्वी पहाड र तराईमा भएको अविरल वर्षाले पानी बढेको हो। कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार साँझ ३ लाख ६ हजार ४ सय ३० क्युसेक प्रतिसेकेन्ड बहाव रेकर्ड भएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदर्शनप्रसाद ढकालले ब्यारेज क्षेत्रमा जोखिम नरहेको बताए।
साँझ ब्यारेजका ३८ वटा ढोका खोलिएको उनले जानकारी दिए। प्रजिअ ढकालका अनुसार राजाबासको पश्चिमतर्फ कोसीको टापुस्थित एउटा गोठमा फसेका ४ जना र चौपायालाई सुरक्षित स्थानमा ल्याइएको छ। जलस्तर बढदै गए प्रकाशपुर गाविसका राजावास क्षेत्रका २६ नम्बरको स्परमा कटानको जोखिम बढेको छ। राजावासको २६ नम्बर स्परदेखि आसपासका अन्य स्परमा पनि कटान भइरहेको छ। टेंग्राखोलाको बाढीले इटहरी(७, ८ र ९ नम्बर वडामा केही घर डुबानमा परेका छन्।
गर्भवती पुरिइन्
चितवन/ शक्तिखोर २ स्थित राजवनमा पहिरोमा पुरिएर बिहीबार एक गर्भवती महिलाको मृत्यु भएको छ। घरभन्दा टाढा रहेको बारीमा एक्लै काम गर्न गएकी २२ वर्षीया रेणुका चेपाङको माथिबाट खसेको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो। घटनास्थलतर्फ सुरक्षाकर्मी पठाइएको डीएसपी शान्तिराज कोइरालाले बताए।
उपत्यकामा पनि ३ को ज्यान गयो
ललितपुर / अविरल वषाका कारण बिहीबार पहिरोले पुरिएर कालेश्वरमा दुईजनाको मृत्यु भएको छ। घर पछाडि माथिबाट आएको पानीको भललाई कुलो बनाएर फर्काउँदै गरेको अवस्थामा पहिरो झरेको थियो। मृत्यु हुनेमा कालेश्वर ५ का १८ वर्षीय सोनाम घलान र १८ वर्षीय ललिता घलान छन्। यस्तै महानगरीय प्रहरी प्रवक्ता पवनकुमार गिरीका अनुसार भट्टेडाँडा तिनपाने भन्ज्याङस्थित ग्रिनचुली भन्ने ठाउँमा ठाडो खोलाको भलले बगाएर एकको मृत्यु भएको छ। मृतक २५ वर्षीय दीपक लो हुन्। त्यस्तै गोटीखेल ६ का चन्द्रबहादुर थोकरको २ तले कच्ची घर र गाईगोठ बाढीले बगाएको छ।
0 comments:
Post a Comment