इलामको पहिलो साँखेजुङका तीनवटा वडा आईपीएम गाउँ घोषणा
टिका खतिवडा
टिका खतिवडा
साँखेजुङ, २८ भदौ ः साँखेजुङका तीनवटा वडालाई शनिबार नमुना आइपीएम गाउँ घोषणा गरिएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको संयोजनमा स्थानीय हरियाली चिया आइपीएम कृषक समूह र प्रगतिशिल आइपीएम कृषि समूहको संयुक्त आयोजनामा वडा नम्बर १, २ र ३ लाई कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत बुद्धिराम भट्टराईले एक कार्यक्रमबीच नमुना आइपिएम गाउँ घोषणा गरेका हुन् । ती गाउँहरु जिल्लाकै पहिलो आइपीएम गाउँ बनेका छन् । घोषणा सभामा गाविस सचिव बेदमङ्गल खतिवडा, पूर्व गाविस अध्यक्ष बासुदेव बस्नेत, बिभिन्न राजनैतिक दलका प्रतिनिधि लयायत आइपीएम सहकारीका सदस्य, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कृषि बिकास कार्यालयले गत जेठमा ती गाउँलाई नमुना आइपीएम गाउँ घोषणा गर्न एकलाख पचास हजार छुट्याएको थियो । छुट्टिएको रकमको आधा रकम आइपीएम घोषित सहकारीकै खातामा जम्मा गरिएको र आधा रकमले ती गाउँका कृषकहरुलाई गोठ सुधार गरि प्राङ्गारिक मल उत्पादनमा जोड दिएको थियो । सहकारीको खातामा जम्मा गरिएको आधा रकमले कृषकलाई जैविक मल खरिदमा सहयोग गर्न कोष स्थापना गरेको जनाइएको छ ।
बाली संक्षण अधिकृत भट्टराईले नमुना गाउँ घोषणा भएर मात्र नपुग्ने भएकाले यसलाई निरन्तरता दिनेगरि कार्य गर्न कृषकलाई आग्रह गरे । उनले गाई, भैँसीको मुत्र (गहुँत)ले युरिया मलकै काम गर्ने भएकाले युरिया मल खरिद नगर्न कृषकलाई सुझाए । गाउँलाई नमुना आईपिएम घोषणा गर्नुपूर्व गोठ सुधार गरि रासायनिक मलको नियन्त्रण, बोट विरुवा र जैविक वनस्पतिको जगेर्ना जस्ता कार्यलाई प्राथमिकता दिएको जानकारी दिइयो ।
कार्यक्रममा गाविस सचिव खतिवडाले हामीले खाने दिनभरीको खानामा के के खान्छौँ र त्यमा कत्तिको विषादि युक्त छ भनेर सोच्न आवश्यक रहेको बताएका थिए । पूर्व गाविस अध्यक्ष बस्नेतले अहिले प्रयोग गरिएको बिषादियुक्त खानाले आगामी पुस्ताको स्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै होशियार रहन आग्रह गरे । कार्यक्रमका सहभागीहरुले धानबारीमा झार मार्न प्रयोग गरिने औषधिसमेत बिषादि नै भएकाले प्रयोग नगर्न सुझाव दिए । कार्यक्रममा कृषकहरुलाई आइपीएम प्रणालीद्वारा मल उत्पादन गर्ने तरिकाबारे जानकारी गराउनुका साथै मल उत्पादन गर्ने भाँडो(ड्रम)समेत उपलव्ध गराइएको थियो ।

0 comments:
Post a Comment