बढ्यो माईपोखरीमा पानी
इलाम, २९ भदौ , विश्व रामसार सूचीमा सुचिकृत इलामको धार्मिक तथा पर्यटकीय महत्वको माईपोखरीमा पानीको सतह बढ्दै गएको छ । दुई महिनाअघि भएको पानीको सतहभन्दा पाँच फिट बढि भइसकेको स्थानीय बासिन्दाले जनाएका छन् । दुई महिनाअघिसम्म निकै तलसम्म पानी घटेको र वरिपरि हाल पानी रहेको स्थानमा रुख लडेको ठूटाहरु देखिने तथा हिँड्न पनि मिल्ने भएपनि अहिले त्यो भाग पानीले पुरै ढाकेर हिँड्न पनि नसकिने र रुखहरु पनि नदेखिने भइसकेको छ । दिनहुँ दुई चार इञ्च पानीको सतह बढ्दै गएको स्थानीय होटल ब्यवसायी ङिमा दोर्जी शेर्पाले बताए ।
दुई वर्ष अघिदेखि पानीको सतह घट्दै गएपछि स्थानीय बासिन्दा र इलामबासी चिन्तित तथा निरास भएकोमा अहिले त्यो चिन्ता र निराशा हट्दै गएको स्थानीय कमल मुखियाले बताए । उनका अनुसार माईपोखरीको पानी सुक्ने हो कि भन्ने थियो तर अहिले त्यो सम्भावना रहेको छैन ।
पानीको सतह घटेपछि दुईवर्ष यता धार्मिक रुपमा पूजापाठ गर्ने, सरसफाई गर्नेदेखि पानी थप गराउन विभिन्न उपाय अपनाउँदै आइएको थियो । बर्षादमा पानी परेसँगै दिनहुँ पानीको सतह बढ्दै गएको भएपनि पुनः हिउँदमा सतह घट्न नदिन पानीको स्रोत पहिचान गर्ने र पोखरीबाट बाहिर जान नदिने, भौगर्भिक अध्ययन गर्ने जस्ता कामहरु भइरहेका छन् । पानी घटेसँगै त्यहाँ पुग्ने भक्तजन तथा पर्यटकको आकर्षण घट्ने डर पानी बढेपछि हटेको छ । पानीको सतह बढेसँगै त्यसलाई बचाई राख्न गर्नुपर्ने आगामी कामलाई प्रोत्साहन गर्न आइतबार इलामका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला वन अधिकृतसहितको टोली माईपोखरी पुगेर त्यहाँ पानी थप्न करिब पाँच किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने, पानी सोस्ने विरुवा हटाएर चिसोपन कायम राख्ने विरुवा वृक्षरोपण गर्ने लगायतका काममा लाग्नुपर्नेमा जोड दिइएको थियो । माईपोखरी सिमसार क्षेत्र ब्यवस्थापन समितिका पदाधिकारीसमेत रहेका प्रजिअ बासुदेव दहाल, स्थाविअ मदन कोइराला तथा जिवअ राजेन्द्र काप्mलेले हाल द इष्ट फाउण्डेसनले माईपोखरी संरक्षणका लागि गरिरहेको कामको अनुगमनसमेत गरेका थिए । फाउण्डेसनले सञ्चालन गरिरहेको आगामी सन् २०१५ को मार्चमा सकिने परियोजनाअन्तर्गत माईपोखरी क्षेत्रमा बृक्षरोपण गर्ने काम भएको छ ।
परियोजनाले माईपोखरीमा रहेको झारपात सफा गर्ने, पोखरीभित्रको सतह खोतल्ने भनिएको माछा बिस्थापित गर्ने तथा पानी बढी सोस्ने र पक्षीसमेत नबस्ने भनिएको सल्लाको रुख बिस्थापित गर्ने लगायतका काम गर्ने फाउण्डेशनले जनाएको छ । सन्दकपुर दैनिकबाट
0 comments:
Post a Comment