सिन्डिकेटको बिरोध गर्दा लखेटीलखेटी आक्रमण


तस्बिर क्याप्सन :आक्रमणबाट घाइते बलद्धीप राई। तस्बिर : खिलानाथ ढकाल

यातायात व्यवसायीको सिन्डिकेट तोड्न नयाँ गाडी कुदाउन तम्सिएका दुई जना यातायात व्यवसायीमाथि निर्घात आक्रमण भएको छ। चण्डीका यातायात व्यवसायीका नाममा वर्षौंदेखि दादागिरी मच्चाउँदै आएका व्यक्तिहरूले निर्घात कुटेका बलद्धीप राई र परीक्षण कुँवरको न्युरो अस्पताल विराटनगरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। 
आठ महिनाअघि साकिरा यातायात नामका दुई गाडी धनकुटाको हिलेबाट सञ्चालन गर्न थालेपछि चण्डीकाका व्यवसायी रिसाएका थिए। आफ्नो अनुमतिबिना नयाँ गाडी ल्याएको भन्दै असन्तुष्ट चण्डीका यातायात व्यवसायीले बिहीबार साकिराको काउन्टरमै गएर राई र कुँवरलाई पिटेका थिए। 
एमाले सम्बद्ध मजदुर संगठनका अध्यक्षसमेत रहेका सिंहबहादुर तामाङ, वाङ्दा तामा¬, फुर्वा तामाङ, किरण तामाङ, साम्प तामाङ, भूपेन तामाङ, विजय तामाङ र ध्रुब तामाङले निर्घात कुटेका थिए। रडले हिर्काइएका राईको देब्रे हात भाँचिएको छ, टाउकोमा गम्भीर चोट लागेको छ र कुँवरको टाउको र खुट्टामा चोट लागेको छ। 
टिकट काउन्टरमा काम गरिरहेका बेला रड र लाठीसहित आएको समूहले राईमाथि आक्रमण थालेको थियो। राईलाई जोगाउन भनी गएका कुँवरलाई पनि उनीहरूले कुटपिट गरेका थिए। 'नयाँ गाडी सञ्चालन गर्न थालेपछि उनीहरूले सार्वजनिक रूपमै हामीलाई धम्क्याउने गरेका थिए,' पीडित बलद्धीपले भने, 'हाम्रो अनुमतिबिना नयाँ गाडी चलाएको भनी हप्कीदप्की गर्ने गरेका थिए।' 
चण्डीका यातायात व्यवसायीको घेराबन्दीबाट भाग्न खोज्दा लखेटीलखेटी आफूलाई आक्रमण गरेको राईले बताए। 'धन्न भागेर ज्यान जोगाएँ,' उनले भने, 'हिलेमा चण्डीका यातायातका नाममा वर्षौंदेखि दादागिरी चलेको छ।' 
कुटपिटमा संलग्नविरूद्व धनकुटा प्रहरीमा ज्यान मार्ने उद्योगमा पीडितले जाहेरी दिएका छन्। सिंहबहादुर तामाङ र फुर्वा तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment