कञ्चनजंघा कपको उपाधि दमकलाई
ताप्लेजुङमा भएको यसवर्षको कञ्चनजंघा च्यालेञ्ज रनिङ कप फुटबल प्रतियोगिताको उपाधि झापाको गोर्खा स्पोर्टिङ क्लब दमकले जितेको छ । शनिबार भएको फाइनल खेलमा ट्राइबेकरमा इलामको दीपेन्द्रशिखर क्लव फिक्कललाई ४–२ गोलअन्तरले हराउँदै दमकले उपाधि कब्जा गरेको हो । निर्धारित तथा थप विषेश (इञ्जुरी) समयमा १–१ गोल बराबरी भएपछि खेल ट्राइबेकरतर्फ धकेलिएको थियो । ट्राइबेकरमा दमकका पाँच मध्ये चार जना खेलाडीले गोल गरेका थिए भने एकको गोल हुन सकेन । यस्तै इलाम फिक्कलका खेलाडीले लगातार दुई पटकको प्रहार असफल भएको । बाँकी दुई जना खेलाडीले प्रहार गरेको गोल मात्र गोलमा परिणत भएको थियो । उपाधि जितेसँगै झापाको दमकले एक लाख ११ हजार एक सय ११ रुपियाँ नगदपुरस्कासहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता इलाम फिक्कलले भने नगद ५१ हजार एक सय ११ रुपियाँ तथा मेडल र प्रमाणपत्रमा चित्त बुझाउनु प¥यो । यता महिलातर्फको उपाधि विजेता स्थानीय लेकसाइड स्पोर्टिङ क्लब तानपा ६ र उपविजेता कञ्चनजंघा फुङ्लिङ क्लब तानपा ४ ले क्रमशः २१ हजार एक सय ११ रुपियाँ तथा ११ हजार एक सय ११ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रत्येक वर्ष लाखेजात्राको अवसर पारेर लाखेजात्रा सञ्चालन समितिले आयोजना गर्ने कञ्चनजंघा रनिङ कप फुटबल प्रतियोगितामा यो वर्ष भारत सिक्किमको टिमसमेत आठ टिमको सहभागिता रहेको थियो । महिलातर्फ भने स्थानीय चार वटा टिम मात्र सहभागी भएका थिए । विजेता सबै टिमलाई प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशबकुमार विष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।
0 comments:
Post a Comment