चाडपर्वको आगमनसँगै खसीबाख्राको ब्यापार वढ्दै
नेपालीहरुको महान चाड नजिकिदै गर्दा इलाममा खसीबाख्रा खरिद गर्नेको चहलपहल शुरु भएको छ । चाडपर्वको आगमनसँगै इलाममा दशैंका लागि खसीबाख्रा किन्नेको चहलपहल शुरु भएको हो । इलाम नगरपालिका २ स्थित आर्दश कृषि बजारमा प्रत्येक हप्ताको बिहीबार पशु हाट लाग्दै आएको छ । चाडपर्व नजिकिन
थालेपछि कृषि बजारमा लाग्ने बिहीबारे हाटमा यतिबेला इलामका विभिन्न स्थान तथा पाँचथरबाट ५ हजार बढीको हारहारीमा खसीबाख्रा बिक्रीका लागि आउन थालेको छ । दशै आउन करिब डेढ महिना बाँकी हुँदा दशैमा खसीबाख्रा खरिद गर्नेको भीड नै लाग्न थालेको हो । अहिले बजारमा हप्ताको करिब १५ देखी २० लाख रुपैयाँ बराबरको खसीबाख्रा बिक्री हुने गरेको इलाम शान्तिडाँडा १ का खसी व्यापारी माधव दहालले बताए । उनले प्रत्येक हप्तामा ३० हजारसम्मको खसीबोका बिक्रीका लागि ल्याउने गरेको बताउनुभयो । इलाममा जमुनापारी, सिंजाली लगायत स्थानीय जातका खसीबाख्रा बिक्रीका लागि ल्याएको खसी व्यापारी दहालले बताए । घुर्बिसे पञ्चमीका एक व्यापारीले सबै भन्दा बढी ७० किलोको खसी ४० हजार रुपैयाँमा बिक्री गरेको बताएका छन । यहाँ लाग्ने हटियाबाट इलाम नगरपालिका, गोदक, सोयाङ, नामसालिङ, सोयाक, बरवोटे, लगायतका ठाउँबाट मानिसहरु खसीब्राखा किन्न आउने गरेको खसी व्यापारी गणेश राईले बताए ।
यस्तै पुर्वको खसी ब्यापारको मुख्य बजार मानिने झापाको शनिश्चरे बजारमा समेत यहाँबाट खसीब्राखा खरिद गरेर व्यापारीले लैजाने गरेको राइले बताए । आफैले पालेको खसीको मासु पोसिलो हुने भएकाले यतिवेला खसी किनेर मानिसहरुले घर÷घरमा लाने थालेको समेत व्यापारी राईले बताए ।
कृषि बजारमा मुख्य गरि इलामको साङरुम्बा, सोयाक, जीतपुर, देउमाइ नगरपालिकाको मंगलबारे, बरवोटे, घुर्बिसे पञ्चमी, शान्तिडाँडा, माइमझुवा, माइपोखरी लगायत पाँचथरबाट खसीबोका तथा बाख्रा बिक्रीका लागि आउने गरेको छ । इलाम नगरपालिका २ स्थित भक्तबहादुर देवान मार्गको सडक छेऊमा २०७० सालदेखी आदर्श कृषि बजारका रुपमा पशुहाट लाग्दै आएको इलाम नगरपालिकाका लेखापाल कमल मैनालीले जानकारी दिए । नगरपालिकाले ट्याक्सी स्टेण्डमा लाग्दै आएको पशुहाटलाई व्यवस्थित गर्नका लागि जिल्ला पशुसेवा कार्यालयसँग मिलेर पशुहाट लगाउदै आएको हो । नगरपालिकाले स्थानीय कमल निरौलालाई वार्षिक रुपमा ८० हजार रुपैयाँमा ठेक्का दिएर पशुहाट लगाउदै आएको मैनालीले बताए । खसीब्राखा, सुँगुर लगायत पशुचौपाय बिक्री गर्ने ब्यापारीबाट नगरले प्रत्येक पशुबाट सेवा शुल्क उठाउने गरेको छ । खसीभेडा प्रति गोटा १५ रुपैयाँ, बाख्रापाठा १० रुपैयाँ, सुँगुर १० र कुखुराबाट प्रति गोटा ५ रुपैयाँ लिदै आएको नगरपालिकाका सह–लेखापाल राम खरेलले जानकारी दिए । नगरपालिकाले खसीबोका व्यापारीबाट सेवाशुल्क बापत कर उठाउँदै आएको हो ।
यस्तै कृषि बजारमा सुँगुरको पाठापाठीको पनि राम्रो बिक्री हुने गरेको पाँचथर चिलिङदेनका ब्यापारी मनराज नेङवाङ्गले बताए । उनले प्रत्येक हप्तामा ६० हजार रुपैयाँ बढीको सुँगुरका पाठापाठी बिक्री हुने गरेको बताए । सुँगुरका पाठापाठी १८ सयदेखी ४ हजार रुपैंयाँसम्म बिक्री हुने गरेको बताए । पाँचथरमा सबैभन्दा बढी सुँगुरको पाठापाठी उत्पादन हुने भएकाले बिक्रीका लागि हरेक हप्ता इलाम ल्याएको उनको भनाई छ । यस्तै दशैंमा पुजा गर्नका लागि कुखुराको ब्यापार पनि राम्रो हुनथालेको छ । पाँचसय रुपैया किलोमा लोकल कुखुराको बिक्री हुँदै आएको इलाम नगरपालिका ९ का गणेश श्रेष्ठले बताए । पहाडमा उत्पादित खसीको मासु स्वादिलो र पोसिलो हुने गरेकाले यहाँ उत्पादित खसीब्राखा झापा, मोरङ तथा भारतको सिलगुढी, कोलकत्तासमेत जाने गरेका जिल्ला पशुसेवा कार्यालय इलामका डाक्टर पशुपति ढुङ्गानाले बताए । इलाम, पाँचथरमा उत्पादन भएको खसीब्राखा बिक्रीका लागि इलामको पशु हाटमा आउने भएपछि पशु हाट व्यवस्थित गर्नका लागि पशुसेवाले १० लाख रुपैयाँमा दुई वटा टहरो निर्माण गरेको डाक्टर ढुङ्गानाले जानकारी दिए । इलामको पशुबजारमा व्यापारीले बार्षिक रुपमा एक करोड बढीको कारोबार गर्ने गरेको खसी व्यापारीहरुले बताएका छन् ।

0 comments:
Post a Comment