पाथिभराको भेटी व्यवस्थापन गर्न निर्देशन

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथिभराको भेटी रकम व्यवस्थापन गर्न पाथिभरा क्षेत्र विकास समितिलाई निर्देशन दिएको छ । नेपाल सरकारले भेटी व्यवस्थापन तथा पाथिभरा क्षेत्रको विकासका लागि समिति गठन गरेको झण्डै दुई दशकपछि मात्र समितिलाई औपचारिक रुपमा पत्राचार गर्दै भेटी व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
वार्षिक दुई लाख बढी तीर्थयात्रीले दर्शन गर्ने प्रसिद्ध तीर्थस्थल पाथिभरा देवीमा जम्मा हुने भेटी व्यवस्थापनका लागि भेटी सङ्कलन कार्यविधि बनाई लागू गर्न भ
नी सरकारद्वारा प्रेषित पत्र प्राप्त भएको पाथिभरा क्षेत्र विकास समिति अध्यक्ष सजन पौडेलले बताए । अध्यक्ष पौडेलका अनुसार नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गत साउन १४ गतेको सचिवस्तरीय बैठकले गरेको निर्णयबमोजिम भेटी सङ्कलनको कार्यविधि बनाई स्वीकृत गरी लागू गर्न निर्देशनसहितको समितिलाई पत्र प्राप्त भएको हो ।
हरेक वर्ष एक करोड रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन हुने यस तीर्थस्थलको भेटी अहिलेसम्म स्थानीयस्तरमा गठित पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले सङ्कलन गर्दै आएको थियो । स्थानीयस्तरको उक्त समितिले भेटी रकम सङ्कलन गरेर बिगत देखि नै सही सदुपयोग नगर्ने गरेको केहीले आरोप समेत लगाउँदै आएका थिए । यस्तै संवद्र्धन समितिले भेटीबापत सङ्कलन भएको रकम मासिक रुपमा सार्वजनिक गर्ने जनाएपनि सो अनुरुप सार्वजनिक नगरिँदा रकमको पारदर्शिता माथि नै स्थानीयले आशङ्का गर्दै आएका थिए ।
यता सरकार मातहतको समितिलाई भने भेटी सङ्कलन र व्यवस्थापन गर्नका लागि सरकारको स्पष्ट कार्यादेश नभएकाले हालसम्म यसतर्फ चासो देखाएको थिएन । अब मात्र सरकारबाट सङ्कलन कार्यविधि बनाई लागू गर्न भनी स्पष्ट आदेश आएकाले केहि दिनभित्रै सरोकारवालासँग बृहत छलफल गरी कार्यान्वयन गर्न शुरु गर्ने अध्यक्ष पौडेलको भनाइ छ । पौडेलका अनुसार विगतमा समिति पदाधिकारीहरुले सरकारीस्तरबाटै भेटीघाटीको व्यवस्थापन गरिनुपर्ने पहल गरेपनि सम्भव भएको थिएन । यसपटक भने समिति र सरोकारवालासहितको आग्रहअनुसार भेटी व्यवस्थापनका लागि सरकारले चासो देखाएको उनको भनाइ छ ।
यतिबेला कतिपयले सरकार मातहतको समितिमार्फत भेटी सङ्कलन गर्दा राजश्वको रुपमा जम्मा भई राज्यस्तरकै निर्णयअनुसार यहाँको भेटी रकम अन्यत्र खर्च हुनेभयो भनिरहँदा त्यसो नभई पाथीभरा क्षेत्रकै विकासमा खर्च गर्नेगरी कार्यविधि बनाउने तयारी भएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले जानकारी दिए । भेटी रकम सङ्कलन गरी यस क्षेत्रकै विकासमा खर्च गर्नेगरी बनाइने कार्यविधिलाई सरकारले स्वीकृत गरिदिने विश्वास रहेको भट्टराईले बताए । 
हालसम्म सरकारले समितिमार्फत वर्षमा करिव २५ लाख रुपियाँ जति रकम यस क्षेत्रको विकासका लागि भने विनियोजन गर्ने गरेको र सो रकमबाट केही साना कामहरु मात्र गर्नलाई सम्भव हुने गरेको समितिले जनाएको छ । अब समितिले बनाएको कार्यविधि स्वीकृत भएपछि भने भेटी रकमसमेत खर्च हुने हुँदा  पाथीभरा क्षेत्रको विकासको कार्यले गति लिने विश्वास समितिले लिएको समिति अध्यक्ष पौडेलको भनाइ छ ।  हाल बिगतदेखि नै वार्षिक करोडौँ रुपियाँ भेटीबापत रकम सङ्कलन हुँदै आएको भएपनि सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिर जाने मोटरबाटोको स्तरोन्नति हुन सकेको छैन भने यस क्षेत्रका बजार तथा होटलहरु व्यवस्थित रुपमा सञ्चालित छैनन् । यसले गर्दा पाथीभरा देवीको दर्शन गर्न आउने नेपाल लगायत विदेशी दर्शनार्थीहरुले समेत वर्षेनी सास्ती खेप्दै आउनुपरेको छ । सरकारीस्तरको समिति २०५३ सालबाट स्थापना भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment