इलाम र पाँचथरका सरकारी चिज कारखाना पनि बन्द

भुकम्पका कारण चीजको बजार संकटमा परेपछि र लगातारको तराई बन्दले चिजको निकासी नहुँदा इलाममा दुग्ध विकास संस्थान अन्तर्गत सञ्चालित चिज कारखानाहरु बन्द छन् । देशकै ठूलो चिज उत्पादन केन्द्रको रुपमा परिचित पशुपतिनगर चिज उत्पादन केन्द्र र यस अन्तर्गतका इलामका चार र पाँचथरका दुइ चिज उत्पादन केन्द्रमा चिज उत्पादन बन्द गर्नुपरेको दुग्ध विकास संस्थानका महाप्रबन्धक गंगा तिमल्सिनाले बताए । ६ वटा कारखानाले दैनिक ६ सय ५० किलो चिज उत्पादन गर्दै आएका थिए ।  चिज उत्पादन बन्द भएपछि दुग्ध उत्पादक  किसानले दैनिक लाखौँ घाटा व्यहोर्न बाध्य भएका छन् ।  सबै कारखानामा गरेर करिव ४० हजार केजी चिज भण्डारण भएको र बजार डामाडोल भएपछि उत्पादन बन्द गर्नु पर्ने अवस्था आएको पशुपतिनगर चिज उत्पादन केन्द्रका प्रमुख सोमराज चापागाइले जानकारी दिए । बैशाख १२ गतेको भुकम्पका कारण चिजको बजार खस्किएको र हाल आएर चिज बजारमा लान समेत समस्या भएपछि चिज उत्पादन घटेको हो ।  चिज उत्पादन बन्द भएपछि चिज कारखानामा दुध बेचेर गुजारा गर्ने किसान मारमा परेका छन् । चिज उत्पादनका लागि संस्थानले विभिन्न कारखानामा करिव सात हजार लिटर दुध खरिद गर्ने गरेको थियो । चिज उत्पादन नभएपनि दुध भने हप्ताको चार दिन विराटनगर पठाउने गरिएको केन्द्रले जनाएको छ । संस्थानले इलाममा विहिबार, शुक्रबार र शनिबार गरि हप्ताको तीन दिन दुध लिन बन्द गरेको छ । हप्तामा तीन दीन मिल्क होलिडे भएपछि किसानले गाइपालन व्यवसाय धरापमा परेको बताएका छन् ।
इलाममा र पाँचथरमा ६ सरकारी र नीजि २३ वटा चिज कारखाना संचालित छन् । ती कारखानाले चिज बाहेक मख्खन समेत उत्पादन गर्ने गरेका छन् । नीजि चिज उत्पादकहरुको छाता संगठन हिमालयन चीज उत्पादक संघका तुलु तामाङले नीजि चिज कारखानाले पनि बजारमा बन्दका कारण चीज पठाउन नपाएको बताए । मंगलबार मात्र राजधानी पठाइएको चिज बीच बाटोबाटै फर्काउनु परेको उनले बताए । नीजि कारखानाले आफ्नो कारखानामा उत्पादित चिज भण्डार अभावमा विर्तामोडका नीजि कोल्ड स्टोरमा मासीक प्रति किलो पाँच रुपैया तिरेर भण्डारण गरेका छन् । उनको लक्की डेरीको मात्र झापामा तीन हजार पाँच सय किलो चीज स्टक रहेको जानकारी दिए । सरकारले यहाँ उत्पादित चिजलाई तिव्वत वा भारतमा निकासीका लागि भरपर्दो व्यवस्था गरिदिए चिजको बजार सहज हुने उनको भनाई छ । इलाममा उत्पादित चिज राजधानी र पोखराको बजारमा खपत हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment