कोठाभित्र निसास्सिएर तीनजना मरे
पूर्वी इलामको श्रीअन्तु ६ स्थित ठूलो श्रीबुङ्गमा शुक्रबार राती एक घरको कोठाभित्र सुतेका तीन जनाको निसास्सिएर मृत्यु भएको छ । सोही घरकी एक सदस्यको दुई साताअघि मृत्यु भएको र मृत्यु संस्कारअन्तर्गतको सुद्याइँ (घेवा) गर्ने क्रममा आएका छिमेकीसहित घरमुलीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घरमुली ५२ वर्षीय लमन तामाङ, उनका छिमेकी १४ वर्षीय निकेश मगर र पाहुनाको रुपमा घेवामा आएका पशुपतिनगर २ कट्टेबुङका ६५ वर्षीय फुर्वा लामा रहेको प्रहरीले जनाएको छ । लमनकी श्रीमती ज्योतिमाया तामाङको दुई हप्ताअघि मृत्यु भएकोले त्यसैको घेवा गर्ने काम भइरहेको थियो । आइतबार (आज) घेवाको अन्तिम दिन मूल कर्म सम्पन्न गर्न केही दिन अघिदेखि नै लामा पढाउनेसहितको काम गरिँदै आएको थियो । राती पनि लामा पढाउनेसहितको कामकाजका लागि बिजुली नहुँदा बत्ती बाल्न जेनेरेटर प्रयोग गरिँदै आएकोमा शुक्रबार बेलुका वर्षाद् भएकाले बाहिर कतै राख्ने ठाउँ नभएपछि कोठाभित्र जेनेरेटर स्टार्ट गरेर राखिएको थियो ।
त्यही कोठामा सबै दैलो र भ्mयाल लगाएर तीनजना सुतेको निकेशका बुबा टेकबहादुर मगरले बताए । ‘बत्ती बाल्ने भनेर जेनेरेटर स्टार्ट गरेर सुतेछन्’, उनले भने, ‘कोठाभित्र हावा छिर्ने ठाउँ भएनछ क्यारे, निदाएपछि निसास्सिएको थाहै नपाएर होला राती नै सकिएछन् ।’
लमनका कान्छा छोरा प्रितमका अनुसार बिहान उज्यालो भएर धेरै बेरसम्म नउठेपछि र बोलाउँदा पनि कोही नबोलेपछि ढोका फोरेर भित्र हेर्दा सबैजना अचेत अवस्थामा रहेको भेटिएको थियो । प्रितमले अगाडि भने, ‘त्यसपछि हतारहतार फिक्कल अस्पताल ल्याइयो मरिसकेका रहेछन्, डाक्टरले मृत घोषित गरिदिए ।’
फिक्कलको प्रसिद्ध हस्पिटलका डा. आश्विनीकुमार रञ्जनका अनुसार जेनेरेटरले कार्वनडाई अक्साईड लिक गरेको हुनसक्ने र त्यसले कोठामा अक्सिजन अभाव भई बाहिरबाट अक्सिजन भित्रिने ठाउँ पनि नहुँदा श्वास फेर्न गाह«ो भएर मृत्यु हुने सम्भावना बढी रहन्छ । त्यहाँ त्यस्तै भएको हुनसक्ने डा. रञ्जनले बताए । निकेशका बुबा टेकबहादुरका अनुसार लमनको घर कच्ची नै भएपनि उक्त कोठामा काठको सिलिङ भएकाले भ्mयाल र ढोका लगाएपछि हावा वा ग्याँस भित्रबाहिर हुने अवस्था छैन । शवलाई फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रको लाशघरमा राखेर शनिबार नै पोष्ट मार्टम गरि आफन्तले सद्गदका लागि लगेको प्रहरीले जनाएको छ । आजदेखि उनीहरुको पनि घेवा शुरु गरिने आफन्तजनले बताए । मृतक लमनका दुई छोरा र दुई छोरी रहेका छन् भने निकेशका बाबुआमा र दुईजना बहिनी रहेका छन् ।

0 comments:
Post a Comment