आफ्नो होइन, देशको लागि सोचोँ

नेपालमा अहिलेको परिस्थिति सिर्जना हुनुमा हामी सबै नेपाली दोषी छौँ । नेपालमा २००७ सालदेखिको इतिहास हेर्ने हो भने कहिले पनि नेपाल स्थिर रहेन, अथवा रहन सकेन । भनौँ राजनीति गर्नेहरुले राख्न चाहेनन् । नेपाली जनताले धेरै देखे, धेरै सुने, अनि भविष्य जहिले पनि अन्यौल नै देखे । यसमा कसको दोष ? वास्तवमा भन्ने हो भने दोष तपाई हाम्रो नै हो । नेपालमा धेरै कुरा भए राजनैतिक उथल पुथल भयो तर एउटा याद राखौँ अनुहार फेरिएन । इतिहासलाई साक्षी राखेर हेरौँ सधैँ एउटै अनुहार अगाडि आउँछ । नेपालमा सात सालमा क्रन्ति भयो प्रजातन्त्र आयो जनताले अधिकार पाए भनेर खुसी भए जनता तर कहाँ अधिकार पाए जनताले त्यो देखिएन । 
यस्ता उथलपुथल क्रमशः २०१५ साल, ०३६ साल, ०४७ साल हुँदै २०६२/०६३ सालको जनआन्दोलन भयो । परिवर्तन आयो । तर, यो परिवर्तन कागजी आयो । व्यावहारमा लागू भएन । लागू पनि कसरी होस् । पुरानै अनुहार, पुरानै सोच भएकाले देश चलाएका छन् । नेपालको विकास क्रम हेर्ने हो भने जब देशमा पञ्चायती व्यवस्था लागू भयो, त्यो समयमा विकास भएन । तर, देशमा प्रजातन्त्रको पुनर्वहालीको लागि आन्दोलन भयो, त्यस पछि राजातन्त्र पनि सजक भयो । र विकास निमार्णको कार्यमा लाग्यो । २०३६ सालको बहुदल कि पञ्चायती व्यवस्था भनेर सम्पन्न चुनवमा जनताले पञ्चायती व्यवस्था रोजे या त जालझेल गरेर पञ्चायती व्यवस्थालाई जिताइयो । त्यो त त्यस समयकालाई नै थाहा होला । तर त्यसपछि भने नेपालको विकास भएको छ । नेपालले एउटा मुहार फेरेको छ । देशमा गाउँ गाउँसम्म पुग्नको लागि बाटोहरुको निमार्णको थालनी भएको छ । विद्यालयहरुको स्थापना भएको छ । अहिले हामी यहाँसम्म आईपुग्दा विभिन्न गाउँगाउँमा स्थापना भएका विद्यालयहरु बन्द गर्ने अवस्थामा छन् । के यो विकास हो ? यो त विकासलाई झन् पछि धकेल्ने काम हो ।
देशमा प्रजातन्त्रको पुनर्वहाली भयो । देश विकासमा लाग्नु पर्नेमा फेरि नेताहरु सत्ताको खेलमा लागे । देश फेरि विकासबाट पछि धकेलियो । नेपालको अर्थतन्त्र झन् झन् खस्किन थाल्यो । देशमा जतिपनि योजनाहरु बने । २०५२ साल पहिला नै बने । अहिले त त्यही योजनाको अनुसरण गरिएको छ । खै नयाँ सोच ? नेपालमा तीन दशक अगाडिसम्म सानो क्षेत्रमा मात्र भएपनि सञ्चालन भएको रेल मार्ग कहाँ  छ अहिले ? खै नेपालको विकास ? जनतामा सपना बाँडेर हिँड्ने राजनीतिक दलको बोली अझै पत्याउने ? माओवादीले २०६४ सालको संविधान सभाको चुनावमा नेपाललाई १० वर्षमा मुहार फेरेर युरोप, अमेरिका, स्विट्जरल्याण्ड बनाई दिन्छु भन्थ्यो । खै एउटा संविधान दिन पनि आठ वर्ष लगाइदियो । त्यसको लागू हुन अरु दश वर्ष लाग्ला जस्तो छ । नेपाली काङ्ग्रेस र एमाले त झन् पुराना दलहरु हुन् उनीहरुले त जनतालई पहिला नै पुग्दो धोका दिएका छन् । यिनीहरुबाट कुनै आश गर्न नसक्ने भएर जनताले नेपालको पहिलो ठूलो दलको रुपमा एकीकृत नेकपा (माओवादी)लाई संविधान सभाको पहिलो चुनावबाट स्थापना गरे । तर त्यसबाट देशले संविधान पनि पाएन । विकास पनि पाएन । बरु भन्दा नेताहरुले भने अकुत सम्पत्ति कुम्ल्याउन भ्याए । 
नेपालमा सबै राजनीतिक दलहरु अहिलेसम्म सत्ताको खेलमा लागे । सबै आफ्नो गोजी भर्नमा लगे । यसले देश विकासमा होइन, विनासमा धकेलियो । अहिलेसम्म सत्ताको खेलमा नलागेको कुनै पनि दल छैन । म राजाबादी हुँ, राजतन्त्रको पक्षमा छु भन्ने कमल थापा त अहिले सत्ताको खेलमा लगे । यहाँ जो कोही पनि कुर्सी भनेपछि बिक्न तयार छन् ।
नेपालमा अहिलेसम्म कुनै पनि दलवाट कुनै आश गर्न सकिँदैन । किन की नेपालमा भएका सबै नेपाली स्वार्थी छन् । तपाइँ, हामी, म सबै स्वार्थी भईसकेका छौँ । हामी देशको लागि सोच्दैनौँ । हामी सधैँ आफ्नो लागि सोच्ने गर्छौँ । यस्तोमा देशको विकास होला भनेर सोच्नु पनि गलत हो । जबसम्म तपाइँ हामीमा सोच बदल्ने क्षमताको विकास हुँदैन, तबसम्म देशको विकास सम्भावना छैन । पहिले त हामीले नेपालले हामीलाई के दियो भनेर सोच्न छाडौँ । नेपाललाई हामीले के दिएका छौँ भनेर सोच्न थालौँ । देशले हामीलाई सबै थोक दिएको छ । तर, अहिलेसम्म हामीले देशलाई केहि पनि दिएका छैनौँ । हामीले पहिला आफ्नो बानीमा सुधार ल्याउनु पर्छ । यसमा सर्बसाधारण गरिब जनतादेखि देशमा शासन चलाउने नेतासम्म पर्छन् । गल्ती आफुले गर्ने, अनि दोष अरुलाई दिने । यो हाम्रो प्रविधिलाई पहिला बदल्नु पर्छ । समस्याको समाधान हामी बाहिर खोज्न छाडौँ । हामी भित्र खोजौँ । देशको विकास आफैँ हुन्छ । 
नेपालमा अहिले केहि कुराको पनि सहज आपुर्ति भएको छैन । यसमा दोष कसको त ? हामीले मुख्य दोषी भारतलाई देखेका छौँ । किनकी हाम्रोमा भारतले गर्दै आएको अपुर्ति बन्द गरेको छ । तर यसको विकल्प हामी किन खोज्दैनौँ ? नेपालमा यो समय इन्धनको अभाव छ । इन्धन त भारतले अपुर्ति गर्दै आएको थियो, अभाव भयो । तर नेपालमा उत्पादन हुने खानेतेलको अभाव छ । नेपलमा अहिले जसले धेरै खरिद गर्न सक्छ, उसको घरमा छापा मार्ने हो भने उसको घरमा नहुँदा पनि १० देखि १५ लिटर खानेतेलको स्टक छ । यो अवस्थामा बजारमा खानेतेलको अभाव हुनु सामान्य कुरा हो उसले अरु १५ परिवारले उपभोग गर्न पुग्ने खानेतेलको स्टक राखेको छ । त्यसैले गर्दा पनि बजारमा सामानको अभाव हुन्छ । कुनैपनि सामानको बजारमा अभाव हुन लागेको छ भने त्यसलाई नै खोजी खोजी स्टक गर्ने बानीले हामी पछि परेका हौँ । 
यसको बलियो उदहारण एक समय इलाममा नुनको अभाव हुन्छ भनेर हल्ला चल्यो । त्यो समय भाग्यबस म पनि इलाममा नुन किन्न नै गएको थिएँ । मैले एक केजी नुन किनेँ । त्यसले मलाई त्यो समयमा दुई महिना पुग्थ्यो । मैले त एक केजी किनेँ, मलाई पुग्यो । तर त्यो पसलमा बसेर मेले धेरै समयसम्म हेरेँ । जसको घर परिवारमा तीन चार जना सदस्य छन्, उस्ले पनि चार पाँच केजी नुन किनेको देखेँ । मैले जिज्ञासा राखेँ तपाइँलाई एक केजी नुनले कति समय पुग्छ ? उत्तर आयो एक महिना । अब हिसाब गरे पाँच केजीले पाँच महिना । यो त सामान्य नै थियो । त्यहाँ त १५÷२० केजी किन्ने पनि थिए । यसले त समस्या अर्को नुन किन्न आउन नपाएकोलाई पर्ने भयो नि । पसलमा चाँडै नुन सकियो । घरमा नुन नहुनेले किन्न पाएन । कोहीको घरमा एक बर्ष सम्म पुग्ने नुन कोहीकोमा एक छाकलाई नुन छैन । यसको अर्थ के हो भने हामी मितव्ययी हुन सिकौँ । अभाव भएको बेला झन् अभाव नबनाऔँ । हामीले जापानबाट एउटा पाठ सिक्न जरुरी छ । त्यो के हो भने, अभावमा अभाव नबनाउँने जापानीहरु बजारमा कुनै कुराको अभाव भयो भने त्यसको कम भन्दा कम प्रयोग गर्दछन् । सकिन्छ भने प्रयोग नै गर्दैनन् । यसो हुँदा सामानको अभाव हुँदैन । व्यापारीहरुले पनि लुकाउन पाउँदैन । जापान यस्ता कयौँ कुराले हामीभन्दा अगाडि छ र त्यस्तो प्रगति गर्न पनि सकेको छ । 
हामी पनि सकेसम्म हाम्रो बानी सुधारौँ । अभावमा मितव्ययिता अपनाऔँ । अहिले ग्याँसको अभाव छ । ग्याँसको विकल्पमा राईसकुकर चलाउनुहोस् । अथवा सम्भव छ भने दाउराको प्रयोग गरौँ । तपाई हामीले उपभोग गर्ने ७० प्रतिसत ग्याँसको मागमा कमि आउँछ । जुन अहिले नेपालमा उपलब्ध छ । यसरी मितव्ययी तरिकाले हाम्रो बानीमा सुधार गरौँ । समस्याको समाधान आफैँ हुन्छ ।
हामीले अब हाम्रा देशका नेताबाट कुनै आश गर्न छाडौँ । किन कि नेता कहिले पनि सुध्रिनेवाला छैनन् । शुरु आफैँबाट गरौँ । म र मेरो भन्ने स्वर्थी भावना त्यागेर हामी र हाम्रो भावनाको विकास गरौँ । हामीले आफ्नो सोच नबदले देशको विकास सम्भव छैन । किन की देश विकास गर्छु भनेर चुनाव जितेर सरकारमा जाने त्यो नेता पनि तपाई हामीहरु मध्येबाटै जाने हो र उसको सोच पनि परिर्वन भएको हुनु पर्नेछ । त्यसैले तपाई हामी सबै आफ्नो सोच बदलौँ । देश विकासमा लागौँ । देशले मलाई के दियो होइन, देशलाई मैले के दिएको छु भनेर सोचौँ ।
binayatimsina@gmail.com

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments: