बाउले भने – ‘ओके छ त बोके ?’

विक्रम सम्वत् २०३३ सालमा तेह्थुमको सोल्मा गाविसमा बाबा लक्ष्मीप्रसाद र माता अम्बिका लुईंटेलको कोखबाट जन्मिएका श्रीकृष्ण लुईंटेल हास्य कलाकार तथा गायकका रुपमा परिचित छन् । उनले थुप्रै चर्चित गीतहरु गाएर दर्शक र श्रोता सामु पस्की सकेका छन् । उनलाई धेरै दर्शक तथा श्रोताहरुले बोके दाह्ी पनि भनेर चिन्छन् । उनै लुईंटेलसँग इलाम आएका बखत चियाबारी अर्ध साप्ताहिकका सहकर्मी टीका खतिवडाले गरेको कुराकानीको अंश । 

चियाबारीः गृह जिल्लामा नै बस्नु हन्छ नि, किन काठमाडौं छोड्नु भएको ?
श्रीकृष्णः काठमाडौं नेताका लागि हो, कलाकारको त देश हो जहाँ पनि भिज्न सक्छन् । फेरी अर्को कुरा मैले काठमाडौं छाडेको पनि हैन मलाई काठमाडौंले छोडाएको हो । हरेक कुराको चापाचाप हुने काठमाडौं जालझेल, षड्यन्त्र, विकृति र समस्याहरुको खानी हो त्यहाँ बस्न भन्दा पुर्वमा नै कता हो कता राम्रो । 
चियाबारीः के मा व्यस्त हुनुहुन्छ आजकल ?
श्रीकृष्णः म जहाँ बसेनी वर्षको एउटा एल्वम निकाली रहेको छु, त्यसैमा पनि र कार्यक्रमहरुबाट निम्तो आउँछ, उतै गयो । 
चियाबारीः कलाकार र नेतालाई कसरी परिभाषित गर्नु हुन्छ ?
श्रीकृष्णः कलाकार देशका खम्वा हुन्, गहना हैनन्, गहना त धनीले किनेर लगाउने चिज हो । नेता र मन्त्रीले बिग्रिएको देशमा तिनै नेता र मन्त्रीको शिकार हुनु परेको छ कलाकारहरु । उनीहरुको भाषण सुन्न जनता भेला नहुँदा पनि कलाकार गएर मानिसको भिड जम्मा गरिदिनु पर्ने तर तिनै कलाकारलाई समस्यामा पर्दा वास्तै नगर्ने कस्तो परम्परा हो ? तर बिडम्वना उनीहरु नै गाउँ पस्दा स्वागत स्वरुप माला ठिक पारिएको हुन्छ । कलाकार र नेतामा निकै फरक छ भ्रष्टचार गरेर देखाउने नेता, कला देखाएर दर्शकलाई मनोरञ्जन कलाकार । 
चियाबारीः तपाईंको त नाम भन्दा नि उपनाम चर्चामा छ नि ?
श्रीकृष्णः मलाई यसैमा सन्तुष्टि छ । त्यो मेरो लागि माया हो भन्ने मैले बुझेको छु । कसैले बोके त कसैले बोके दाह्ी भन्नु हुन्छ तर पनि मेरो नामबाट चिन्ने पनि धेरै हुनुहुन्छ है । 
चियाबारीः गायन क्षेत्रमा कसरी लाग्नु भयो ?
श्रीकृष्णः विद्यालय स्तरमा हुने कार्यक्रममा रेला–रेलामै गाउन सुरु गरे, सरहरुले श्रीकृष्णले गाउँछ भन्दै गाउन लगाउनु भयो पनि । रेला–रेलामा गाउन थालेको रेलामै गायक भइएछ । पछि मात्र सिरियस भइयो नि । अब यतै लाग्नु पर्छ भनेर ।
चियाबारीः अनि हास्य विधा नै चाहि“ नि ?
श्रीकृष्णः गीत त धेरैले गाउँछन् तर हास्य व्यङ्गको माध्यमबाट गीतले नै धेरैलाई हाँसेर हँसाउँदै कुट्न पाइन्छ । समाजका विकृति र विसङ्गतीलाई गीतबाट नै व्यक्त गर्न पाइन्छ । दर्शकलाई समेत पेट मिचिमिचि हसाउँदै जसलाई जे भन्न खोजिएको हो उसलाई मज्जाले भन्न पाइने भएर पनि यतै लागेको हुँ । 
चियाबारीः कति कमाउनु भयो गीत बेचेर ? 
श्रीकृष्णः सुरुमा तीनवटा सम्म एल्वम बजारमा ल्याइसक्दा करिब दुई कठ्ठा जमिन नै बेच्नु परेको थियो । त्यो जमिन बेच्दा घरपरिवारमा समेत तालमेल नरामै्र गरी बिग्रिएको थियो । जब चौथो एल्वम बजारमा ल्याए अनि मात्र आर्थिक र घरपरिवारसँगको सम्बन्ध सुमधुर भयो । तर यति नै चाहिँ नभनौ होला । 
चियाबारीः कुन कुन एल्वमले बिगा¥यो नाम भन्न मिल्छ ?
श्रीकृष्णः पहिलो एल्बम ‘इटहरी डककम’ दोस्रो ‘मलाई के भा को’ र तेस्रो ‘मर्छु कि क्या हो’ ती तीनवटा एल्बम निकाल्दा जीवनमा ठुलै भूकम्प गयो नि ! बैशाख १२ को भन्दा बढि नै धक्का महसुस गरियो नि । तीनवटा सम्म एल्वमले त झण्डै मागी खाने नै बनायो । जब चौथो एल्वमका रुपमा ‘बोके दाह्ी’ बजारमा ल्याएँ सबै ठिक भएर गयो । 
चियाबारीः के के भयो त्यस्तो चमत्कार नै ? 
श्रीकृष्णः के दिएन चाहि ठिक होला । बोके दाह्ीले त मलाई उपनाम दियो, पहिला फसाएको रकम उकास्यो । पारिवारिक सम्बन्ध सुमधुर गरायो र दर्शकलाई पनि श्रीकृष्ण लुईंटेलबाट बोके दाह्ीमा परिणत गरायो । बिहे गर्न पनि यसै एल्वमले सहयोग ग¥यो ।
चियाबारीः कसरी ?
श्रीकृष्णः म भारतमा गीत गाउन गएको थिए । स्टेजबाट नै मैले बिहे गरेको छैन भनिदिएको थिए । त्यहीका मेरा शुभचिन्तकले त्यहाँ सम्म पु¥याइदिनु भयो । कुरा सुरु भएपछि बुबालाई पठाए बुबा आएर ‘ओके छ त बोके’ भन्नु भयो, अनि बिहे गरियो । 
चियाबारीः बिहेमा दाह्ी काट्नुभयो ? 
श्रीकृष्णः  सारै डर लागेको थियो दाह्ी काट्नु पर्छ भनेर  । ससुरा बुबाले सारै ठुलो गुन लगाउनु भयो । बिहेमा दाह्ी काट्ने हैन बाट्ने ज्वाई भन्नुभयो धेरै खुसी भएको थिए । 
चियाबारीः अब अर्को एल्वम नि ?
श्रीकष्णः आगामी ७३ सालको सुरुमा अर्थात बैशाखमा नयाँ एल्वमका रुपमा ‘बब्लु’ निकाल्न खोजिरहेको छु । त्यस एल्वममा पनि समाजका विकृति, विसङ्गती र देशको अवस्थालाई हास्यास्पद रुपमा व्याख्या गरेको छु । 
चियाबारीः कस्ता कस्ता गीत समावेस गराइएको छ बब्लुमा ?
श्रीकृष्णः म हास्य गायक नै हुँ त्यहाँ पनि हँसाउने प्रयास गरेको छु । अनि समाजमा जातपात र छुवाछुत गर्नेलाई भन्दा बा–आमालाई नराम्रो गर्ने फोहोरीलाई समाजको तल्लो दर्जाको भन्छु । कुनै पनि बाबु आमालाई छोराले नपालेको भनेर मुद्दा हालेको थाहा छै्रन तर बाबु आमाले अंश नदिएको भन्दै प्रशस्तै छोराछोरीले बाबुआमा विरुद्ध मुद्दा हालेका उदाहारण छन्, वास्तममा उनीहरु चाहि फटाहा नै हुन् । यिनै विषय माथी अबको एल्बम हुनेछ ।
चियाबारीः के छन् त अबका योजना ?
श्रीकृष्णः आफ्नै दुःख र परिश्रमले यहाँ सम्म ल्यायो । अबका दिनमा पनि परिश्रम गर्न छाड्दिन तर अर्काको भर पनि पर्दिन । म अब पक्कै पनि नयाँ काम गर्न खोजिरहेको छु । कि नयाँ संस्था दर्ता गर्न लागिरहेको छु । 
चियाबारीः कस्तो संस्था, के काम गर्ने ?
श्रीकृष्णः म अब झापामा ‘मानव सेतु’ नामक संस्था खोल्न लागि रहेको छु । ‘अस्त्र भन्दा वस्त्र प्यारो’ भन्ने नाराका साथ । जहाँ एक सरो कपडा लगाउन नपाएकाहरुलाई कपडा वितरण गर्ने लक्षमा पनि छु । विर्तामोडमा नै सटर भाडामा लिएर कसैका लगाउन मिल्ने पुराना कपडा लिदै गरिब वस्ती सम्म आफैँ पुग्ने मेरो सोच हो । 
चियाबारीः कसरी व्यवस्थापन गर्नुहुन्छ ?
श्रीकृष्णः महिनामा एक÷दुई वटा कार्यक्रममा गएको पैसाले दुई जनालाई रोजगारी दिएर भए पनि त्यो काम गरेरै छाड्छु । धर्म पनि हैन, नराम्रो त कसैलाई गरिएन यदि नजानी गरिएको रहेछ भने पनि अब पाप काट्नु पर्छ होला । तर गरिबको मनमा बस्ने प्रयास गर्नेछु । 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment