लागुऔषधको अखडा बन्दै इलाम

घर घरमा पु¥याइदैछ ब्राउन सुगर, अभिभावक बेखबर
चियाबारी डेक्स
इलाम, 28 पुषः पछिल्लो समय इलाम सदरमुकाम लागु औषधको अखडा बन्दै गईरहेको छ । लागु औषधका प्रयोगकर्ताहरुको सङ्ख्या दिनहँुजसो त बढेकै हो, कारोबारीहरुले समेत इलाम सदरमुकामलाई सुरक्षित ट्राञ्जिटको रुपमा प्रयोग गर्न थालेका छन् । मोटरसाईकल मार्फत इलाम भित्रिने ब्राउन सुगर अहिले जिल्ला प्रहरी कार्यालय इलामको लागुऔषध विरुद्धको अपरेसन पछि दैनिक रुपमा सार्वजनिक यातायात मार्फत भित्रिने गरेको छ । प्रतिबन्धित ब्राउन सुगर मेची राजमार्गकै बाटो प्रयोग गरेर इलाम भित्र्याइने गरिएको हो । सहज परिस्थितिमा लागुऔषध प्रयोकर्ताहरु आफैले बोकेर इलाम भित्र्याउने र असहज परिस्थितिमा कारोबारी आफै इलाम आई घर घरमा ब्राउन सुगरको पोकाहरु सुरक्षित डेलिबेरी गरिदिने रहस्य खुलेको छ । उता अभिभावकहरु सो को विषयमा बेखबर छन् । इलामका प्रयोगकर्ताहरुलाई लक्षित गरि तस्करहरुले झापाका विभिन्न होटलहरुका सुरक्षित रुपमा प्याकिङ गर्ने गरेका छन् । दुई महिना पहिलेमात्र विर्तामोड ६ स्थित बिष्णु होटलबाट रङ्गेहात ८ जना ब्राउन सुगर कारोबारी र प्रयोगकर्तालाई झापा प्रहरीले पक्राउ गरि मुद्दा चलाएको थियो जसमा इलाम स्थायी ठेगाना भएका ३ जना पक्राउ परेका थिए । कारोबारीहरुले विशेष गरि धनधाड्य परिवारका युवा, भर्खरै धुमपान र मद्यपान सेवन गर्ने सिकारु युवाहरुलाई आफ्नो जालमा पार्ने गरेका छन् । शुरु शुरुमा निशुल्क रुपमा सेवन गर्न दिने र पछि बानी पारिसकेपछि उनीहरुसँगै ब्राउन सुगरको कारोबार गर्ने गरेका छन् । इलाम सदरमुकामका अलावा सदरमुकाममा उच्च शिक्षाका लागि आएका युवाहरु तथा मोटरसाईकल प्रयोग गर्ने युवाहरुलाई फसाउने जालो तस्करहरुले बुन्ने गरेका छन् । ब्राउन सुगरका पुर्व प्रयोगकर्ता रेभन राईका अनुसार प्रयोगकर्ताहरुले नोट(पैसा)मा ब्राउन सुगर को पातलो लेयर दलेर सुरक्षित रुपमा ओसारपसार गर्ने गरेका छन् भने कसैले इलाम विर्तामोड रुटका यात्रुहरुलाई बोकाउने गरेका छन् । प्रहरीले पत्ता लगाएको तथ्य अनुसार इलामका प्रयोगकर्ता र कारोबारीहरु विभिन्न बहानामा साप्ताहिक रुपमा झापा झर्ने गरेको र उनीहरुमाथि कडा निगरानी भईरहेको प्रहरीले जनाएको छ ।
यता सदमुकामका ब्राउन सुगरका प्रयोगकर्ताहरुले लागु औषध खरिद गर्नका लागि विभिन्न बहानामा सदरमुकामबाट चन्दा उठाउने गरेको जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी परेको छ । अर्का प्रकृतिका प्रयोगकर्ताहरुले चिनजानको आधारमा सापटीको नाममा पैसा माग्ने र नतिर्ने प्रवृत्ति सदरमुकाममा बढेको एक व्यापारीले बताए । उनले भने, “एकछिनको लागि भनेर मसँग सापटी पैसा मागेर लगेकै व्यक्तिले मेरो श्रीमतिसँग पनि उसै गरि पैसा फुत्काएछ । सदरमुकामका धेरैजसो व्यापारीबाट त्यो व्यक्तिले पैसा यहि स्टाइलमा लगेको छ ।” सदरमुकामका प्रयोगकर्ताहरुले आफ्नै घरको सामानहरु चोरी गरि सस्तो मुल्यमा बिक्री गर्दै आएकोमा हाल साथीभाई र छरछिमेकको समेत मोबाइल चोरी गर्ने तथ्य हालै सार्वजनिक भएको छ । इलामको ठूलो टुडिखेलबाट पछिल्लो समयमा शृङ्खलाबद्ध मोबाइल चोरी भएको थियो । गत बर्ष मात्र लागु औषध अन्तरगत इलाममा मात्र १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो भने प्रमाणित भई २ जना कैद भुत्तान गरिरहेका छन् भने एक जना पुर्पक्षका लागि थुनामा छन् । यस बर्ष इलाम सदरमुकामका २ जना ब्राउन सुगर सहित पक्राउ परेकोमा लागु औषध अन्तरगत उनीहरु विरुद्ध मुद्दा चलाईएको प्रहरी निरिक्षक रुद्रप्रसाद चुडालले बताए । लागु औषधको परिमाण र औषधको प्रकृतिको आधारमा प्रयोगकर्ता र कारोबारीलाई अदालतले सजाय तोक्ने उनले जानकारी दिए । तत्काल प्रमाण लोप हुने ठहर भएमा लागुऔषध प्रयोगकर्ता र कारोबारीहरुको विना पुर्जी पनि घर खानतलास गर्न सकिने उनले बताए । उनले भने, “अबस्था विग्रदै गएमा प्रहरीले प्रयोगकर्ता र कारोबारीको घर खानतलासी गर्न सक्छ ।” कानुनी प्रकृया पु¥याएरनै प्रहरीले अनुसन्धान गर्ने उनले बताए । प्रतिबन्धित लागुऔषध प्रयोगकर्ताका कारण परिवार र समाज नै उजाडिएको बताउदै चुडालले प्रयोगकर्तालाई सुधार्न र सुरक्षित जीवन यापन गर्ने मौका प्रदान गर्न पनि कानुनी दायरमा ल्याई कानुनी उपचार गर्नुपर्ने बताए । समाजमा यस्ता गतिविधि देखेमा, सुनेमा जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी गर्न सबैलाई उनले अनुरोध समेत गरे । उजुरी गरेकै कारण पनि उसको बाँकी जीवन यापनमा सहयोग हुने भएकोले सबैलाई सहयोग गर्न उनले अपिल गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment