प्रयास लिम्बू
ताप्लेजुङ,२४ पुसः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा देवीको नाममा सङ्कलन हुने भेटीघाटीको विषयलाई लिएर दुई समितिबीच टकराब सुरु भएको छ । पछिल्लो समय पाथीभरामा सङ्कलन हुँदै आएको भेटीघाटी रकम अनियमितता हुने गरेको चर्चा चल्न थालेपछि जनस्तरमा गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले हाल सङ्कलन गर्दै आएको भेटीघाटी सरकारी तहमा गठित पाथीभरा क्षेत्र विकास समितिलाई व्यवस्थापन गर्न भनी सरकारले पत्राचार गरेपछि टकराब सुरु भएको हो ।
विगत २०४७ सालदेखि जनस्तरमा पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति नामक संस्था स्थापना भएर पाथीभरा मन्दिरको भेटीघाटी संकलन गर्दै आएको छ । उक्त भेटीघाटी रकम संकलन गरेर पाथीभरा क्षेत्रकै विकासमा खर्च गर्दै आएको स्थानीयस्तरको समितिले जनाए पनि अनियमितताको चर्चापछि अख्तियारले चासो देखाएको र सरकारले पनि २०५३ सालमा गठित सरकारी तहको पाथीभरा क्षेत्र विकास समितिलाई भेटीघाटी व्यवस्थापन गर्न पत्राचार गरेपछि भेटीघाटीबारे निक्कै चर्चाको विषय बनेको छ ।
यता स्थानीयस्तरको समितिले भने बिना छानबिन आर्थिक अनियमितताको दोष देखाएर आफ्ना काममा अवरोध पु¥याएको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगलाई आफ्नो कामको सुुक्ष्म अनुुगमन गर्न चुनौतीसमेत दिएको छ । सुक्ष्म अध्ययन गरी कमजोरी वा भ्रष्टाचार भएको पुष्टि गरेर संस्था बिघठन गर्न अख्तियारलाई चुनौती दिएको छ । समितिले भेटीघाटी रकम संकलन गरेर पाथीभरा क्षेत्रकै विकासमा खर्च गर्दै आएको जनाएको छ भने कसैले आर्थिक अनियमितता भएको आरोप लगाउँदैमा अनियमिताको शंका नगर्न पनि समितिले अख्तियारलाई आग्रह गरेको छ ।
समिति उपाध्यक्ष रणबहादुर कार्कीले भेटीघाटी रकम पाथीभरा क्षेत्रको गुरुयोजनामै खर्च हुँदै आएको बताउनुभएको छ । बिनाआधार अख्तियारलाई गुहार्दै पाथीभराको भेटीमा आँखा लगाएर राजनीति सुरु गरिएको कार्कीले आरोप छ । समितिले राम्रो काम नगरेको भए वा आर्थिक अनियमितिा गरेको प्रमाणित भएमा जस्तोसुकै सजायको भागिदार बन्न पनि तयार रहेको कार्कीको भनाइ छ । उहाँले बिना प्रमाणको भरमा प्राप्त निबेदनलाई आधार बनाएर राजनीति गर्न नपाइने अख्तियारलाई सुुझाउनुभएको छ ।
यस्तै समितिका सह–सहिच लक्ष्मीप्रसाद काफ्लेले पनि बिनाप्रमाण पाथीभरा माताको नाममा उठेको भेटीघाटीको व्यवस्थापन गर्दै आएको संस्थाप्रति प्रश्न उठाउनु जायज नहुने भन्दै अख्तियार र सरकारको आलोचना गरेका गर्नुभएको छ । ‘अनियमितताको शंका भए समितिले गरेको आर्थिकसहित काम कारबाहीको सुुक्ष्म अनुुगमन गर्नुपर्छ, अख्तियार जस्तो संस्थाले अनुमानका भरमा औंला उठाउन पाइँदैन’ काफ्लेले भन्नुभयो ।
जनस्तरमा गठित यो समितिले पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटीघाटी व्यवस्थापन गर्दै आएसँगै पाथीभराको विकासका कार्य गर्दै आएको जनाएको छ । गुरु योजना बनाई भेटीघाटी रकम र दाताहरु समेतको सहयोगमा पाथीभराको माथिल्लो फेदी देखि मन्दिरसम्मको करिव तीन किलोमिटर दुरीभित्र बिद्युुतीकरण गरेको, मन्दिर जाने पदमार्ग, पाटीपौवा, विश्रामस्थल निर्माण लगायतका कार्यहरु गर्दै आइरहेको समितिले जानकारी दिएको छ ।
यसरी सरकारी स्तरको समिति माताहातमा भेटीघाटी व्यवस्थापन गर्नुपर्ने संस्कृति मन्त्रालयको पत्रको विषय र स्थानीयस्तरबाटै भेटीघाटी व्यवस्थापन गर्नुपर्छ भन्ने विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले बोलाउनुभएको बैठक निष्कर्ष बिहीन भएको छ । बैठकमा सरकार तहका समिति अध्यक्ष सजन पौडेलले स्थानीय समिति सरकारीभन्दा पूरानो भएपनि संस्कृति मन्त्रालयको पत्रानुसार भेटीघाटीको व्यवस्थापन सरकारी समितिले गर्नपर्ने धारणा राख्नु भएको थियो । तर बैठकका अधिकांश सहभागीले भेटीघाटीप्रति अख्तियारको शंका बिना प्रमाणको भन्दै विरोध गरेपछि कुनै निर्णय हुन सकेन ।
यस पाथीभरामा भेटीघाटी बापत रकम वार्षिक ४५ लाख रुपियाँ बढी सङ्कलन हुने गरेको छ । स्थानीयस्तरको समितिकाअनुसार देवीको दर्शनार्थी, समितिको साधारण सदस्य, विषेश सदस्य, आजीवन सदस्य र सहयोगी दाताबाट सो रकम सङ्कलन हुने गरेको छ । यो वर्ष भने भूकम्प, भारतको अघोषित नाकाबन्दी लगायत कारणबाट झण्डै ६० प्रतिशतले भेटीघाटी सङ्कलन घटेको समितिले जनाएको छ ।
0 comments:
Post a Comment