इलाम, २४ पुसः होस् गर्नोस् सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाइँलाई उसले फसाउन सक्छ ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको छ ।
पछिल्लो समय महानगरीय अपराध महाशाखाले गरेको सर्वेक्षणअनुसार युवावर्ग बढी संख्यामा साइबर अपराधमा लागेको पाइएको छ । तीमध्ये १५ देखि १९ वर्षसम्मका केटाकेटी धेरै साइबर अपराधमा लाग्ने गरेका छन् ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले मानिसले अनावश्यकरुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध बढेको बताए ।
उनले भने–‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गर्दछ, संसारमा निःशुल्क भनेको केही पनि हुँदैन ।’ साइबर कानुनका बारेमा विद्यालय र क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको उनी बताउँछन् ।
बाँके घर भएका राहुल वाल्मीकिले विभिन्न विद्यालय तथा कलेजका छात्रालाई मोडलिङ क्षेत्रमा काम लगाइदिन्छु भनी उनीहरुको फेसबुक पासवर्ड मागी ३५र४० जनासँग पैसा र रिचार्ड कार्ड ठगी गरेको महाशाखाले जनाएको छ ।
साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ ।
यस्तै, मोरङ घर भएका सागर भन्ने विष्णु अधिकारीले आफ्नो छुट्टै आइडी बनाएर अनावश्यक कुरा लेखी आफूलाई मन नपरेको व्यक्तिको फेसबुकमार्फत प्रचार गरेर पीडितको सामाजिक–पारिवारिक सम्बन्धमा खलल पुर्याउने काम गरेको भनी महाशाखाले मुद्दा चलाएको छ ।
सामाजिक सञ्जालमार्फत साथी बनाइ बिहे गरेर मानिसलाई बेच्ने गरेका उदाहरणसमेत रहेको खनालले बताए ।
उनले भने–‘फेसबुकमा साथी बनाउँदा कस्तो प्रकारको साथी हो चिनेकालाई मात्र साथी बनाउनुहोस् अन्यथा फसाउन सक्छन् ।’
यस्तै, भारत मोतीहारी घर भइ वीरगन्ज बस्ने भूषण पाण्डे र दिलीपकुमार यादवले बैंकको एटीएममार्फत् अर्काको आइडी चोरी रकम ठगी गरेको महाशाखाले जनाएको छ ।
टीकापुर घटनालाई लिएर मुख्य सुरक्षा निकायहरुबीच टकराव हुने गरी अविश्वासको वातावरण सिर्जना गर्नेखालको सूचना लेखी प्रचार गरेको भनी राजनीतिकर्मी आङ्काजी शेर्पालाईसमेत महाशाखाले नियन्त्रणमा लिएको थियो ।
आव ०६९र७० मा साइबर अपराधका घटना ५८ ओटा रहेका थिए । तीमध्ये २६ ओटा घटनालाई मुद्दा चलाएको महाशाखाले जनाएको छ ।
यस्तै, ०७०/७१ मा ९१ ओटा, ०७१/७२ मा ३०५ ओटा मुद्दा दर्ता भएका छन् । यो आवको पुस १७ गतेसम्म २६४ साइबर अपराधका मुद्दा दर्ता भएको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका प्रमुख खनालले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिएका छन् । साइबर अपराधको कानुनअनुसार अपराधीलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुबै सजाय हुने प्रावधान रहेको छ ।
साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्यांकमा उल्लेख छ । यसैले साइबर अपराधबाट जोगिन महाशाखाले सबैलाई आग्रह गरेको छ । रासस

0 comments:
Post a Comment