सानो गाडीले थपेको ठुलो खुसी

देउमाई, ११ माघः सवारी मानिसकालागि अत्यावश्यक साधन भइसकेको छ । हाल आएर इलामका प्रायः सबै गाविस र वडामा सवारी पुग्न थालेका पनि छन् । तर नियमित रुपमा सवारी नचल्ने जिल्लाका थुप्रै वडाहरु पनि छन् ।
नगरपालिका भइसकेपछि देउमाई नगरपालिका वडा नम्बर एकमा नियमित रुपमा गाडी सञ्चालन हुन थाले पछि स्थानिय हर्षित छन् । उनीहरुको हाल सोझै इलाम सदरमुकाम सम्म सम्पर्क बढ्न थालेपछि उनीहरुमा खुसीयाली छाएको छ । सुरुसुरुमा बाटो निर्माण गर्दा धेरैले गाडी चल्ने आशा राखेका थिएनन् पनि तर आजभोली दैनिक सोहि वडाबाट इलाम सदरमुकामसम्म नियमित सवारी सञ्चालन हुन थाले पछि स्थानिय हर्षित मात्र हैनन् नियमित रुपमा सडक मर्मत गर्न पनि थालेका छन् । उनीहरु प्रायः शनिबारको दिन पारेर सडक मर्मत गर्छन् । गाडी चल्न थालेपछि जोस बढेको वताछन् स्थानिय प्रकाश खनाल । उनले भने–‘गाडी नचलुन्जेल बाटो बनाउन खासै चासो हुँदैनथ्यो, आज भोली बाटो बिग्रिने बित्तिकै बनाउन मन लाग्छ ।’ उनी जस्तै गाउँका प्रायः सबै युवा तथा पाका उमेरका गृहिणी समेत हातमा कुटो, कोदालो लिएर बाटो मर्मत गर्न जुट्ने गरेका छन् । सो सवारी सञ्चालन हुनुपुर्व त्यस क्षेत्रका बासिन्दा इलाम वा बाहिर जाँदा लामो समय धाएर कि साँखेजुङको त्रिवेणी वा मङ्गलबारे बजार नै भएर गाडी चढ्नु प¥थ्यो । अब भने उनीहरुको त्यो झन्झट हटेको छ ।
हुन त हालको देउमाई नगरपालिका साविकको मङ्गलबारे जिल्लाको सुगम स्थल नै भनेर चिनिदै आएको छ । तर पनि त्यहाँका सबै क्षेत्रमा गाडी र विजुली पुग्न भने सहज रुपमा सकेको छैन । खास गरेर नगरपालिकाको वडा नम्वर एक भएको सावजुङ, तपेवालाई स्थानिय आफैँले देउमाई नगरपालिकाको ‘कर्णाली’ स्वघोषित नाम जुराएका छन् । विकास निर्माणका क्षेत्रमा पछि परेकै भएर सो नामाकरण गरेको स्थानिय कृष्ण खतिवडाको बुझाई छ । उनी भन्छन्– ‘यो मङ्गलबारेको कर्णाली हो, यो ठाउँ धेरै क्षेत्रमा पछि परेको छ ।’ देशको कर्णाली अञ्चल जसरी पछाडी परेको छ उसैगरी सो वडा पनि नगरपालिकाको पछि परेको क्षेत्र भएको उनले बताए ।
मङ्लबारे बजार सुगम पनि छ । त्यहाँको सुगमता उपभोग गर्न सावजुङ, तपेवा क्षेत्रका बासिन्दा धेरै समय खर्च गरेर धाउनै पर्छ । ताकी मङ्गलबारे बजार पुग्न तपेवाबाट करिब दुई घण्टा र सावजुङबाट एक घण्टा समय लाग्छ । बिरामी हुँदा समेत त्यत्रो बाटो धाउँदा धेरै बिरामीले अस्पतालको मुख नै नदेखि परमधाम हुनु परेको स्थानिय बताउँछन् ।
हुनत शहर क्षेत्रमा धेरै साना तथा ठुला सवारी चल्छन् । धेरैलाई सुगमताको महसुस नभएको पनि हुन सक्छ । तर सो क्षेत्रमा सानो एउटा सवारी चल्छ धेरैलाई खुसी थपिदिएको छ । मुख्य गरेर सावजुङ र तपेवालाई लक्षित गरेर गाडी सञ्चालन गरिएको भए पनि वडा नम्बर दुई पुङफुङ हुँदै इलाम सम्मका धेरै यात्रुलाई सहजता भएको छ । सो क्षेत्रबाट चल्ने एउटा मात्र सवारी भएकाले पनि धेरै दिन त रिजर्वमा नै गाडी चलाउनु परेको सवारी धनी खेम थापा बताउँछन् । दैनिक गाडी सञ्चालन हुन थालेपछि कहिलेकाहि गाडी रिजर्वमा बाहिर गएका बेला भने के नभएको के नभएको जस्तो हुन थालेको स्थानिय युवराज आचार्य बताउँछन् । ठट्यौली पारामा उनले भने– ‘गाडी आएपछि गाडीमा नै चढेर एक पटक चोक सम्म गइन्छ, साथी भाईहरु पनि आउँछन्, गफ लडायो आयो ।’ गाउँका युवायुवतीहरु रमाईलो गर्न र भ्रमणमा जान समेत गाडी रिजर्व नै गरेर जान थालेका छन् । स्थानिय धनकुमार राई पनि गाडी चल्न थाले पछि धेरै नै खुसी थपिएको बताउँछन् ।
उनले भने–‘गाडी चल्न थाले पछि त घुम्न जाँदा पनि घरैवाट गाडी चढेर घरमै ओर्लिन पाइन थाल्यो, रमाइलो भयो ।’  रमाइलो र दुःखमा पनि गाडीले सहयोग गर्न थालेको उनीहरुको बुझाई छ । तर सडकको स्तर सुधार गर्न नसके वर्षा समयमा गाडी सञ्चालन हुन भने नसक्ने स्थिति छ । सो सडक मङ्गलबारेबाट पुङफुङ, सावजुङ, तपेवा–बिन्दुले हुँदै चमैताका पनि केहि वडा पार गर्दै राँके सम्म पुग्छ । सो खडकको स्तर उन्नति गर्न सके धेरै मानिसलाई राहत मिल्ने छ र उनीहरुका उत्पादन बजारसम्म लैजान साथै दैनिक उपभोग्य सामाग्री घरसम्म भित्रियाउन थप टेवा पुग्ने देखिन्छ । यस विषयमा सम्बन्धित निकायको चासो पुग्न जरुरी छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment