किवि खेतीमा हालसम्मको प्रविधि गलत

छाँटकाँट र मलपानी मिलाउन नसक्दा उत्पादनमा कमी
चियाबारी डेक्स
इलाम ३ फागुनः किवि खेतीमा हाल सम्म प्रयोग गरिएको प्रविधि, विरुवा रोप्ने तरिका र छाँटकाँट विधि गलत रहेको छ । इलाममा करिब दश वर्ष अगाडी भित्रिएको किविफल खेतीबाट रामै्र दाम पाएको बताउँदै आउने कृषकहरु आफैँ प्रविधि गलत भएको स्वीकार्न थालेपछि यसको पुष्टि भएको हो ।
न्युजिलैण्डमा आठ वर्ष देखी किवि खेतीमा संलग्न रहेर काम गर्दै आएका सगुन उप्रेतीले नेपालमा गरिँदै आएको प्रविधि गलत भएको दाबी गरे । न्युजिलैण्डको एभ्रेष्ट वर्क फोर्स लिमिटेडका निर्देशक तथा  मुख्य प्रशिक्षक उप्रेतीका अनुसार नेपालमा दक्ष प्राविधिक नभएका कारण पनि यहाँका किसानहरुले यस्तो समस्या भोग्नु परेको हो । किवि खेती गर्दा माटो परिक्षण अनिवार्य गर्नु पर्ने हुन्छ । जमिनको स्थिती विचार नगरी खेती गर्दा जति उत्पादन हुनु पर्ने हो त्यति हुन नसक्ने उनको भनाई छ । राम्रो जातको किविमा प्रविधि मिलाउने, जमिनको स्तर ठिक छ साथै मलजल र छाँटकाँट मिलाउन सके सरदर एक सय पचास किलो उत्पादन हुने उप्रेतीको भनाई छ । तर नेपालमा हाल करिब पचास किलो पनि उत्पादन गर्न नसकिएको यहाँका किसानहरु बताउँछन् । नेपालमा किवि उत्पादन हुने गरेको भए पनि प्रकृतिमा नै भर पर्नु परेको र अत्यन्त दुख गरेर मात्र उत्पादन भएको बताइएको छ । भाले र पोथी किवि बिच परागसेचन हुन माहुरी, पुतली लगायतमा नै निर्भर रहनु परेको तर हाल स्प्रे विधिबाट समेत परागसेचन हुने जनाइएको छ । यहाँ स्प्रे विधि गर्नेबारे किसानहरुलाई जानकारी नभएको माइमझुवाका किवि किसान युवराज पिसी बताउँछन् । उनले भने ‘फल्यो भने बेच्यो(खायो, फलेन त ढुक्क परेर बस्थ्यौँ अब मात्र थाहा हुँदैछ ।’ जिल्लाकै अगुवा किवि किसानका रुपमा परिचित साखेजुङका गंगा विष्टले पनि हाल सम्मको प्रविधि गलत भएको स्विकार्दै अब सहि प्रविधि अवलम्वन गर्ने बताए । अझ माइपोखरी हर्वल प्रालि सुलुबुङका प्रोपाइटर देउकुमार राईले प्रविधि गलत रहेको थाहा पाएपछि दक्ष प्राविधिक बोलाएर जिल्लाका अगुवा किवि किसानहरुको भेला नै बोलाए । दक्ष प्राविधिक र जिल्लाका किसानहरुलाई तीन दिन सम्मसँगै राखेर कृषकका समस्या र समाधान उपायका बारेमा छलफल गराएको उनले बताए ।
उनीहरु जस्तै जिल्लाभित्र र जिल्ला बाहिरका किसान आफुहरु अनविज्ञ नै रहेको बताउँछन् । उनीहरु पनि हाल प्रविधि र खेतीबारे पछि नै परेको स्विकार्छन् ।
के हो त सहि उपाय ?
व्यवसायिक रुपमा किवि खेत गर्न सबैभन्दा पहिला त जमिनको परिक्षण गर्नु पर्ने र सहि जमिनको छनौट गर्नु पर्दछ । माहुरीको आवगमन बारे विचार गरेर भाले पोथीको सङ्ख्या निर्धारण गर्नुपर्ने प्राविधिकको सुझाव छ । हाल नेपालमा पाँचवटा पोथी किवि बराबर एउटा भाले बिरुवा लगाइन्थ्यो । तर प्राविधिकका अनुसार ठाउँ अनुसार फरक फरक सङ्ख्यामा भाले पोथी विरुवा लगाउन सकिन्छ । भाले बोटबाट फल उत्पादन हुँदैन ।
प्रसस्तै माहुरी घुम्ने स्थानमा पाँचवटा पोथी विरुवा बराबर एउटा भाले विरुवा र सामान्य मात्र माहुरीको चहलपहल हुने स्थानमा चार पोथी विरुवा बराबर एक भाले र आवश्यक मात्रामा लगाउन सकिने प्राविधिक तथा किवि खेतीका प्रशिक्षक सगुन उप्रेतीको भनाई छ ।
बिरुवा छाँटकाँट गर्दा पनि दुई वटा मुल हाँगालाई काट्न नहुने जनाइएको छ । आवश्यक अनुसार दुईवटा हाँगालाई बढ्न दिने र पछि हातले नै बटारेर छोड्नु पर्ने प्रशिक्षक उप्रेतीको भनाई छ । बटारेर छोड्दा मोटाइ बढ्ने तर लम्बाई नबढ्ने बताइएको छ । मुल हाँगाबाट सहायक हाँगा भने जमिन र माचको स्थिती विचार गरेर राख्न सकिने जनाइएको छ । नेपालमा हालसम्म मनगढन्ते ढङ्गबाट छाँटकाँट गरिँदै आइएको थियो ।
सामुन्द्रिक सतहबाट १२ सय पचास मिटरको उचाईदेखी २४ सय मिटरको उचाई सम्म खेती गर्न मिल्ने किविफल नेपालमा अलिसान, मन्टूी, ब्रुनो, स्वोट, हेवार्ड, किविबेरी, गोल्डेन लगायतका जात लगाइने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment