इलामः भारतलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ ।
सोमबार भएको फाइनल खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालले २३ वर्षपछि साग फुटबलमा उपाधि जितेको हो ।
यसअघि १९८४ र १९९३ मा स्वर्ण जितेको थियो । १९९९ को फाइनल पुगेर पनि हारेको नेपाल त्यसयता भने फुटबलमा पदक जित्न सकेको थिएन ।
सोमबार खेलमा भारतले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३१ औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी पाएको थियो ।
त्यसअघि भारतका कुमाम उदान्तले ११ मिनेटमै गोल गरेपनि रेफ्रीले अफसाइड दिए । २८ मिनेटमा हलिचरण नर्जरीको क्रसमा उदान्त गोल गर्न चुके । उनले गरेको हेडर पोलभन्दा केही माथिबाट गएको थियो ।
पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब समेत दिएको थियो । तर, दोस्रो हाफमा नेपाल आफ्नो लयमा फर्कियो । ६५ औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रि किकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्याए ।
लगतै विमल घर्तिमगर वान भर्सेज वानमा चुके भने बोउन्स भएको बलमा नेपालले गरेको प्रहार भारतीय खेलाडीले गोललाइनबाट बचाए ।
खेलको ७१ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र नेपाल भारतलाई २–१ ले हराउँदै २३ वर्षपछि साग फुटबलमा स्वर्ण जित्न सफल भएको छ ।
भारतीय भूमिमा नेपालको समर्थनमा हुटिङ
नेपालले भारतबिरुद्ध उसकै मैदानमा प्रतिष्पर्धा गरिरहेको थियो । तर, आयोजक भारतबिरुद्ध खेल्दा नेपाललाई उल्लेख्य समर्थन र हुटिङ भयो ।
नेपालका खेलाडीको खुट्टामा बल पर्ने वित्तिकै नेपालको पक्षमा हजारौं दर्शकले समर्थन स्वरुप हुटिङ गरेको देखियो । जसका कारण नेपाली खेलाडीले उच्च मनोवलका साथ प्रदर्शन पनि गरे । नेपालको समर्थनमा हुटिङ गर्न नेपाल घर भइ भारत बस्ने नेपालीहरु र आसाम, गुवाहाटी, सिलोङ लगायतका ठाउामा बस्ने नेपाली भाषी उल्लेख्य रुपमा रंगशाला पुगेका थिए ।

0 comments:
Post a Comment