इलाम, फागुनः फुटवल खेलमा पछिल्लो समय नवयुग श्रेष्ठ चर्चित नाम हो । इलामको साविक मंगलबारे एक (देउमाई नगरपालिका चार) मा जन्मिएका उनी राष्ट्रिय टीममा समावेश भएसँगै नेपालले अन्तराष्ट्रिय उपाधि चुम्न थालेको छ । फुटबलमा जितको खोलो फर्काउन नेपाललाई २३ वर्ष लाग्यो । फुटबलमा उपाधिका लागि नवयुग सारथिका रुपमा पेश भएका छन् ।
बंगबन्धु गोल्डकपमा नेपाललाई उपाधि जिताएर मोस्ट भ्यालुएबल प्लेयर, हाइएस्ट स्कोरर बनेका नवयुगले साग फुटबल उपाधिका लागि निर्णायक गोल गरेर नेपाली फुटबलप्रेमीलाई दुवै हातमा लडडु दिलाएका छन् । फुटबलमा अहिले नवयुगको उचाइ ह्वात्तै बढेको छ । तर, सौभाग्य नै मान्नुपर्छ, उनी फुटबल छिर्नुको खास कारणचाहिँ उचाइ कम हुनु हो । इलाम मंगलबारेको त्रिभेणी युथ क्लबले ४ फिट १० इन्चभन्दा कम उचाइ भएकालाई फुटबल सिकाएर टिम बनाउने योजना ल्याएको थियो । ‘फुच्चे केटा’हरूको टिममा सामेल हुन पाएका नवयुगले प्रगति गर्दै अहिले नेपालको उचाइ बढाइदिएका छन् ।
नवयुग श्रेष्ठ बुवा चन्द्रकेशर र आमा बसुन्धराका कोखबाट २०४७ साल जेठ २५ गते जन्मिएका उनी सानै उमेर देखी खेलकुद क्षेत्रमा चासो राख्दथ्ये । त्यसमा पनि उनी फुटवलमा अझ समय दिन्थ्ये । उनका बुबा चन्द्रकेशरले पनि छोराको प्रगतीले सिंगो इलाम मात्र नभएर देशले नै गर्व ठाउँ वनाएको वताए । नवयुग सँगै टीमले नै राम्रो खेल खेलेका कारण देशले नै अन्तराष्ट्रिय स्तरको उपाधि चुम्न सफल भएको वताए । त्यस्तै उनकी आमा बसुन्धराले पनि छोराले गरेको प्रगतीले गर्व गर्ने ठाउँ वनाएको वताइन् । सानै उमेर देखी किचनमा जस्तो पाक्यो केहि दोस नलगाई खाने उनी खानाप्रति खासै चासो नराख्ने गरेको उनकी आमाको भनाई छ । आमा बसुन्धराका अनुसार सानो उमेर छँदा पढ्नमा भन्दा बाहिरी क्षेत्रमा नै चासो राख्ने उनी उमेरसँगै पढाइमा पनि मेहनत गर्न थाले ।
उनका घरमा हाल बुबा आमा र हजुर आमा मात्र छन् । एउटी बहिनी नविनाको केहि वर्ष अघि नै बिहे भइसकेको छ । हजुरआमा हर्कमायाले पनि नातीले देशलाई दिएको योगदानले छाती फुलेको वताइन् । कतिखेर भेट्नु झैँ लाग्न थालेको वताउने उनी सानोछँदा हुर्काउन पनि आमाले भन्दा आफुले नै वढि मेहनत गरेको वताउँछिन् । उनका बुबा पेशाले शिक्षक हुन् । स्थानिय भानुभक्त उमाविमा अध्ययन उनी हाल यस स्थानमा आउँदा देउमाई नगरपालिका वासीले मात्र हैन इलाम जिल्ला साथै पुरै नेपाल र नेपालीले खुसीयाली मनाइरहेका छन् ।
हुन त हजुरआमा पनि नातीको प्रगती हेर्न एकदमै आतुर रहिछन् । उनले ज्योतीषीलाई चिना समेत हेराउन भ्याइछन् । चिना हेराउँदा ज्योतिषिले पनि जागिर पाउने वताएको हजुरआमाले सुनाइन् । जागिरको सुरुमा अत्यान्तै कठिनाई भोग्नु पर्ने ज्योतिषिले सुनाएपछि उनको मनमा एक खालको पिर भए पनि जागिर पाउने आशाले भने हजुरआमाको मन शान्त भएको थियो । हजुर आमाले भनीन् ‘मैले पशुपतीनाथसँग प्रार्थना गरेको छु । मेरो नातीले वलमा कहिल्यै हार ब्यहोर्नु नपरोस भनेर ।’ स्थानिय भानुभक्त उमाविमा कक्षा एकबाट अध्यन सुरु गरेका नवयुगले कक्षा १२ सम्म त्यहि अध्यन गरे । भानुभक्त उमाविका पुर्व प्रधानाध्यापक प्रकाशचन्द्र खनालले पनि नवयुगबाट पहिल्यै देखी आशा गरेको वताए । सानै उमेर देखी खेलमा लागेका उनी पढाइमा भन्दा पनि खेल क्षेत्रमा नै लाग्ने गरेको शिक्ष खनालको भनाई छ । त्यस्तै खेल शिक्षक तेजकुमार बाँस्तोलाले पनि नवयुगले सानै उमेर देखी खेलकुदमा राम्रो मेहनत गर्ने गरेको वताए । उनको मेहनतका कारण नै यस स्थानमा आएको वताउँदै उनीबाट केहि गर्ने आशा पलाएको र सो पुरा भएको वताउँछन् ।
जिल्लाको त्रिवेणी युथ क्लबमा आबद्ध भएपछि उनको खेलक्षेत्रको सपना पुरा हुन थाल्यो । उनी १२ कक्षामा पढ्दै गर्दा एन्फाले यू–१६ छनोटको लागि देशभरबाट दरखास्त आह्वान गरेको थियो । उनले पनि आवेदन दिए । उनी काठमाण्डौ त गए तर, एन्फाले उनलाई छनोट गरेन । एन्फाकै महासचिव धीरेन्द्र प्रधानले उनलाई पु¥याएका थिए एपिएफ क्लबमा । धिरेन्द्र सो परिवारका नातेदार पनि हुन् । तर, त्यहाँ पनि उनी छनोटमा परेनन् । बाध्य भएर उनी सी डिभिजनको क्लबमा खेल्न थाले ।
त्यपछि कर्माछिरिङ शेर्पाको नजरमा परेपछि उनी बी डिभिजन खेल्दै गरेको हिमालयन शेर्पा क्लबमा आबद्ध भए । नवयुग हिमालयन क्लबमा त गए, तर मैदानमा झर्न पाएनन् । प्याराफिटमा बसेर प्रतियोगिता हेरे, प्रतियोगिता सकिएपछि दर्शकजस्तै घर इलाम फर्किए ।
इलाम आउँदा उनका साथीले उनलाई नेपाल आर्मीमा भर्ती भए फुटवल खेल्न पाइन्छ भन्ने कुरा सुनाए । यो उनको अन्तिम आशा पनि थियो, धनकुटा पुगेर छनोटका लागि दगुरे, मिहिनेत खेर गएन । उनले सोचेजस्तै भर्ती भएपछि आर्मीका आन्तरिक प्रतियोगितामा फुटबल खेल्न थाले । नौ महिनाको सैन्य तालिमपछि उनी धनकुटाको हिलेबाट सीधै त्रिभुवन आर्मी क्लब पुगे । ०६६ सालको अन्तिममा क्लबमा आबद्ध भएका उनले ०६७ सालको नकआउट फुटबल प्रतियोगिताबाट ए डिभिजनमा डेब्यु गरे । उनी क्लबमा आएकै वर्ष सन्तोष नेपाली शान्ति मिसनमा गएकाले नवयुगले स्थान पाए । अवसर सदुपयोग गर्दै उनले आर्मीको भरपर्दो खेलाडी बने । तर, राष्ट्रिय टिममा भने स्थान बनाउन सकेका थिएनन् ।
धनकुटाबाट नेपाल आर्मीमा प्रवेश गरेका उनी आर्मीका भरपर्दा खेलाडीको परिचय बनाए पनि उनले राष्ट्रिय टिममा भने स्थान पाउन सकेनन् । ०६८ देखि नै उनलाई राष्ट्रिय टिमको प्रारम्भिक छनोटमा बोलाइन्थ्यो । तर, सधँै फालिन्थे । उनको खासै गुनासो भने थिएन । अहिले नपरे अर्को पटक पर्छु भन्दै चित्त बुझाउँथे ।
यस वर्षमात्र उनी प्रशिक्षकको नजरमा परे । साफ च्याम्पियनसिपका लागि छनोटको पहिलो चरणमा उनी नेपाली टिममा परे । साफ च्याम्पियनसिपअघि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्दा उनले राष्ट्रिय टिमबाट डेब्यु गरे ।
बंगबन्धु गोल्डकपमा भने उनी पहिलो रोजाइमा परे । तर, लिग चरणका तीन खेलमा अवसर पाएर पनि गोल गर्न सकेनन् । सेमिफाइनलमा भने माल्दिभ्सविरुद्ध ह्याट्रिक गर्दै सनसनी मच्चाए । बहराइन विरुद्धको फाइलनमा समेत गोल हान्दा उनी सर्वाधिक गोलकर्ता र मस्ट भ्यालुएवल प्लेयर बनिसकेका थिए । बंगबन्धु लगत्तै सागमा त उनले दुईवटा ह्याट्रिक गरे । एक महिनामा तीन ह्याट्रिक पूरा गरेका उनले भारतविरुद्धको निर्णायक खेलमा निर्णायक गोल गरेर नेपाली फुटबललाई नवयुगमा प्रवेश गराए ।
इलाममा २०६० र ६१ सालमा आयोजना भएको जिल्ला सभापति कपमा नवयुग इलाम टिमका स्कोरर थिए । इलामका नवयुगकको सफलतासँगै नेपालले साग फुटबलमा इतिहास रचेको खुसीमा जिल्ला फुटबल संघको अगुवाईमा मंगलबार गृह जिल्लामा मोटरसाइकल ¥याली पनि गरिएको थियो । जिल्ला वासीले उनले दिलाएको उपाधिको तारिफ गर्दै ¥यालीको आयोजना गरेको जिल्ला फुटवल संघ इलामका अध्यक्ष निरोज खड्गी वताउँछन् ।
हुन त म्याच फिक्सिङ गरेको अभियोगमा केहि खेलाडी पक्राउ नपरेका भए सायदै नवयुगसहित अन्य केहि खेलाडीले अवसर पाउन गारो हुन्थ्यो पनि । पाका र समय सान्दर्भिक खेल प्रदर्शन गर्न नसक्ने खेलाडीलाई पन्छाएसँगै पछिल्लो पुस्ताले अवसर पायो । अवसर सदुपयोग गर्दै नयाँ पुस्ताले दुईवटा अन्तराष्ट्रिय उपाधि चुमि सकेका छन् ।
जितसँगै देशका प्रधान मन्त्रि केपि शर्मा ओली सहित सामान्य नागरिकले समेत विजेता खेलाडीलाई बधाई ज्ञापन गरिरहेका छन् । सामाजिक सञ्जालका भित्ता हरुमा समेत धेरै नेपालीहरुले खुसीयाली बाँडीरहेका छन् । फुटवलमा नवयुगको उदयसँगै फुटवलले पाएको उचाई गुम्न नसकोस नवयुग सहित नेपाली फुटवल टोलीलाई चियावारी अर्धसाप्ताहिकको शुभकामना ।

0 comments:
Post a Comment