लिम्बूको ५ गोल मदतले झापा गोल्डकप आमन्त्रण अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बिहीबार पाहुना टिम साङ्ली डीएफए महाराष्ट्रलाई ९–० ले पन्छाउँदै आयोजक रमपम झापा–११ क्वाटरफाइनल पुगेको छ ।
स्थानीय डोमालाल रंगशालामा भएको खेलमा पाहुना टिम महाराष्ट्रले निकै लज्जास्पद हार व्यहोर्यो । खेल सुरु भएको तेस्रो मिनेटबाटै झापाले गोलको वर्षा गरेको थियो । झापाका सुमिन मैनालीले पहिलो गोल गरी टिमलाई अघि बढाएका थिए ।
उनले कप्तान प्रवेश कटुवालको क्रसपास सदुपयोग गरी बललाई जाली चुमाएका थिए । झापाले खेल सुरु भएको २६ मिनेटभित्र ६ गोल गरेको थियो । दोस्रो गोल कर्ण लिम्बूले गरे । सुमिनको क्रसलाई उनले गोलमा परिणत गरेका हुन् । सन्जोग राईले १३ औं मिनेटमा गोल गरे ।
नरेन्द्र लिम्बूको क्रसलाई कर्णले २० औं मिनेटमा पुनस् जाली चुमाए । प्रवेशको क्रसमा योगेश गुरुङले २५ औं मिनेटमा आकर्षक गोल गरे । कर्णले २६ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे ।
खासगरी भारतका कप्तान सकिल जी पटेल, अमित वी सावन्तलगायत खेलाडीले गोल गर्ने प्रयत्न गरेका थिए । तर झापाका गोलकिपर किशोर गिरीले त्यसलाई निस्तेज पारे । ३० औं मिनेटमा नरेन्द्र लिम्बू र ३२ औं मिनेटमा कर्णले गोल थप्दै टिमलाई पहिलो हाफमै ८–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफपछि भारतीय टिमले खेलमा सुधार गरेको थियो । रणनीति बदलेर मैदान प्रवेश गरेको उसले झापालाई दबाबमा राखेको थियो । कर्णले ५७ आंै मिनेटमा फेरि अर्को गोल थपे ।
खेल सुरु हुनुपूर्व वर्षा भएका कारण आफ्नो टिम पराजित भएको महाराष्ट्रका कप्तान सकिल जी पटेलले बताए । ‘वर्षाका कारण बल कन्ट्रोल गर्नै गाह्रो भयो,’ उनले भने,‘प्रयत्न गर्यौं तर सकेनौं ।’
झापाका प्रशिक्षक भगीरथ आलेले कमजोर टिम भएकाले त्यसको फाइदा उठाएको बताए । ‘होम ग्राउन्ड त छँदै थियो,’ आलेले थपे,‘कमजोर टिम हुँदा जित हासिल गर्न सहज भयो ।’
कर्ण लिम्बू खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । उनले ५ हजार रुपैयाँ हात पारे । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले गरेका थिए ।

0 comments:
Post a Comment