सडकमा जग्गा परेका जग्गा धनीको मुआब्जाको माग


खोटाङ, २७ फागुन: जिल्लामा निर्माण भइरहेको मध्यपहाडी लोकमार्ग खण्डअन्तर्गत दिक्तेल–चखेवा सडकखण्डका स्थानीयवासी गुनासो र आक्रोश लिएर दिनदिनै सदरमुकाम तथा सम्बन्धित सरोकारवाला निकायको सामु पुग्न बाध्य भएका छन् । एक त सडक निर्माणको क्रममा सडकसँगै काटिएको आफ्नो घरजग्गाको मुआब्जा पाउन सकेका छैनन् भने सडकको बीच भागदेखि ३१÷३१ मिटर दाँयाबाँया बाटो छाड्नुपर्दा उनीहरु झनै मारमा परेका छन् । कुल ६२ मिटर चौडाइ भएको बाटोका कारण कतिपयको थोरै जग्गासमेत गुमिसकेको छ भने कतिपयको घर नै गुमाउनु परेको पीडा स्थानीयमा छ । 
सडक निर्माणको क्रममा मुआब्जा नदिएको भन्दै मध्यपहाडी लोकमार्गले छोएका दिक्तेल, नेर्पा, च्यानडाँडा, निर्मलीडाँडा गाविसका स्थानीयवासी आक्रोशित बनेका छन् ।  दिक्तेल–जयरामघाट सडकखण्डका स्थानीयवासीलाई भने सरकारले मुआब्जा वितरण गरिसकेको छ । दिक्तेल–चखेवा ४७ किलोमिटर सडकखण्डअन्तर्गत हाल निर्माण भइरहेको पहिलो चरणको २७ किलोमिटर सडकखण्डअन्तर्गत पर्ने स्थानीयवासीले मुआब्जा दिएरमात्र सडक निर्माणको काम अघि बढाउन माग गरेका छन् ।  मध्यपहाडी लोकमार्गअन्तर्गत सडकको बीच भागबाट दाँयाबाँया ३१÷३१ मिटर जग्गा छाड्नुपर्ने सरकारी नियमअनुसार सडक निर्माण गर्दा पहाडी क्षेत्रमा विकासको नाममा भौतिक सम्पत्ति धरासायी तथा क्षति हुने भन्दै स्थानीयले आपत्ति जनाएका छन् । 
मध्यपहाडी लोकमार्ग दिक्तेल–चखेवा दबाबमूलक समितिले बुधबार विज्ञप्ति प्रकाशित गर्दै सम्बन्धित निकायबाट मुआब्जा वितरण नभए चरणबद्ध आन्दोलन गर्ने र यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित निकाय हुनुपर्ने चेतावनी दिएका छन् । रासस

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment