इलाम, १२ चैत्रः कुकुरको आहाराका लागि अमेरिका लगिने नेपाली छुर्पी बैशाखमा गएको भूकम्प र भारतीय नाकाबन्दीपछि निर्यात घटेको छ ।
भूकम्प र नाकाबन्दीपछि छुर्पी लैजान असजिलो भएकाले निर्यात घटेको ब्यवसायीले बताएका छन् । अमेरिकामा छुर्पी निर्यात गर्दै आएको हिमालयन कर्पोरेशनले चालु आर्थिक वर्षको ६ महिनामा ५० हजार किलो मात्र छुर्पी निर्यात गरेको जनाएको छ । सामान्य अवस्थामा कर्पोरेशनले बर्षको दुई लाख ५० हजार किलोदेखि तीन लाख किलोसम्म छुर्पी अमेरिका निर्यात गर्ने गरेको थियो । ‘हामीले दुई लाख किलो छुर्पी अमेरिका लैजान किनिसकेका छौं’–हिमालयन कर्पोरेशनका सुजन श्रेष्ठले भने–‘तर, अहिलेसम्ममा ५० हजार किलो जति मात्रै गएको छ ।’ ढुवानी महङ्गो भएका कारण छुर्पी निर्यात घटेको ब्यवसायी श्रेष्ठले बताए । ‘इन्धन अभावका कारण ढुवानी मूल्य साह«ै महङ्गो पर्न थाल्यो, त्यसैले यो बीचमा निर्यात घटायौं’–उनले भने–‘बिस्तारै अवस्था सहज बन्दैछ, अब फेरि लैजान शुरु गर्छौ ।’
सन् २००८ बाट अमेरिकामा कुकुरको आहाराका लागि छुर्पी निर्यात हुन थालेको हो । पहिलो वर्ष तीन हजार किलो छुर्पी त्यहाँ निर्यात भएको थियो । अहिले पनि माग धान्ने गरी छुर्पी निर्यात हुन सकेको छैन । चार चाख किलो भन्दा बढी छुर्पी माग रहेको ब्यवसायीले बताएका छन् । अमेरिका निर्यातका लागि गुणस्तरीय उत्पादन नभएकाले माग धान्न नसकिएको उनको भनाई छ । कुकुरका लागि निर्यात गरिने छुर्पीका लागि शून्यदेखि एक प्रतिशत मात्रै चिल्लो पदार्थ हुनुपर्छ । उपयुक्त आकार र कडापन भएको छुर्पी मात्रै अमेरिका निर्यात गर्न सकिने जनाइएको छ । पाश्चराइजेशन प्रविधिबाट छुर्पीमा भएको जीवाणु नष्ट गरिन्छ । त्यस्तो प्रविधिबाट रोगका जीवाणु नष्ट गरेपछि नमुना परीक्षण गरेर खाद्य तथा गुण नियन्त्रण विभागले सुरक्षित भएको प्रमाणित गर्छ । खाद्य तथा गुण नियन्त्रण प्रमाणीकरणका आधारमा छुर्पीलाई अमेरिका पु¥याउन दिइन्छ । तर त्यहाँ थप जाँच गरेपछि मात्रै ब्यापारका लागि अनुमति दिइने श्रेष्ठले बताएका छन् । ‘अमेरिका पुगेपछि प्रयोग गर्न योग्य छ कि छैन भनेर जाँचिन्छ’–उनले भने–‘नमुना परीक्षण गरेको एक महिना जतिमा मात्रै रिपोर्ट आउँछ, अनि मात्र विक्री गर्न पाइन्छ ।’ युरोपियन देशहरुमा भने नेपालमा उत्पादन भएको डेरीजन्य उत्पादन विक्री गर्न पाइँदैन । नेपाल खोरेतको जोखिममा भएकाले युरोपियन देशहरुमा पशुजन्य उत्पादनलाई प्रतिवन्धित गरिएको छ । नेपाललाई खोरेतमुक्त क्षेत्र बनाउन सके अन्य देशहरुमा पनि छुर्पी विक्री गर्न सकिने ब्यवसायी बताउँछन् । कुकुरको आहारामा छुर्पी निर्यात शुरु भएपछि किसानले राम्रो भाऊ पाउन थालेका हुन् । ‘हिमालयन डग ट्यु’ को ब्राण्डमा नेपाली छुर्पी अमेरिकालगायतका देशमा निर्यात हुन्छ । इलाम, पाँचथर, ताप्जेजुङ्ग, तेह«थुम, भोजपुर, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लाबाट छुर्पी संकलन गरेर ग्रेडिङ्ग गरेपछि विदेश निर्यात हुने गरेको छ । निर्यातकर्ताहरुले ग्रेडिङ्गको आधारमा तीन सय ५० रुपैयाँदेखि साढे ६ सय रुपैयाँ प्रतिकिलोका दरले किनेर छुर्पी निर्यात गर्ने गरेका छन् । इलाममा मात्रै एक सयभन्दा बढी डेरीहरुमा छुर्पी बनाइन्छ । तर, साना उद्योग मात्र भएकाले गुणस्तरको छुर्पी उत्पादन हुन सकेको छैन । प्रतिकिलो छुर्पी उत्पादनमा सरदर छ सय ५० रुपैयाँ पर्ने एक अध्ययनले देखाएको छ । यहाँको कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको उन्नती कार्यक्रमले गरेको अध्ययन अनुसार प्रतिकिलो छुर्पी उत्पादनमा छ सय ५० रुपैयाँ लगानी लाग्ने उन्नतीका कृषि ब्यवसायविज्ञ रुद्र बरालले बताए । ‘एक किलो छुर्पी बनाउन सरदर २२ लिटर दूध लाग्छ’–उनले भने–‘तर, एक किलो छुर्पी बनाउँदा एक किलो घयू पनि निस्किन्छ, त्यसबाट किसानलाई फाइदा हुने हो ।’ बाहिरी बजारमा तीन सयदेखि चार सय रुपैयाँको हाराहारीमा छुर्पी विक्री हुने गरेको छ । क्रेताको मापदण्ड अनुसार उत्पादन गर्न सकिए छुर्पी विदेश निर्यात गरेर राम्रो कमाई गर्न सकिने विज्ञ बराल बताउँछन् । ‘छुर्पीलाई अन्य उत्पादन जस्तै ठूलो परिमाणमा उत्पादन गरियो भने उत्पादन लागत समेत घट्छ, बजार पनि विस्तार हुन्छ’–उनले भने–‘उत्पादन र निर्यात बढाउन ध्यान दिनुपर्छ ।’ इलाममा मात्रै सरदर दैनिक तीन लाख लिटर दूध उत्पादन हुने गरेको छ । उत्पादनको ५४ प्रतिशत मात्रै फ्रेसमिल्कमा विक्री हुने गरेको उन्नतीले जनाएको छ । आधा जति दूध छुर्पी, चिज, ललिपप बनाइन्छ । इलाममा बार्षिक दुई सय सात मेट्रिक टन छुर्पी उत्पादन हुने गरेको छ ।

0 comments:
Post a Comment