पहिलो चरणमा सभापतिका उम्मेदवारहरुले ५० प्रतिशत भन्दा बढी भोट ल्याउन नसकेपछि विधान अनुसार कांग्रेस महाधिवेशनमा सभापति पदको लागि दोस्रो चरणको मतदान सुरु भएको छ । २ बजे सुरु हुने भनिएको निर्वाचन करिब एक घण्टा ढिला सुरु भएको हो ।
आइतबार भएको पहिलो चरणको निर्वाचनमा तीन जना उम्मेदवारबीच बढी मत ल्याउने शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच आज प्रतिस्पर्धा हुँदैछ । हिजोको निर्वाचनमा तेस्रो स्थान ल्याएको कृष्णप्रसाद सिटौला प्रतिस्पर्धाबाट बाहिरिएका छन् । आजको निर्वाचनमा साधारण बहुमत ल्याउने उम्मेदवार बिजयी हुनेछन् ।
आइतबार भएको पहिलो चरणको मतदानमा कांग्रेसको सभापतिका उम्मेदवार रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आज दिउसो २ बजेबाट सुरु हुने भनिएको दोस्रो चरणको मतदान अझै सुरु भएको छैन ।
मतदाताहरु लामबद्ध भएर मतदान गर्न राष्ट्रिय सभागृहको गेट अगाडी बसिसकेका छन् । यस्तै सुरक्षाकर्मीले दुईजना निर्वाचन अधिकृत धर्मराज खनाल र ताराप्रसाद फुलेललाई स मेत माथिको आदेश भन्दै भित्र छिर्न दिएका छैनन् ।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको ११ मतले बहुमत नपुगेपछि सभापति पदका लागि आज दिउँसो २ देखि ५ बजेसम्म पुनस् मतदान हुने भएको हो । निर्वाचन समितिका सदस्य प्रदीप पराजुलीले सो जानकारी दिएका हुन् ।
हिजो भएको निर्वाचनको मतगणना अनुसार शेरबहादुर देउवाले १५ सय ६४ मत प्राप्त गरेका थिए भने कार्यवाहक सभापति रामचन्द्र पौडेलले ११ सय ६० मत प्राप्त गरेका थिए । यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए । अबेर राति सुरु भएको मतगणनामा सय मत भने वदर भएको थियो ।

0 comments:
Post a Comment