पुस्तकालयद्वारा एम्बुलेन्स सेवा शुरु

इलाम, –पुस्तकालयलाई दिगो र व्यवस्थित रूपमा सञ्चालनार्थ बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालयले आइतबारदेखि औपचारिक रूपमा एम्वुलेन्स सेवा शुरू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक कार्यक्रमका बीच एम्बुलेन्स सेवाको उद्घाटन गरेका छन् । पुस्तकालय आर्थिक संकटमा पर्न लागेपछि पुस्तकालयलाई व्यवस्थित तरिकाले सञ्चालनका लागि आठ लाख ७० हजारमा एम्बुलेन्स खरिद गरिएको हो ।
स्थानीयको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्दै एम्बुलेन्सबाट प्राप्त भएको आम्दानीले पुस्तकालय सञ्चालन गर्न टेवा पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको पुस्तकालय सञ्चालक समितिका अध्यक्ष सटेन्द्र जवेगूले बताए ।
एम्बुलेन्स खरिद गर्न बरबोटे गाविसमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो । विगत एक वर्षदेखि सञ्चालन गरेको उक्त अभियानमा रिड नेपालले दुई लाख, बरबोटे गाविस कार्यालयले दुई लाख १५ हजार, भूपु विद्यार्थीबाट एक लाख ५३ हजार, चन्दा सहयोगबाट पाँच लाख ६९ हजार ७५२, रसिद विक्रीबाट एक लाख २० हजार, अमर उच्च माविले ५० हजार गरी कूल १३ लाख २८ हजार नगद संकलन भएको उनले जानकारी दिए । बरबोटेबासीले २० रूपैयाँदेखि २० हजारसम्म व्यक्तिगत रूपमा र एक लाखसम्म संस्थागत सहयोग गरेका छन् । स्थानीय पूर्णहाङ जबेगूले २० हजार ५५, गृष्म सुव्वाले १० हजार, राजेन तामाङले पाँच हजार, दुर्गाराज देवानले ११ हजार गरी ५० सय जनाले आर्थिक सहयोग गरेका छन् । बरबोटे महिला सञ्जालले ४० हजार, हातेमालो अपाङ्ग स्वावलम्वन समाजले १५ हजार, पुवाखोला–१ हाइड्रोपावर लिमिटेड बरबोटेले २५ हजार, आदिवासी जनजाति महासंघ बरबोटेले १५ हजार आर्थिक सहयोग गरेका छ । यहाँका पाँच सय जना भन्दा बढीले एम्बुलेन्स खरिद गर्न आर्थिक सहयोग गरेका छन् ।
पुस्तकालयमा कर्मचारी, बजारमा आउने नयाँ–नयाँ पुस्तक, पुस्तकालयको मर्मत–सम्भार आदि विभिन्न शीर्षकमा वार्षिक दुई देखि अढाइ लाखसम्म खर्च लाग्ने गरेको छ । ‘पुस्तकालयको खर्च धान्न समस्या भएपछि स्वास्थ्य सेवा समेत पुग्ने, पुस्तकालय सञ्चालनमा पनि सहयोग पुग्ने भएकाले एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो’–पुस्तकालयका कर्मचारी नेत्र लुईंटेलले भने । पूर्वेली जीप तथा ट्याक्सी व्यवसायी संघ इलामले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । एम्बुलेन्स सेवा उद्घाटन अवसरमा पुस्तकालयका संस्थापक अध्यक्ष बरबोटे–७ का मनबहादुर गुरूङलाई नागरिक अभिनन्दन गरिएको छ । उनलाई प्रजिअ दाहालले दोसल्ला ओढाएर अभिनन्दन गरे ।
कार्यक्रममा प्रजिअ दाहाल, जाइकाका कन्ट्री डाइरेक्टर नरेन्द्र गुरुङ्ग, गैससको तर्फबाट प्रकाश अधिकारी, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष मनराज जबेगू, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका पदम पौडेल, पुस्तकालयका संस्थापक उपाध्यक्ष विष्णु घिमिरे, पूर्व गाविस सचिव सन्तोष श्रेष्ठ, पुस्तकालयका पूर्व अध्यक्ष गंगाप्रसाद भूर्तेल, गाविस सचिव यामबहादुर बस्नेत, पूर्वेली जीप तथा ट्याक्सी व्यवसायी संघका महासचिव मदन श्रेष्ठ, महिला सञ्जाल बरबोटेकी अध्यक्ष विष्णु सुब्बा, वडा नागरिक मञ्चका अध्यक्ष तीर्थ जवेगू, जनजाति महासंघ बरबोटेका अध्यक्ष ठाकुर श्रेष्ठ, पुस्तकालयका पूर्व सचिव छवि श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए भने पुस्तकालयका सदस्य सागरमणि घिमिरेले स्वागत, सह–सचिव जीतबहादुर कार्कीले पुस्तकालयको गतिविधि र कोषाध्यक्ष दिपक ढुङ्गानाले आर्थिक गतिविधि प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी मदन कोइराला, प्रहरी नायव उपरीक्षक प्रकाश रानाभाटको समेत उपस्थिति रहेको थियो । पुस्तकालयलाई जाइका कन्ट्रीका डाइरेक्टर नरेन्द्र गुरुङ्गले ६० थान पुस्तक प्रदान गरेका थिए ।
सोही कार्यक्रमका अवसरमा बरबोटे गाविसका सचिव सन्तोष श्रेष्ठलाई विदाइ गरिएको छ । श्रेष्ठलाई बरबोटे गाउँ विकास समितिको कार्यालयले मायाको चिनो प्रदान गर्दै विदाइ गरेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment