काउलीवाट उल्लेख्य कमाई


इलाम ८ वैशाखः सब्जी खेतीवाट आम्दानी बढाउदै गएका यहाँका कृषकलाई काउली खेतीले थप आम्दानी दिलाएको छ । केही वर्षयता व्यवसायिकरुपमा काउली खेती गरेका कृषकले एकै सिजनमा लाखौं आम्दानी गर्ने गरेका छन् । 
इलाम नगरपालिकास्थित खाल्डेका बालकुमार राईले २० रोपनी जमिन भाडामा लिएर अधिकांश स्थानमा काउली खेती गरेका छन् । अर्गानिक काउली उत्पादन गर्ने उन्ले काउली लगायत सागसब्जीवाट बार्षिक करिव सातलाख रुपैयाू आम्दानी गर्ने गरेको वताए । 
जिल्लामा नै अर्गानिक उत्पादन हुन थालेपछि कृषकले मूल्य पनि राम्रो पाएका छन् । जिल्ला कृषि विकास कार्यालयले प्राविधिक सेवा तथा रोग नियन्त्रणका बिषयमा किसानहरुलाई सचेत गराउँदै आएकाले ढुक्कका साथ खेती गर्न सकिएको कृषकको भनाई छ । ‘काउलीजन्य सब्जीको उत्पादन बृद्धिसँगै मूल्य पनि बढेकाले कृषकको लगानी र पहल बढेको हो,’ जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रकाशकुमार डाँगीले भने, ‘बढ्दो उत्पादनले जिल्लामा सब्जीको परनिर्भरता घट्दै गएको छ ।’  यातायातका साधनको सहजतासँगै स्थानीय बजार राम्रो भएपछि कृषकलाई खेती गर्न सहज भएको हो । कृषकले बन्दा, ब्रोकाउली र फुलकोपीको ब्यबसायिक खेती गर्दै अएका छन् । जिल्लामा दूई सय ७२ हेक्टर क्षेत्रफलमा फूलकापी, चारसय २४ हेक्टरमा बन्दाकोपी र ३७ हेक्टर क्षेत्रफलमा ब्रोकाउलीको खेती गर्दै आएको कृषिको तथ्याङ्क छ । उत्पादित काउली प्रतिकिलो ४० देखि ५० रुपैंयाँ सम्ममा बिक्री हुँदै आएको छ ।  
महेनतका साथ मलपानी पुर्याएर गरिएको काउली खेतीबाट प्रतिरोपनी १५ देखि २० हजार रुपैयाँ सम्म आम्दानी गर्न सकिने कृषकको अनुभव छ । उत्पादन भएको काउली सदरमुकाम सहित जिल्लाका बिभिन्न बजार र झापाका बजारहरुसम्म बिक्रिका लागि लगिने गरेको छ ।  जिल्लाको चुलाचुली, चमैता, साङ्रुम्बा, साखेजुङ, देउमाई नगरपालिका, माइपोखरी, बरबोटे, गोदक, इलाम नगरपालिका, सुम्बेक, सुर्योदय नगरपालिका, कोल्बुङग, पशुपतिगनरलगायत गाविसमा यसको ब्यवसायिक खेती हुँदै आएको  छ । 
सीमावर्ती गाउँका कृषकले उत्पादन गरेका काउलीलगायतका सागसब्जी भारतीय बजारमा जाने गरेको छ । गोर्खे, पशुपतिनगर, श्रीअन्तु, समालवुङ क्षेत्रमा उत्पादित काउली खरिदका लागि व्यपारीहरु घरघर आउने गरेका छन् । सीमावर्ती मानेभञ्ज्याङ, सुखिया, पशुपति फाटक, छब्बिसेलगायत बजारमा संकलन गरेर दार्जिलिङ, मिरिकहुँदै सिलिगुडीसम्म यहाँको सब्जी निर्यात हुने गरेको मानेभञ्ज्याङका सुरेन गुरुङले वताए । ‘दार्जिलिङसँग सीमा जोडिएका अधिकांश गाउँका बासिन्दाको मूख्य आय स्रोत नै सब्जी खेती हो,’ उन्ले भने, ‘पछिल्लो समयमा अन्य सब्जीको तुलनामा काउलीको उत्पादन र माग दुवै वढेको छ ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment