जमुना, ३ वैशाखः नयाँ वर्षको अवसरमा नयाँ पर्यटन गन्तव्यको रुपमा विकास हुँदै गएको जमुनाको ढाप सिमसार क्षेत्रले धेरैको मन तान्यो । घुमघाम र सांगीतिक माहोलसँगै रमेकाहरुले यसको थप विकासका लागि अझ सकृयता देखाउन स्थानीयको हिम्मत पनि बढाए । अघिल्लो वर्षदेखि निर्माण सुरु भएको पोखरी एक वर्षभित्रमा नै आर्कषक र ठूलो आकारमा विस्तार भएको छ । यो खुशीमा स्थानीयसँगै आसपासका गाविस र सदरमुकामवाट गएका सरोकारवालाले पानी संरक्षणपछि हुने फाइदा र देखिएका सकारात्मक पक्षका बारे खुलेर चर्चा गर्दै धार्मिक र सांगीतक कार्यक्रममा दिन बिताए ।
सामाजिक, धार्मिक र जातिय सद्भाव कायम गर्न स्थानीयले हिन्दु बौद्ध र किराँत परम्परा अनुसार संयुक्तरुपमा पूजाआजा गरे । ठूलो क्षेत्रफल र पानीको स्रोत पर्याप्त भएका कारण पूर्वी गौडालाई व्यवस्थित ड्याम बनाएपछि पोखरीले आकार लिन थालेको हो । चन्द्रपाल थेवे ढापसिमसार संरक्षण तथा पर्यटन विकास समिति र गाउँ विकास समितिले संयुक्तरुपमा थालेको संरक्षण अभियान पछि करिब २५ रोपनी क्षेत्रमा पानी भरिएको छ । पोखरीलाई ६० रोपनी भन्दा धेरै क्षेत्रमा फैलाउन सकिने सम्भावना छ । नयाँ पर्यटकीय केन्द्रको रुपमा गति लिदै गएको ढाप क्षेत्र जिल्लाकै उत्कृष्ट पर्यटन गन्तव्य बनाउन सक्दो सहयोग गर्ने मेची पहाडी क्षेत्र पर्यटन प्रर्वधन समितिका कार्यकारी निर्देशक केशव द्योैरालीको धारणा थियो । हाल नौ लाख रुपैयाँ सहयोग गरेको समितिले अर्को वर्ष १० लाख रुपैयाँ थप लगानी गर्ने उन्को भनाई थियो ।
खोजकर्ता प्राध्यापक युद्ध वैद्यले जमुना ऐतिहासिक महत्वको स्थानसँगै जैविक र पर्यटकीय दृष्टिले अब्बल रहेको भन्दै पोखरीको विस्तारसँगै यहाँ रहेका काँडेभ्याकुर, रेडपाण्डासहितका दुर्लभ चराचुरुङ्गी र जनवारको संरक्षण गर्न स्थानीयलाई सुझाए । राजनीतिकर्मी केदार थापाले यहाँको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
पर्यटनको अथाहा सम्भावना भएर पनि ओझेल परेको जमुनाको विकासमा पोखरी कोषेढुङ्गा हुनेमा अधिकांश सहभागीको विश्वास थियो । पोखरी निर्माणपछि विभिन्न प्रकारका नौला चराचुरुङ्गीहरु पानीमा रमाउन आउन थालेको स्थानीय अर्जुन खनालले बताए । अघिल्लो वर्ष श्रमदान गरेर पोखरी बनाउन थालेका स्थानीयले पोखरी क्षेत्रको अवलोकनसँगै हराभरा चियाबारी र मनोरम प्राकृतिक वातावरणको आनन्द लिए । आयोजित सांस्कृतिक कार्यक्रममा लिम्वु जातिको ढोल नाच र गुरुङ् जातिको नृत्यसँगै विविध प्रस्तुती गरिएको थियो । राइजिङस्टार विरेन फागोसहितका कलाकारले गीत प्रस्तुत गरेका थिए । सदरमुकामदेखि २२ किलोमिटर उत्तरमा पर्ने यो गाविसमा अव्यवस्थित सडक मुस्किलले मात्र सवारी साधन गुड्ने गरेको गुनासो गर्दै स्थानीयले सडक सुधार गर्न माग गरेका छन् ।
0 comments:
Post a Comment