अमेरिका भासिएका यम बराल भन्छन्, ‘मैले आफैंलाई चिन्न सकिनँ’

इलामः एउटा समय थियो नेपाली संगीतमा– रामकृष्ण ढकाल, यम बराल र राजेशपायल राईको । तीनजना गायकलाई जोडेर अनेक समाचार बन्थे, उनीहरुका गीत एक से एक हिट हुन्थे ।
समयले कोल्टे फेर्‍यो । रामकृष्ण र राजेशपायलकै कडा प्रतिस्पर्धी यम बराल अमेरिका भासिए । नयाँ पुस्ताले यम बराल बिर्सन  थालिसक्यो । उनले पनि सायदै सोचेका थिएनन् कि त्यो उचाई पाउनका लागि फेरि नयाँ संघर्ष सुरु गर्नुपर्छ भनेर ।
समयमा नेपाली आधुनिक संगीतका पर्याय मानिएका गायक यम बरालले फेरि सांगीतिक संघर्ष गर्ने रणनीति बनाएका छन् । उनी नयाँ यम बराल भएर जन्मिने योजना बनाउँदैछन् नेपाली संगीतको क्षेत्रमा ।
‘मलाई अहिले म विगतमा कतै अल्मलिएको पो थिए कि जस्तो भान हुन्छ,’ नयाँ बर्षको कार्यक्रम गर्न नेपालबाट अष्ट्रेलिया आइपुगेका उनले ड्रेसिङरुपमा कान्तिपुरसँग आफ्नो कुरा खोले । उनलाई अहिले पनि करिब १० बर्षअघि नेपाली आधुनिक संगीत क्षेत्रमा राज गरेको यम बराल नै हुँ भन्ने लाग्छ ।
बराललाई आफू समयको अन्तरालसँगै कतै चु्केको जस्तो भान भने हुन्छ । ‘हो सायद मैले समयलाई चिन्न र त्यसैसँग हिड्न नसकेको हुनसक्छ । उनी स्वीकार्दै भन्छन्, ‘मैले आफूलाई संगीत क्षेत्रमा नयाँ किसिमले लैजानुपर्छ र त्यसको लागि तयार बनिसकेको छु ।’
यमले आफ्नो परिवार बिग्रिएकोमा गुनासो मात्र गरेनन् कि आफ्नो सानो छोराको भविष्य सोचेर चिन्तित समेत बने । आमा र बाबु आफैँ हुनुपर्ने गम्भीर दायित्वले समेत संगीतलाई अलि ध्यान नदिएको हो कि जस्तो लाग्छ उनलाई । तर, उनी अब संगीतमा जीवन समर्पण गर्न चाहन्छन्, ‘जसका लागि आफू जन्मिएको हुँ’ जस्तो लाग्छ उनलाई । आफूले त्यस समयमा बनाएको स्रोता, बजार र समकालिन साथीहरुको सम्बन्धलाई नविकरण गर्नुपर्ने आवश्यक्ता देखेका छन त्यो पनि परिमार्जित रुपमा ।  
‘अबको नयाँ यम बराललाई अवसरको खाँचो छ,’ उनले आशावादी हुँदै भने । उनी नयाँ र पुराना सबै पुस्ताका गायक, संगीतकार, चलचित्र निर्माता लगायतका सबै कलाकारसँग फेरि एकचोटी काम गर्न चाहन्छन् । आफ्नो त्यो समयको सम्बन्ध र बजार परिर्वन भइसकेको अनुभव उनको छ, त्यसैले समेत उनले ती सबैसँग काम गर्न आवश्यक बनिसकेको ठान्छन् । उनी यम बराल पलायन भएर विदेश भासियो भन्ने नकारात्मक जमातलाई जवाफ समेत दिन चाहन्छन् । ‘मैले संगीत छोडेर कही जाने सोच्न समेत सक्तिन,’ उनी थप्छन्, ‘संगीत मेरो जीवन थियो र जीवन हो ।’
अष्ट्रेलियामा उनलाई यहाँका नेपाली स्रोताहरुले गरेको मायाले नयाँ हौसला दिएको उनी ठान्छन् । यम बराल नेपाली संगीतमा फेरि नयाँ किसिमले आउनुपर्छ भन्ने सोच सबैको रहेकाले समेत आफु अब नयाँ किसिमले लागिपर्ने उनको योजना छ ।
अर्कोतिर एउटा गायकमा हुनुपर्ने लगन, तपस्या र ज्ञान आफूसँग रहेकाले सफल बन्ने उनी ठान्छन् । ‘तरपनि समय भने चिन्नैपर्ने रै’छ,’ बराल विगतप्रति पछुतो मान्छन्, ‘विगतका नराम्रा कुराहरुलाई मैले शिक्षाको रुपमा लिएको छु ।’
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment