मनिषा चम्लगाई/ तारा पराजुली
मंगलबारे, ६ वैशाखः इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिका स्थित मंगलबारे बजारमा फोहोर थुप्रिएपछि स्थानिय बासिन्दा रोग फैलिने भयले त्रसित भएका छन् । बजारको बिच भागमा फोहोरको थुप्रो लाग्दा समेत सम्बन्धित निकाय मौन रहेको उनीहरुको भनाई छ । फोहोरका कारण बजार आसपासमा दुर्गन्ध फैलिएको र रोग बढ्ने जानकारी गराउँदा समेत नगरपालिकाले फोहोर उठाउने विषयमा चासो नराखेको स्थानीय शेखर मुखियाको भनाई । उनका अनुसार पटक–पटक सो विषयमा नगरपालिकालाई दबाब दिँदा पनि सम्बन्धित निकाय कानमा तेल लगाएर बसेको छ ।
फोहोर उठाउनकालागि नपाले चासो नराखेकै कारण यस्तो परिस्थिती निम्तिएको स्थानिय बताउँछन् । फोहोरका कारण बजार क्षेत्र नै प्रदुषित भएकाले तत्काल फोहोर उठाइनु पर्ने स्थानिय तारा थापा बताउँछन् । उनी भन्छन् ‘नगरपालिकाले डम्पिङसाइटको सुविधा तत्काल दिनु पर्छ ।’ त्यस्तै मंगलबारे बजारकै स्थानिय धिरेन श्रेष्ठ राजनैतिक दलको निष्किृयताका कारण यस्तो परिस्थिति निम्तिएको बताउँछन् । राजनैतिक दलहरु फोहोर उठाउने भन्दा पनि आफ्नै स्वार्थमा अडिग हुने गरेको उनको भनाई छ । श्रेष्ठ भन्छन् ‘फोहोर बोक्ने ट्याक्टर फोहोर नै नबोकी खिया लाग्ने अवस्थामा पुगिसक्यो, फोहोर उठाउने विषयमा कसैले चासो राख्दैनन् ।’ फोहोर उठाउने विषयमा राजनैतिक दल, स्थानिय बासिन्दा र नगरपालिका एकजुट भएर लाग्नु पर्ने उनको भनाई छ । बजारको फोहोर तत्काल नहटाइए पानी परेपछि अझ समस्या निम्तिने स्थानिय सुजिना आचार्यको भनाई छ । आचार्यले प्रतिप्रश्न गर्दै भनिन् ‘नगरपालिका नाम मात्रको हो कि काम पनि गरेर देखाउने हो ?’
यस विषयमा देउमाई नगरपालिकाका कार्यकारी अधिकृत केशवकुमार ढकालले फोहोर उठाउने विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेको जानकारी दिए । फोहोर फाल्ने ठाउँ (ल्याण्डफिल्ड साइट) निर्माणमा विवाद भएका कारण फोहोर नउठेको अधिकृत ढकालको भनाई छ । उनका अनुसार सुरुमा फोहोर फाल्ने ठाउँका विषयमा राजनैतिक दल र स्थानियसँग कुरा गर्दा देनपाकै भगवती उमावि धुसेनी नजिकै फोहोर फाल्ने सम्झौता भएको थियो । काम थाल्ने बेलामा याक्थुम चुम्लुङ देउमाई नगरपालिका अध्यक्ष भवानी योङहाङ लगायत केही व्यक्तिहरुले विरोध गरेका कारण फोहोर फाल्ने स्थानकै विकल्प खोजिरहेको हुँदा फोहोर उठ्न ढिलाई भएको उनको भनाई छ । विरोध गर्ने व्यक्तिहरुलाई कि विकल्प खोज्न, कि मागका विषयमा स्पष्ट भएर भेलामा आउन आग्रह गरिएको अधिकृत ढकालको भनाई छ ।
उनका अनुसार यस अघि भदौ ११ र असोज १ गते सो विषयमा औपचारिक रुपमा छलफल भएको र अनौपचारिक रुपमा पनि पटक–पटक छलफल भइरहेको छ । फोहोर उठाउने जिम्मा नगरपालिकाको मात्र नभएर स्थानियको पनि भएको ढकालले बताए । विरोध गरेर समस्या समाधान नहुने बताउँदै उनले समस्या समाधानमा लाग्न समेत आग्रह गरे ।
0 comments:
Post a Comment