थलिएका चीज उद्योग तङ्ग्रिदै

इलाम, ७ बैशाखः भुकम्प र नाकाबन्दीले उत्पादित चीजको माग नहुँदा आर्थिक अभावले शिथिल भएका पूर्वी नेपालका चीज उद्योग पर्यटकको चहलपहलसँगै तंग्रिन थालेका छन् । बैशाख १२ को भुकम्प र त्यसपछिको नाकाबन्दीका कारण नेपाल असुरक्षित भएको भन्दै पर्यटन आवागमन नुहँदा पूर्वी नेपालका चीज उद्योग पनि संकटमा परेका थिए । 
पोखरा, काठमाडौँ लगायत देशका प्रमुख सहरबाट माग हुने चीज पयर्टकले खाने परिकार बनाउन प्रयोग हुँदै आएको छ । नाकाबन्दी खुलेसँगै तेस्रो मुलुकका पर्यटकको आवागमन बृद्धि भएपछि एकमहिना अघिसम्म गोदाममा खचाखच थन्क्याएर राखेको चीज धमाधम बिक्री हुँदै आएको हिमालय चीज एसोसिएसनका उपाध्यक्ष तुलु तमाङले बताए । 
भुकम्पपछि बजारमा चीजको माग नहुँदा हामी उद्योग बन्द गर्ने अवस्थामा पुगेका थियौँ– उपाध्यक्ष तामाङले भने– पर्यटक आउने सिजनमा झनै भारतले नाकाबन्दी गरेपछि त हाम्रो उत्पादन कौडीको भाउमा बिक्री गर्नुपरेको थियो । युरोपियन देशले नेपाल असुरक्षित भएको भन्दै आफ्ना नागरिकलाई भ्रमणका लागि नेपाल नजान गरेको आग्रह बिस्तारै खुकुलो भएकाले बजारमा चीजको माग पनि बढेको हिमालयन चीज एशोसिएसनका अध्यक्ष रिन्जी शेर्पाले बताए । नाकाबन्दीको  समयमा गोदाममा नआटेर झापाको बिर्तामोड स्थित कोल्डस्टोरमा राख्नु परेको थियो–अध्यक्ष शेर्पाले भने–माग राम्रो भएकाले देशका प्रमुख शहरहरुमा निर्यात राम्रो भइरहेको छ ।    
गाईको दूध किसानबाट संकलन गरि प्रशोधनबाट पूर्वी नेपालका उद्योगीले चीज उत्पादन गर्दै आएका छन् । पूर्वी नेपालको इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा दैनिक एक लाख लिटर दूध प्रशोधन गरि ४० वटा दूग्ध उद्योगले चीज उत्पादन गर्दै आएका छन् । विदेशी पर्यटकले अति मन पराउने चीज प्रतिकेजी सात सय रुपैयाँमा बिक्री हुँदै आएको छ ।   

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment