इलाम पर्यटन महोत्सव शुरु, चार लाखको कारोवार गर्ने लक्ष


इलाम ३० चैतः इलाम सदरमुकाममा मंगलबारबाट इलाम पर्यटन महोत्सव सुरु भएको छ । इलाम उद्योग वाणिज्य संघको महिला उद्यमी विकास इकाई र पर्यटन प्रवद्र्धन सरोकार समिति इलामको संयुक्त आयोजनामा भएको महोत्सव आज बुधबार सम्म चल्ने जनाइएको छ । नयाँ वर्ष २०७३ को अवसरमा भएको महोत्सवले उद्योगी, व्यापारीको व्यापार प्रवर्धनमा सहयोग पुग्ने र इलाममा आन्तरिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने आशा आयोजकले लिएको छ । वाणिज्य संघको महिला इकाइले विगत वर्षहरुमा स्थानिय उत्पादनलाई जोड दिए पनि यस वर्षदेखि पर्यटनलाई समेत अगाडि बढाउने लक्षले महोत्सव आयोजना गरिएको आयोजक महिला इकाईकी अध्यक्ष दिव्या भट्टराईले जानकारी दिइन् ।
महोत्सव अन्तर्गत मंगलबार स्थानिय कलाकारहरुले इलाम चौक बजारमा आफ्ना कला तथा गला प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा युनिक डान्स सेन्टर, युनिभर्सल डान्स सेन्टर लगायत विभिन्न बैन्डहरुको प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रम संयोजक रिना घिमिरेले जानकारी दिइन् ।
महोत्सवमा स्थानिय स्तरमा उत्पादन गरिएका विभिन्न कृषिजन्य साममग्री पनि राखिएको छ । १२ वटा स्टल मार्फत करिब चार लाख रुपैंयाँको कारोवार हुने बताइएको छ ।
महोत्सवलाई जिविस इलाम, इलाम नगरपालिका, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति इलाम, पुर्वी पहाडी पर्यापर्यटन प्रवद्र्धन समिति, केन्द्रीय चिया सहकारी संघ, रात्री बस ब्यवसायी संघ, होटल एशोसिएसन इलाम, औषधी ब्यवसायी संघ, क्लब ओएसिस लगायतले सहयोग गरेका छन् । विगत चार वर्ष सम्म वाणिज्य संघको महिला इकाइले मात्र कार्यक्रम आयोजना गर्ने गरेको भए पनि यस वर्ष विभिन्न संघ संस्थाहरुले सहयोग गरेका हुन् । महोत्सव इकाई अध्यक्ष भट्टराईको अध्यक्षता तथा इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दहालको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment