इलामका सहकारीमा बाह्य संस्थाको १२ करोड

इलाम २९ चैतः इलामका विभिन्न सहकारी संस्थाहरुमा बाह्य बैंक तथा वित्तीय संस्थाहरुले १२ करोड रुपैयाँ लगानी गरेका छन् ।  तेश्रो चौमासिकको अन्त्यसम्ममा इलामका ३९ वटा सहकारी संस्थाहरुमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको ऋण रकम१२ करोड पुगेको हो । लगानी गर्नेहरुमा राष्ट्रिय सहकारी बैंक, एनएमबी बैंक, ग्रामिण लघुवित्त विकास केन्द्र (आरएमडीसी),फष्र्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंक, प्राइम बैंक र नेपाल राष्ट्र बैंक रहेका छन् । 
सेवा प्रदायक ति बैंकहरुमध्ये राष्ट्रिय सहकारी बैंकले मात्र इलाममा शाखा विस्तार गरि सेवा पु¥याउदै आएको छ । इलाम जिल्लामा १४ वटा थोक कर्जा उपलब्ध गराउन पाउने अख्तियारप्राप्त बैंकको शाखा भएपनि हाल सहकारी बैंकले मात्र थोककर्जाको कारोबार गर्दै आएको हो ।  ती बैंकहरुले नेपाल बैंकको सर्कुलर बमोजिम विपन्न बर्गलाई लक्षित गरि सहकारीमार्फत कर्जा उपलब्ध गराउदै आएका हुन् । सहकारी संस्थाहरुलाई थोक कर्जा मात्र लगानी गर्ने उद्देश्यले स्थापित भएको सहकारी बैंक पछिल्लो समयमा आक्रमक रुपमा इलामका ग्रामिण भेकमा लगानी शुरु गरेको छ । 
उसले जिल्लाका एक दर्जन बढी सहकारी संस्थाहरुलाई तेश्रो चौमासिकको अन्त्यसम्ममा थोक कर्जा र लघुवित्त कर्जा उपलब्ध गराएको छ । पछिल्लो समयमा बैंकको शेयर सदस्य बन्ने र थोक कर्जा माग गर्ने सहकारीको संख्यामा उल्लेख्य बृद्धि भएको बैंकका शाखा प्रबन्धक उपेन्द्र दहालले बताए । 
उनले भने, “थोक कर्जा लिएर सहकारीले आफ्नो पुँजी, बचत र नाफा बृद्धि गरेको देखेर अन्य सहकारीहरुको थोक कर्जा मोह इलाममा बढ्दै गएको देखिन्छ ।” सहकारी वैंकको मात्र इलाममा ४ करोड ४७ लाख थोक कर्जा सहकारीमार्फत परिचालित छ । ग्रामिण लघुवित्त विकास केन्द्र (आरएमडीसी)सँग थोक कर्जा लिएर आफ्नो सेवा विस्तार गरिरहेको प्रकृति कृषि सहकारी संस्थाले थोक कर्जा लिएकै कारण संस्थाले स्थापनाको छोटो अवधिमै प्रगति गर्न सफल भएको स्विकारेको छ । स्थापनाको ३ बर्षमै शेयर पुँजी एक करोड संकलन गरेको प्रकृतिले आफ्नो एक हजार सदस्यहरुलाई ऋण सेवा, जिविकोपार्जन तालिम र वित्तीय साक्षरता तालिम उपलब्ध गराइसकेको छ । 
व्यवसायिक योजना लिएर आएका शेयर सदस्यले मागेजति रकम दिन नसक्ने सहकारीको सदस्य बनिरहन सदस्य बाध्य नहुने धारणा राख्दै प्रकृतिका व्यवस्थापक लिला थापाले भने, “सहकारी मापदण्ड र सहकारीको विनियमले तोकेको हदसम्म हामीले शेयर सदस्यलाई ऋण रकम उपलब्ध गराएका छौ । बाह्य थोक कर्जाका कारण नै यो सम्भव भएको हो ।” आफ्ना शेयर सदस्यलाई साना तथा मझौला उद्यमी बनाउने उद्देश्य राखेको उक्त सहकारी संस्थाले ५ बर्षमा शेयर रकम ५ करोड संकलन गर्ने लक्ष राखेको छ । 
पुर्वी पहाडमै पहिलो पटक ५ वटा सहकारी संस्था मर्जर भई बनेको सफल बहुउद्देश्यीय सहकारी संस्थाले मर्जर हुदा तीन वटा सहकारी संस्थाको थोक कर्जा दायित्व लिएर आएको थियो । एनएमबी बैंक, जिल्ला विकास समितिको स्थानीय विकास कोष र युवा स्वरोजगार कोषको ऋण आफ्ना सदस्यहरुमाझ लगानी गरेको उक्त सहकारीले मर्जरपछि पुन सदस्यको माग बमोजिम सहकारी बैंकमार्फत थोक कर्जा थप गरि सदस्यहरुमा वितरण गरेको छ । 
बाह्य ऋणको सहयोगले गाउँमा चर्को व्याजदरमा ऋण लगानी गर्ने लघुवित्त बैंकहरुलाई विस्थापित गर्ने लक्ष राखेको सहकारीका व्यवस्थापक भीम राईले बताए । उनले भने, “सरल व्याजमा थोक कर्जा लिएर आफ्ना सदस्यलाई पनि सरल व्याजमा लगानी गरेपछि सहकारीमा आकर्षण पनि बढ्दै गएको छ ।” समृद्ध पहाड परियोजनाले चार बर्ष पहिले पुर्वी पहाडमा बैंक तथा वित्तीय संस्थाहरुलाई थोक कर्जा लगानी गर्ने वातावरण तयार गरेपछि जिल्लामा थोकर्जाको आकर्षण बढेको हो । 
महिला जागरण संघ इलामले सञ्चालन गरेको विभिन्न परियोजनाहरुले थोक कर्जा प्रबद्र्धन गर्न र प्रत्येक सहकारीका ऋणी सदस्यलाई वित्तीय साक्षरता तालिम उपलब्ध गराउने लक्ष राखि परियोजना सञ्चालन गरिरहेको छ । समृद्ध पहाड परियोजनाले सञ्चालन गरेको परियोजनाका कारण पनि वित्तीय संस्थाहरु आकर्षित भई विना धितो ऋण लगानी गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुसँग थोक कर्जा लिएर लगानी गरि आफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउने लहर इलामका सहकारी संस्थाहरुमा चल्न थालेको छ । विगत चार बर्षयता सहकारी संस्थाहरुलाई ठूला वित्तीय संस्थाहरुले थोक कर्जा लगानी गर्न थालेपछि इलामका सहकारी संस्थाहरुको कारोबारमा पनि बृद्धि भएको सहकारी संस्थाका सञ्चालनहरुले बताएका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment