इलाम काङ्ग्रेसको ऐतिहासिक पाटो, “बन्दुक छातिमाथि तेर्साइयो, खुकुरी गर्दनमा राखियो र कोर्रा हान्न थालियो”

इलाम, ३ जेठः राजनीतिक दृष्टिकोणबाट हेर्दा २००७ साललाई नेपालको इतिहासमा आधुनिक नेपालको युग परिवर्तनको कालखण्डको रुपमा लिइन्छ । १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य भइ प्रजातन्त्रको स्थापना भएको थियो । नेपाली काङ्गे्रसले सशस्त्र क्रान्तिको माध्यमबाट प्रजातन्त्रको स्थापना गरेको थियो जसको नेता नेपाली काङ्गे्रसका संस्थापक वीपी कोइराला थिए । वीपी कोइराला जसलाई आजसम्म पनि नेपाली जनता उतिकै आदर गर्ने नाम उनैले आह्वान गरको सशत्र क्रान्तिमा हजारौ युवाले साथ दिएका थिए केवल प्रजातन्त्र स्थापनाका खातिर । वीपी जसलाई भविष्यमा पनि नेपालीहरु सम्झिरहने छन् । तर के वीपी आफू एक्लैको कारणले मात्र नेपालको इतिहासमा सम्झनयोग्य नाम भएको हो या वीपीलाई वीपी बनाउन अरु कसैको पनि भुमिका पनि थियो । हुन त जो शक्तिमा छ, इतिहास पनि त्यसैको लेखिँदै आएको छ । वीपीलाई वीपी बनाउने केही ब्यक्तित्वहरु अहिले पनि हाम्रो समाजमा छन्, तिनै मध्येका एक हुन् इलाम बजारका पूर्णलाल श्रेष्ठ, २००७को सशस्त्र क्रान्तिका एक सिपाही । यो एउटा स्तम्भमा पूर्णलाल श्रेष्ठको जीवन कथा अटाउन सम्भव त छैन तर उहाँको बाल्यवस्था र सात सालको सङ्घर्षलाई हामीले यसपटक समेटेका छौं । वि.सं.१९८६मा इलाम बजारमा जन्मेका पुर्णलाल श्रेष्ठ वर्षले ८६ का भए । उनका बुबा सरकारी अस्पतालका कर्मचारी भएकाले एक ठाउँदेखि अर्को ठाउँमा सरुवा भइरहन्थ्यो, त्यसैले केटाकेटीमा बुबाको सरुवा जताजता हुन्थ्यो उनी पनि बुवासँग त्यतै तिर गइरहन्थे । आफु ३÷४ वर्षको हुँदा बुबाको इलामबाट धनकुटा सरुवा भयो र उनलाई पनि बुबाले त्यतैतिर लिएर जानु भयो । धनकुटामा रहँदै वहाँको बुबाले बराह क्षेत्र घुमाउन लिएर जानुभयो । जहाँ वहाँलाई बुबाको काखमा बसेर डुङ्गा चढेको सम्झना छ । धनकुटा पछि बुबाको सरुवा बिराटनगर भयो र मलाई पनि सँगसँगै लिएर जानुभयो । त्यहीबेला मैले अक्षर सिकें । म अहिले सम्झन्छु, म जहाँ बस्थे त्यस अगाडीको घरहरु त कोइराला परिवारको पो रहेछ । ९० सालको भुकम्प जाँदा म बिराटनगरनै थिए । बिराटनगरको केहि समयको बसाइसँगै बुवाको सरुवा इलाम भयो र हामी इलाम आयौं । केही समयको इलाम बसाईपछि फेरी बुवाको सरुवा पाल्पाको तानसेन भयो, बुवाले हामीलाई पनि सँगसँगै लानुभयो । पाल्पामा रुद्र शमशेर बडाहाकिम थिए । रुद्र शमशेरले आफ्नो छोराछोरी पढाउन शिक्षक राखेका थिए, हो त्यही बेला मैले पनि चार पाँच महिना बडाहाकिमका छोराछोरी सँगसँगै ती शिक्षक सँग पढे । पाल्पा पछि फेरी बुवाको सरुवा इलाम भयो, यो २००४ सालतिरको कुरा हो । २००४ सालमै हालको आदर्श मावि खुल्यो र म ६ कक्षामा भर्ना भए । आदर्श माविको पहिलो ब्याजको विद्यार्थी मै हुँ र पहिलो भर्ना पनि मेरो नै भएको थियो । त्यही बेला देखि म प्रजातन्त्रको लडाँइमा लागें । २००४ सालदेखि नै हामी छात्रहरु सङ्गठित हुन थाल्यौ । म अलिक ठूलो भएकोले सबै कामहरु मेरो नेतृत्वमा नै हुन्थ्यो । हामी स्वयमसेवी कामहरु पनि गथ्र्यौ । माइबेनी मेलामा हामी प्राथमिक उपचारको टोली लिएर जान्थ्यौ । हामी परोपकार संघको कार्यकर्ता थियौ ।
२००७ सालमा अरुभन्दा म अलिक ठूलो भएकोले राजनीतिका सबै कामहरु मेरै नेतृत्वमा हुन्थ्यो, त्यसैले प्रशासनले पनि मेरो अलिक बढि निगरानी गरिरहेको थियो । हामी पनि प्रशासनलाई चिढ्याउने गरी नै काम गथ्र्यौ त्यो बेला । मेरी बहिनीको विवाह झापा शनिश्चरे निवासी दलकृष्ण श्रेष्ठसँग भएको थियो । २००७ को दशैंको कोजाग्रत पुर्णिमाको दिन बहिनी ज्वाइँ टिका लगाउन आउनुभएको थियो । ज्वाइँ दलकृष्ण शनिश्चरेका काङ्ग्रेस कार्यकर्ता थिए, टिका लगाउन आउँदा पार्टीका प्रचार सामाग्री पनि सँगसँगै लिएर आएछन् । त्यो प्रचार सामाग्रीलाई धोबीधाराका काकु श्रेष्ठ लगायतकालाई छर्न लगायौ तर प्रशासनले काकुलाई पक्राउ गरिहालेछ । काकुले बयानमा ज्वाइँ दलकृष्ण र म समेतको संलग्नतामा यो काम भएको भनि बयान दिएछन् । त्यसको लगत्तै ११ बजे राति ज्वाइँलाई पक्राउ गरियो भने मलाई चै उज्यालो हुने बेलामा ।
पक्राउ गरेर हामीलाई लगियो र दुईवटा ईँटा माथि टेक्न लगाइयो, बन्दुक छातिमाथि तेर्साइयो, खुकुरी गर्दनमा राखियो र कोर्रा लिएर पिट्न थालियो । त्यो बेला विज्ञान शमशेर बडाहाकिम थिए । पदमबहादुर नाम गरेका मेजर थिए । मलाई बयान लिने अदालतको खरदार थिए मेरो साथीको बुवा । मलाई यातना दिएको, कोर्रा हानेको देखेर उहाँको आँखाबाट आँशु आएको थियो । यसको भोलिपल्ट हालको जिल्ला विकास समिति जहाँ जेल थियो त्यहाँ ल्याए र ११ दिन सम्म त्यहि राखे । त्यसपछि धनकुटा चलान गरियो । काग तिहारको दिन थियो यहाँबाट हामीलाई लिएर हिँडेको दिन । बाटोमा पनि अति यातना दिने काम भएको थियो । धनकुटा लैजाने क्रममा पहिलो दिन एकतप्पामा राख्यो बाख्राको खोरमा । खोर सफा नै थियो । दोश्रो, तेस्रो, चौथो दिन कहाँ राख्यो मलाई सम्झना छैन । बाटोमा मान्छेहरु हेर्न आउँथे, अहिले पनि म सम्झन्छु एक जना महिलाले भनेको कुरा, उसले भनेकी थिइन्, “ए काङ्ग्रेस ल्याउँछ भनेर हेर्न आएको त हामी जस्तै मान्छे पो रै छ ।”
त्यो बेला धनकुटामा पनि काङ्ग्रेसको फौज थियो तर बाहिर देखा परिसकेको थिएन । फौजले पुरै धनकुटा घेरिसकेको अवस्था थियो । भोजपुरमा पनि फायरिङ चलेको थियो । काङ्गे्रस र राणाबिच लँडाई चलिरहेको थियो, हामी स्पष्ट तोप पड्केको सुन्थ्यौ । सहायक बडाहाकिम लोचन शमशेर काङ्गे्रसलाई बदनाम गर्न लागि परेका थिए । उसको योजना काङ्ग्रेसलाई सफल हुन नदिने नै थियो । हामीलाई पक्राउ गरेर जेलमा राखेको चार महिना पछि राणा र काङ्ग्रेस बिच सम्झौता भयो, जसलाई दिल्ली सम्झौता समेत भनिन्छ । प्लेनबाट सम्झौतामा भएका कुराहरुलाई प्रचार गरियो, जुन हामीले जेलबाट देखेका थियौ । हामीलाई पनि दिल्ली सम्झौतापछि छोडियो । जुन दिन हामीलाई छोडियो, हामीले त्यसै दिन धनकुटा छोड्नुपर्ने उर्दी जारी भयो तर त्यही दिन किन हामी धनकुटा छोडथ्यौ र ! हामीलाई ज्ञानेन्द्रबहादुर कार्की, शिव श्रेष्ठ, गणेश श्रेष्ठ लगायतका काङ्ग्रेस साथीहरुले धनकुटामा नै बस्ने ब्यवस्था मिलाइदिनुभयो ।
भोलिपल्ट बिहानै सद्दामघाट हुँदै हामीले हाम्रो यात्रा तय ग¥यौ । काङ्ग्रेस फौज ट्रेञ्च खनेर बसेको रैछ सद्दामघाटमा । हामी त्यहाँ पुग्ने बित्तिकै हामीलाई कहाँ जाने, किन यहाँ आएको भन्दै केरकार गरे । हामीलाई चिनेका थिएनन् । हामीले पनि सबै कुरा बतायौ अनि हामी घुलमिल भयौ । खसी काटेर खसीको मासुसँग भात खुवाए साथीहरुले त्यहाँ । त्यसपछि हामी बोधी भन्ने ठाउँ हुँदै धरानतर्फ लाग्यौ । धरान हुँदै बिराटनगर लाग्यौ । बिराटनगरमा हामी दुई दिन बस्यौ । दुई दिन त्यहाँ बस्दा हामीले काङ्ग्रेस फौजसँग रहेर पुरै बिराटनगरको पेट्रोलिङ पनि ग¥यौ । बिराटनगरबाट छुट्दा बाटो खर्च बापत हामीलाई केशव कोइरालाले सात सात रुपैंयाँ दिए । बिराटनगरबाट हामी इलाम कब्जा गर्ने भन्दै किसनगञ्ज, भद्रपुर, शनिश्चरे हुँदै आइतबारे आइपुग्यौ । नरेन्द्रनाथ बाँस्तोलाहरु भारत हुँदै आइतबारे आइपुगेका थिए । नामसालिङको शुक्रबारेमा हाम्रो क्याम्प थियो । आइतबारेबाट हामी नामसालिङतर्फ लाग्यौ । नामसालिङमा रहँदा अब बडाहाकिमसँग कुरा गर्ने भन्ने सल्लाह भयो, त्यसका लागि मलाई जिम्मा दिए साथीहरुले । अनि माइबेनीको बाटो हुँदै म इलाम आइपुगे । त्यही बेला मैले दलितले छोएको पानी खाएको छु । हाइस्कुल छेउमा नारायणदासको चौतारी थियो त्यहाँ मलाई कमल शिवाले पानी दिएका थिए । हाम्रा सहकर्मी जनकदेव शाक्य थिए । जनकदेव र म बडाहाकिमकोमा गयौ र कुरा गर्न थाल्यौ । बडाहाकिमसँगै मेजर पनि सँगै थिए । मेजरले आफ्नो पेस्तोल झिकेर भाँचे, पेस्तोलबाट गोली निकाले र टेबलमा राखे, यसरी आत्मसमर्पण गरेका थिए हामीहरुसँग । त्यही बेला मैले एउटा पिस्तोल चै लिए । हाम्रा सहकर्मी एसिष्टेण्ट जेनरल अफ कमाण्डर विक्रम लामा हामीसँगै थिए । भोलिपल्ट हामी कब्जा गर्न भन्दै बडाहाकिमको कार्यालयतर्फ लाग्यौ । एसिष्टेण्ट जेनरल अफ कमाण्डर विक्रम चै बडाहाकिम बसेतिर लागे म चै हतियार भए तर्फ । त्यसपछि हामीले बडाहाकिमको कार्यालयमा काङ्ग्रेसको झण्डा गाड्यौ र हाम्रो सेनाको कब्जामा लियौ । त्यसै दिन हामी नामसालिङ गएर बडाहाकिमले छोडने भए भन्ने कुराको खबर ग¥यौ र भोलिपल्ट सेनाको फौजसँगै हामी पनि नामसालिङबाट इलाम आयौ र औपचारिक रुपमा नै इलाम कब्जाको घोषणा ग¥यौ । त्यसपछि त बजारका, वारिपारीका सबै मानिसहरु आए । अबिर जात्रा, आमसभा ग¥यौ । पुरै बजार अनि इलाम काङ्ग्रेसमय भयो ।
यसपटक हामीले “सिनियर सिटिजन” स्तम्भमा आफै इलामको इतिहास बनेका एक हस्ती पुर्णलाल श्रेष्ठसँगको भलाकुसारी प्रस्तुत गरेका छौ । हाम्रा सहकर्मी सोम आचार्यले श्रेष्ठसँग भलाकुसारी गरि लेख्यपत्रिकरण गर्नुभएको हो । अन्र्तवार्ताको क्रममा हामीलाई यस्तो पनि लाग्यो कि इलामका आफै इतिहास बनेका पूर्णलाल श्रेष्ठ जस्ता हस्तीहरु जो जो हुनुहुन्छ, वहाँहरुको अडियो भिडियो रेकर्ड गरि सङग्रहित गरिनु जरुरी छ । सक्छ, यो काम सम्बन्धित सामाजिक संस्थाहरुले गरोस्, या त सम्बन्धित पार्टीले या त नजिकका नातेदारहरुले । हामीले २ घण्टा वहाँहरु जस्ता व्यक्तिहरुसँग भलाकुसारी गर्दा कति नै जानकारी लिएर तपाई पाठकहरुसामु पस्कन सक्यौ होला र, सामाजिक उत्तरदायित्व निभाउन कै लागि पनि कसैले हाम्रो कामना पुरा गरोस् । श्रेष्ठको दीर्घजीवनको शुभकामना ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

1 comments:

  1. yo itihas nawa kangrishi harule thaha paunu ati jaruri chaa jasle purana kangreshi yodhaharuko khoji khoji samman garun ani matra uniharuko pani kangresh party ma uchit yogdan ko kadar hunechha.

    ReplyDelete