इलाम नगरपालिका एमसिपीएममा फेल, इलाम नपाले शर्तमा आधारित थप अनुदान नपाउने


इलाम, ३० असारः नेपाल सरकारले स्थानीय निकायहरुलाई तोकेको न्यूनतम सर्त समेत इलाम नगरपालिका इलामले पालना नगरेको स्थानीय विकास मन्त्रालयको स्थानीय निकाय वित्तीय आयोगले जनाएको छ । आयोगले बिहीबार सार्वजनिक गरेको देशभरका स्थानीय निकायहरुको नतिजामा इलाम नगरपालिका फेल भएको हो । यस विषयमा नगरपालिकालाई प्रश्न गर्दा नतिजा सर्वजनिक भएको सूचना अफुहरुले नपाएको वताइयो । फेल भएको कारण अब आउने आर्थिक बर्षमा इलाम नगरपालिकाले सर्तमा आधारित थप अनुदान नपाउने भएको छ । यससँगै इलाम नगरपालिकाभित्रको सुसासनमा प्रश्न उठ्नु स्वभाविक मानिएको छ । इलामसँगै काठमाडौं महानगरपालिका, टीकापुर, धुलिखेल, तुलसीपुर, त्रियुगा, लेखनाथ, सिरहा, जलेश्वर र मलङ्गवा नगरपालिका न्यूनतम सर्त पालना गर्न असफल भएका छन् ।  जिल्ला विकास समिति धनकुटा र बुटबल उपमहानगरपालिका उत्कृष्ट स्थानीय निकाय भएका छन् । स्थानीय निकाय वित्तीय आयोगको मूल्यांकनमा ८७ अंकका साथ धनकुटा उत्कृष्ट जिविस भएको हो ।  नगरपालिकातर्फ ९० अंकका साथ बुटवल उत्कृष्ट भएको हो । धनकुटा नगरपालिका र हेटौंडा उपमहानगरपालिका ८९ अंकका साथ दोस्रो भएका छन् भने ८८ अंक ल्याएर घोराही तेस्रो भएको छ । आर्थिक वर्ष २०७१÷७२ को न्यूनतम सर्त तथा कार्यसम्पादन मापनको नतिजा आयोगले बिहीबार सार्वजनिक गरेको हो । 
न्यूनतम सर्त तथा कार्यसम्पादन मापनका आधारमा स्थानीय निकायलाई बर्सेनी वरियताक्रममा राख्ने परम्पराले सकारात्मक प्रतिस्पर्धा बढाएको मन्त्रालयका सचिव महेन्द्र गुरुङले बताए । मन्त्रालयले वित्तीय आयोगमार्फत ११ वर्षदेखि सर्तमा आधारित थप अनुदानको समेत व्यवस्था गरेको छ । वित्तीय आयोगले सार्वजनिक गरेको विवरणअनुसार ८५ अंकका साथ बाँके र दैलेख जिविस दोस्रो भएका छन् भने ७५ अंक ल्याएर पाँचथर, कास्की र प्यूठान तेस्रो स्थानमा छन् ।  ३ हजार १ सय ५७ गाविसमध्ये ४ सय ६७ गाविसले न्यूनतम सर्त पालना गर्न सकेका छैनन् । ग्रामीण तहबाट सेवा प्रवाह गर्नुपर्ने निकायको यस्तो असफलताले स्वशासन र विकेन्द्रीकरणको अभ्यास सफल हुन नसकेको संकेत गर्छ । स्थानीय निकाय वित्तिय आयोगका सदस्य सचिव एवं मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले असफल देखिएका स्थानीय निकाय सुधारका लागि विशेष पहल हुने बताए । सेवा प्रवाह, पारदर्शिता, वित्तीय व्यवस्थापन, राजस्व संकलन क्षमतालगायत सूचकांकका आधारमा वित्तीय आयोगले जिविस, नगरपालिका र गाविसको मूल्यांकन गर्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment