नगदे बालीको पर्याय बन्दै जिर्मलेको सलकपुर


जिर्मले, ७ साउनः प्राकृतिक सौन्दर्यले भरिपूर्ण गाउँलाई पर्यटकीय केन्द्र बनाउन दशकदेखि सक्रिय दक्षिणी जिर्मलेको सलकपुरबासी अचेल केहि सन्तोषको सास फेर्दै छन् । सुन्तला र अलैंचीका लागि परिचित ठाउँ सलकपुरका बासिन्दाले आम्दानी लागि अचेल सुन्तला र अलैंचीको फलको सिजन पर्खनु पर्दैन् । कृषकहरुले बारीभरी राखेको अलैंचीको नर्सरीबाट मात्र वर्षा शुरु भए यता २ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरिसकेको बताउँछन् ।
सलकपुर इलाम जिल्लाको जिर्मले गाविसको १, २ र ३ नं. वडा रहेको वस्तीको नाम हो । अहिले यहाँको नर्सरीमा रहेको अलैंची मेची अञ्चलमा मात्र नभएर काभ्रे, सिन्धुपाल्चोक, सिन्धुलीसम्म जाने गरेको बताउँछन् सलकपुर पर्यटन विकास समितिका अध्यक्ष सुवास तामाङ । सलकपुरे अलैंचीलाई पाखे अलैंचीको नामले पनि चिनिने गरेको सुनाउँदै अध्यक्ष तामाङ भन्छन्– ‘चिसो भन्दा पनि कछाड क्षेत्रमा झनै फस्टाउने र अर्को अलैंचीलाई जस्तो धेरै पानीको पनि आवश्यकता नपर्ने भएकाले पनि यसको बिरुवा नेपाल भरी लैजाने गरेका छन् ।’ बिरुवालाई प्रतिगोटा ४ देखि ५ रुपैयाँसम्ममा बिक्री गर्दै आएको बताउँछन् स्थानीय कृषक नेत्र घिमिरे । लगभग ३ सय घरधुरिको बसोबास रहेको यस ठाउँमा शमशेर राई, याम अधिकारीले जनही २ लाख बढी बिरुवा बेचेको बताउँछन् । गाउँका प्रत्येक घरका कृषकले ५० हजार दरले बिरुवाका बेचेको सुनाउँछन् ।  झापा बाहुनडाँगीको माथिल्लो भेगमा समेत यो अलंैची फस्टाएकाले तराईको माथिल्लो भेगमा समेत यसको खेती हुने सम्भावना रहेको स्थानीयहरु बताउँछन् । केहि समय अगाडिसम्म बिहान बेलुका हातमुख जोर्न धौधौ पर्ने सलकपुरबासीले सुन्तला र अलैंचीकोे खेती शुरु गरेसँगै जीवन स्तरमा रामै्र सुधार आएको बताउँछन् स्थानीय कृषक तथा संचारकर्मी उमेश श्रेष्ठ । सलकपुरे अर्थात पाखे अलैंचीलाई देशका विभिन्न ठाउँमा पुर्याएर आम्दानी लिन सके देशको डामाडोल रहेको अर्थतन्त्रलाई सुर्धान सकिने अध्यक्ष तामाङ बताउँछन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment