इलाम, १० साउनः नेपालमा उत्पादित अर्थोडक्स चियालाई भारतमा खुल्ला बिक्रीमा प्रतिबन्ध लगाउन भारतीय व्यापारीले माग गरेपछि नेपाली चियाको बजार खस्किने चिन्ता बढेको छ । नेपालमा उत्पादित चियाको अधिकांश परिमाणको बजार भारत नै हो । पूर्वी नेपालका पहाडी जिल्लाहरुमा उत्पादित अर्थोडक्स चियाको ८० प्रतिशत भारत निकासी हुने गरेको छ । नेपालका चिया व्यवसायीहरुले यदी भारतले नेपालको चियाको खुल्ला बिक्रीमा प्रतिबन्ध लगाए नेपाली चियाको बजारमा गिरावट आउने बताएका छन् ।
भारतीय व्यापारीका अनुसार नेपालको चिया भारत भित्रिएपछि भारतको दार्जिलिङको चियाको रुपमा बिक्री गर्ने गरिएको छ । उनीहरुले नेपालमा उत्पादित चिया पूर्ण प्रांगारिक अर्थात अग्र्यानिक नभएको दाबी गरेका छन् । विश्व बजारमा भारत पश्चिम बंगालको पहाडी जिल्ला दार्जिलिङमा उत्पादित अर्थोडक्स चियालाई नेपालको चियाले बदनाम गराएको दार्जिलिङका चिया व्यवसायीहरुको तर्क छ ।
नेपालको चिया दार्जिलिङकै चिया भनेर भारत तथा अन्तराष्ट्रिय बजारमा बिक्री हुने गरेको भन्दै उनीहरुले हालै भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई भेटेरै नेपालको चिया भारतमा खुल्ला आयातमा प्रतिबन्ध लगाउन माग गरे । दार्जिलिङ टि एसोसिएसनका अध्यक्ष शिवशंकर बगारियाले भने– ‘दार्जिलिङको चिया पिउनका लागि पूर्ण सुरक्षित छ । तर नेपालको छैन् । दार्जिलिङको चिया पूर्ण प्रांगारिक छ तर नेपालको छैन् । त्यसैले नेपालको चिया भारतमा खुल्ला आयातमा प्रतिबन्ध लगाउन हामीले माग गरेका हौं ।’
उनीहरुले नेपालको चिया नेपालकै भनेर बिक्री गर्न भने आफुहरुलाई कुनै आपत्ति नभएको बताएका छन् । दार्जिलिङ टि एसोसिएसनका सल्लाहकार सन्दिप मुखर्जीले नेपालको चिया प्रांगारिक छ कि छैन भनेर कतै जाँच नहुने गरेको बताए । उनले भने, ‘नेपालको चिया भारतमा बेच्ने हो भने नेपाल कै चिया भनेर बेच्दा हामीलाई आपत्ति छैन् । तर दार्जिलिङको चिया भनेर बेचेर पाइँदैन ।’ नेपालका अर्थोडक्स चिया उत्पादकहरुलाई भारतीय चिया व्यवसायीहरुको उक्त कदमले निकै चिन्तित बनाइदिएको छ । नेपालमा उत्पादित चियाको थोरै मात्रा मात्र तेस्रो देशहरुमा निर्यात हुने गरेको छ । बाँकी भारतमै बिक्री हुने गरेको छ । त्यसैले अब व्यापारको अन्य विकल्प खोज्नुपर्ने अवस्था आएको इलाम पशुपतिनगर सुन्दरपानीस्थित गोर्खा टि स्टेटका प्रोपाइटर उदय चापागाईंले बताए । उनले भने, ‘हामीले यो समस्यालाई चुनौती मात्र नभइ तेस्रो देश निर्यात प्रर्वधनको अवसरको रुपमा समेत लिनुपर्छ ।’ नेपालका इलाम, पाँचथर, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा वार्षिक ४० लाख केजी अर्थोडक्स चिया उत्पादन हुने गरेको नेपालका चिया व्यवसायीहरुले जानकारी दिएका छन् ।
(यो समाचारका सबै सामाग्री बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो)
0 comments:
Post a Comment