जिर्मले, ९ साउनः इलामकै सबैभन्दा बढी र स्वादिलो सुन्तला उत्पादन गर्ने गरेका दक्षिणी इलामको जिर्मले सलकपुरका किसानहरु अहिले आएर सुन्तलाको बोट नै मर्न थालेपछि निराश भएका छन् । अत्याधिक सुन्तला उत्पादन हुने भएको कारण ‘गोल्डेन भ्याली’को उपमा पाएको सलकपुर किसानहरुले विगत पचासको दशक अघिदेखि व्यवसायिक रुपमा सुन्तलाको खेती गदै आएका र आम्दानीको मुख्य श्रोत बनाएर हरेक वर्ष एक करोड भन्दा बढी रकम भित्राउन सफल रहेका थिए ।
वैज्ञानिक तथा आधुनिक कृषि पद्धतिबाट नभई यहाँका किसानहरुले आफ्नै अनुभवबाट विगत वर्षहरुमा सुन्तलाबाट आम्दानी लिन सफल भएका हुन् तर यतिखेर आएर आम्दानीको मुख्य श्रोत सुन्तलाको बोट नैं धमाधम कक्रिएर सर्लक्क सुक्न थालेपछि किसाहरुमा चिन्ता बढेको जिर्मले–१ का कल्पना भण्डारीले बताए । जिर्मले वडा नं. १, २ र ३ का प्रायः सबै किसानहरुले लगाएको सुन्तलाको बोट यसरी नै मर्न थालेको देखिएको छ, यसरी नै सुन्तलाको बोट मर्ने हो भने आगामी एक–दुई वर्षमा सलकपुर सुन्तला विहिन पनि बन्न सक्ने सम्भावना रहेको जिर्मले–१ का किसान याम अधिकारीले बताए ।
खास गरेर अहिले सुन्तलाको बोटमा एक प्रकारको पँधेरा जस्तो सेतो किराको प्रकोपको कारण बोट नै मर्ने गरेकोले आगामी वर्ष सुन्तलाको उत्पादन घट्ने देखिएको छ । सुन्तलाको बोटमा टाँसिएर डाँठबाट रस चुसेर हुर्कन रुचाउने किरा सुन्तलाको बोटमा टाँसिएपछि बोट नै मर्न थालेको किसान खेमराज खनालले बताए । सामान्य विषादीले नमर्ने उक्त किरा मार्न कडा ‘रेड पोइजन’ प्रयोग गरेर वा बोटैमा हेरेर मारेमा मात्र नियन्त्रण हुने किसानहरुको अनुभव रहेको छ । किसानहरुले बढी उत्पादनको मोहले गत वर्षहरुमा जथाभावी रुपमा विषादीहरुको प्रयोग गरेको कारणले समेत अहिले समस्या आएको हुनसक्ने अनुमान किसानहरुले नै गर्न थालेका छन् । यति मात्र हैन अहिले त सुन्तला बारीमा नै अलैंचीको खेती गर्न थालिएको र अलैंचीलाई सिंचाइ गरि रहनु पर्ने तर सुन्तलाको फेद वरीपरी ओभानो राख्नु पर्ने भएपछि अलैंची र सुन्तला खेतीको पारस्परिक मेल नहुँदा पनि सुन्तला मर्न थालेको कतिपय किसानहरुको अनुमान रहेको छ ।
सलकपुर र ‘इलामकै शान तथा पहिचान’ बनेको सुन्तला नेपाली बजारमा मात्र हैन विगत वर्षहरुमा भारतको कलकत्तामा समेत लोकप्रिय बनेको थियो । हरेक वर्षको हिउँदको समयमा सुन्तला चाख्न र हेर्नलाई लाखौको संख्यामा स्वदेशी र विदेशी पर्यटकहरु समेत भित्राएर लोकप्रियता कमाउदै गएको समयमा सुन्तला नै मासिन लाग्दा सरकारी पक्षबाट कुनै सहयोग नपाउनु किसानहरुको लागि दुर्भाग्य नै रहेको किसानहरुको दुखेसो रहेको छ ।
0 comments:
Post a Comment