शनिबार साँझदेखि परेको अविरल बर्षाका कारण झापाको बिभिन्न नदीमा आएको बाढीले सयौं घर डुबानमा परेका छन् । बाढीले जलमग्न बनेको झापामा १ जनाको मृत्यु भएको छ भने अर्का एक वेपत्ता भएका छन् । झापाको गोलधाप—९ का कालीबहादुर लिम्बु डुबेर तथा गेउरिया खोला तर्ने क्रममा गौरादह—५ का ३६ बर्षिय डेकेन्द्र खड्का बेपत्ता भएका छन् ।
बिर्तामोडको बिच भाग भएर बग्ने अन्धुवा खोलाको बाढी बजार पस्दा दजनांै घर तथा पसल डुवानमा परेको छ । बाढीका कारण बिर्तामोडको अतिथि सदन क्षेत्र आसपासको सबै घरको भुईतला पानीमा डुबेको छ भने पार्किङ गरेर राखिएका सवारी साधन डुवेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेची नदीको बाढीले भद्रपुर ५ को नयाँ वस्ती डुबाएको छ । त्यहाँका एक सय भन्दा बढी परिवारलाई स्थानीय भद्रपुर माविमा लगेर राखिएको छ । उता, दक्षिण झापाको कुमरखोद ३ र ४ मा कन्काईको बाढी पस्दा मिलन वस्ती डुबेको छ त्यस्तै पाँचगाछी—१ को नयाँबस्तीका २५ घर र महाभाराको २५ वटा घर पनि बाढीले डुबाएको छ । बिर्तामोड—२ मा रहेको संस्कृति विद्यालयको केही भाग स्थानीय खोलाले बगाएको छ । रतुवा खोलामा आएको बाढीले तटवन्धन भत्काउँदा लखनपुर–२ र गौरादहका केही गाउँ डुबेको प्रहरीले जनाएको छ । बाढीले गरामनी—३ मा १६ वटा घर डुबानमा पारेको छ । त्यसैगरी विरिङ नदीको बाढीले राजगढ—४ को २० विगाह खेती योग्य जमिन बगाएको छ । कन्काईमा नदीमा पानीको सतह खतरास्तर भन्दा माथि पुगेपछि सतासीधाम, सुरुङ्गा, शिवगञ्ज, सरणामति, पाँचगाछी, कुमरखोद कोरोवारी र महाभारा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको रेडक्रस झापाका सभापती लोकराज ढकालले जानकारी दिनुभयो छ । बाढीले ग्रामीण सडकहरु जलमग्न हु“दा आधा दर्जन ग्रामिण सडकहरुमा यातायात ठप्प भएको छ । झापामा बाढीका कारण घर तथा भौतीक सामग्री डुवानमा परेको भएपनि हालसम्म कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डिएसपी हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment