“आमा आज त जाउलीको भात खाने है !”
“आज म मीठो कुराउनी पापा भात पकाउँछु, त्यही खानुपर्छ ।” मेरो कुरा पुरा हुन नपाई मकैको पिठोको ढिँडो हुँडल्दै आमाले भन्नुहुन्थ्यो । हामीले मीठो मानेर खान्थ्यौ । उ बेलाको समय नै दुःखी थियो । हाम्रो गरिब परिवार । बा हामी सानो छँदा बित्नु भएको । बाको अभाव हामीलाई महसुस भएन । हाम्रो लागि सबैथोक आमाले पुरा गर्नु भएको थियो ।
कुनैबेला मेलापात या कतैबाट फर्कदा रात पर्न सक्थ्यो, कहिले हुरीबतास चल्थ्यो । त्यो बेला आँगनको डिलमा बसेर “आमा” भन्दै बोलाउने गर्थें म । केही छिनमै “किन कराएको म आइहाले नि” भन्दै भिजेर निथ्रुक्क हुँदै आमा आईपुग्नु हुन्थ्यो र हामीलाई खुवाई पियाई सुताउनु हुन्थ्यो । तर आमाले कति खानुहुन्थ्यो या खानुहुन्नथ्यो हामीलाई थाहा थिएन ।
आमा बजारबाट फर्कदा चौबन्दी चोलीको गोजीबाट झिकेर राता–सेता मिठाइ दिनुहुन्थ्यो । त्यो बेलामा चक्लेट–बिस्कुट जस्ता मिठाइ हुदैनथे । ती मिठाइ खाँदा म कति खुशी हुन्थे । एकदिन रामनवमीको रात हुरीका साथ ठूलो पानी पर्यो । हामी मस्त निन्द्रामा थियौँ । घरको छानो सबै उडाएर हुरीले बारीको पाटामा फालेछ । यो संकटमा आमाले हामीलाई उठाएर कुनै सुरक्षित ठाउँमा लगेर सुताउनु भएछ ।
हामी त आमाको साथमा थियौँ ढुक्क थियौ तर त्यो बेलामा आमालाई कस्तो भएको थियो के थाहा ? बिहान घरको छाना उडाएको हेर्न आएका मध्ये कोही “बिचरा” भन्दै थिए त कोही कानेखुसी गर्दै हाँस्दै थिए । म स्कुल जाने भै सकेको थिए । एक दिन मेरो कपाल मुसार्दै स्कुल जाने बेला आमाले भन्नू भयो “बाबु ! धेरै पढेर तल्ला घरे काकालाई जस्तै मलाई पनि तिर्थ घुमाउन लैजानु है..” म खुशीले गदगद हुँदै “हुन्छ आमा” भन्दै उफ्रदै स्कुल जान्थे ।
धेरै दुःखले आमाले मलाई पढाउनु भयो । कालान्तरमा म सरकारी जागिरे पनि बने । उ बेलामा आमाको खुशीको सीमा रहेन । एकदिन मतिर फर्केर आमाले भन्नुभयो “यसो तिर्थ कतै जान पाए यो चोला सफल हन्थ्यो होला...!” आमाको कुरा सुनेर मैले “आ घुमेर के फाइदा ? यही बसेर खानुपर्छ । घुम्दा खर्चको नास” भन्दिएँ ।आमा “होला तँ पढेको मान्छे” भन्दै अर्को पट्टी फर्कनु भएको थियो त्यतिबेला ।
ऐले थाहा भयो म कहाँ सम्मको मुर्ख विद्वान् रहेछु । कस्तो दुःख पिडामा पनि कति विचलित नभै मेरो छोरा भन्दै खाइनखाई पढाएर मलाई जागिरे सम्म बनाईदिने आमा भन्दा म बाठो भएर आमाको मनोभावनाको अनादर गर्ने विद्वान छोरो म धिक्कार । आज मलाई पश्चातापले छाती पोली रहेछ । तर के गर्नु समय फर्कदैन रहेछ ।
आमाले मलाई सबै थोक दिनुभयो । तर मैले सक्ने भएर पनि आमाको लागि केही दिन सकिन । छोरो हुँ हजुरको मलाई माफ त अवश्य दिनुहुनेछ ।
आज....जेष्ठ शुक्ल द्वादशी महापर्वणे तिथौ......पुरोहितको यो वाच्यसँगै एउटा पिण्डमाथि दुई थोपा आँसु झार्नु शिवाय आमाको नाममा केही गर्न सकिन...! । अस्तु । सिद्धिथुम्का
0 comments:
Post a Comment