इलाम, २८ कार्तिक ः भारतीय अवरोधका कारण वार्षिक अर्बौ रुपैयाँको चिया निर्यात गर्ने नेपाली व्यवसायीको व्यापार नराम्रोसँग प्रभावित भएको छ । भारतले विभिन्न बहाना देखाएर नेपाली चिया निकासीमा अवरोध गरेको सरकारी अधिकारी तथा व्यवसायीले बताएका छन् । नेपालबाट वार्षिक करीब पौने ३ अर्ब रुपैयाँ बराबरको चिया विदेशी बजारमा निर्यात हुन्छ । नेपाली चियाको मुख्य बजार भारत हो । नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार भारतीय व्यवसायीले आफ्ना उत्पादन बिक्रीमा असर पर्ने भन्ने डरले नेपाली चिया आयातमा अवरोध सृजना गरेका हुन् । व्यवसायीले भने भारतीय सरकारकै तर्फबाट निकासीमा अवरोध भएको बताएका छन् ।
बोर्डका अनुसार भारतीय व्यवसायीले नेपाली चिया आयात रोक्न राष्ट्रपति प्रणव मुखर्जीसमक्ष समेत लबिङ गरेका छन् । नेपाल भ्रमणमा आउनुभन्दा केही दिनअघि मात्रै उनीहरूले राष्ट्रपति मुखर्जीलाई पत्राचारसमेत गरेको बोर्डले जानकारी दिएको छ ।
‘आयात रोक्न भारत सरकारले औपचारिक रूपमा केही अवरोध गरेको छैन तर दार्जिलिङ लगायतका क्षेत्रका भारतीय व्यवसायीले नेपाली चियालाई भारत आयातमा अवरोध गरिरहेका छन्,’ बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले भने । उनका अनुसार नेपाली व्यवसायीले चिया निर्यात गर्दा भारतीय क्रेतापिच्छे छुट्टाछुट्टै ल्याब (प्रयोगशाला) परीक्षण गर्नुपर्छ । जसका कारण अत्यन्तै धेरै सास्ती खेप्नुपरेको नेपाली व्यवसायी बताउँछन् । क्रेतापिच्छे फरक–फरक ल्याब परीक्षण गराउनुपर्दा आर्थिक बोझ पर्न गएको व्यवसायीको गुनासो छ । ‘डेढ वर्षपहिले एकपटक टेस्ट गरेपछि ६ महिनासम्म फरकफरक क्रेतालाई निकासी गर्न पाउने अवस्था थियो,’ नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेशकुमार अग्रवालले भने, ‘तर अहिले क्रेतापिच्छे फरकफरक परीक्षण गराउनुपर्छ । यसले समस्या पारेको छ ।’ एकपटकको परीक्षणकै लागि २५ हजार रुपैयाँसम्म खर्च हुने उनले बताए । चियाको गुणस्तर परीक्षणका नाममा नेपाली चिया निर्यात रोक्न भारतीय व्यवसायीहरू क्रियाशील रहेको उनले बताए ।
विगत दुई वर्षयता भारतीय व्यवसायीले नेपाली चिया निर्यातमा अवरोध गरिरहेका यस क्षेत्रका व्यवसायी बताउँछन् ।
भारतीय व्यवसायीका कारण निकासी गर्दा नेपाली व्यवसायीले चियाको उचित मूल्य पनि नपाएको पनि व्यवसायीको गुनासो छ । त्यस्तै, चिया निकासी गर्ने क्रममा बिल पास गराउनुपर्दा पनि समस्या उत्पन्न भएको छ । भौगोलिक संकेतमा पनि भारतले अवरोध गर्दै आएको छ । ‘भारतीय व्यवसायीले आफूखुशी प्रचलित कानूनको अपव्याख्या गरिरहेका छन्,’ अग्रवालले थपे । चिया निकासी सहज गर्न बोर्डले भारतस्थित नेपाली दूतावास, महावाणिज्य दूतावास लगायत सम्बद्ध अधिकारीसँग समेत छलफल गरिरहेको गौतमले बताए ।
‘निकासी सहजताका लागि केही दिनअघि बोर्डले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग पनि पहल गर्न आग्रह गरेको थियो,’ उनले भने । नेपाली चियाको मुख्य बजार भारत नै भएकाले भारतले नै अवरोध सृजना गर्दा व्यवसायीलाई मर्का परेको हो । हाल नेपालबाट वार्षिक झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको चिया निर्यात हुन्छ । नेपालको चिया विश्वभरि नै उच्च गुणस्तरको मानिन्छ । नेपाली चियाको मुख्य बजार मानिएको भारतीय बजारमा यसको निर्यात हुन नपाएपछि करोडौं घाटा हुन पुगेको नेपाली व्यवसायीले बताएका छन् ।
0 comments:
Post a Comment