इलाम, ७ मंसिरः इलाम जिल्लाकै एकमात्र माई भगवती बृद्धाश्रममा आश्रय लिईरहेका जेष्ठ नागरिकहरुलाई इलामका एक युवा समाजसेवीले ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथिभराको दर्शन गराउने भएका छन् । उनीहरुलाई आज ८ गते बुधबार ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट हेलिकोप्टर चार्टर गरेर दर्शन गर्ने व्यवस्था मिलाईएको हो । इलाम नगरपालिका वडा नं. २ निवासी युवा व्यवसायी सुमन श्रेष्ठले बृद्धाश्रममा आश्रित ११ जना जेष्ठ नागरिक र उनीहरुको स्याहार सुसार तथा सहयोग गर्ने सहयोगी समेतलाई पाथिभरा दर्शन गर्ने व्यवस्था मिलाएका हुन् ।
मंगलबार बिहान बृद्धाश्रम पुगेका सुमनले आश्रमका जेष्ठ नागरिकहरुलाई पाथिभरा दर्शनमा लैजाने बताएपछि त्यहाँ आश्रित जेष्ठ नागरिकहरु हर्षित भएका छन् । जेष्ठ नागरिकहरुलाई कुनै न कुनै दिन पाथिभरा मन्दिरको दर्शनमा लैजाने वचन दिएका सुमनले मंगलबार बिहानै पाथिभरा लैजाने भनेको सुन्दा मनमा सीमाविहिन हर्ष छाएको एघार वर्षदेखि आश्रममा बस्दै आएकी वर्ष ७८ की देवकुमारी घिमिरेले बताईन् । उनले भनिन्– ‘हामीलाई सुमन बाबुले कुनै न कुनै दिन पाथिभराको दर्शनमा लैजाने भनेर भनेका थिए तर आज बिहान अर्पझट ल अब जाने भनेपछि मनमा ठुलो हर्क छाएको छ ।’ घिमिरेले थपिन– ‘यो जुनीमा पाथिभरा जाने सोच नैं आएको थिएन, न कसै आफन्तले हेरे, न यो बुढेसकालमा हिडेर जान सक्ने तागत नैं छ । तर आफन्त जत्तिकै बनेर आएका सुमनले हामीले नसोचेको सोच पुरा गरिदिए उनलाई ह्दय देखि धन्यवाद दिन चाहान्छु ।’
आश्रममा एघार वर्षदेखि आश्रय लिइरहेका बाबुराम कटुवालले तीन वर्ष अघि उनै सुमनले धरानका विभिन्न तिर्थस्थलहरुमा तिर्थाटन गर्न लगेको सम्झदै भने– ‘उनै सुमन बाबुले हामीलाई धरानको पिण्डेश्वर, बराहक्षेत्र, अर्जुनधारा जस्ता धामहरु घुमाएका थिए तिनैले हेलिकप्टरमा पाथिभरा लाने भनेको सुन्दा मनमा औधी खुसी लागेको छ । तर मेरो दमको रोग भएकोले पनि कुनै डर छै्न । भगवानले चिताएको हुँदा जसरी पनि दर्शन गर्नेछु ।’ हाम्रो भाग्यमा यसरी धाम घुमाउने उनै सुमन श्रेष्ठ रहेछन्, आफ्नाले ठगेका हामीलाई सुमनले अपनाएका छन् उनलाई पनि भगवानले हेर्ने छन्– कटुवालले भने ।
आश्रममा आठ वर्ष अघिदेखि आश्रित ६६ वर्षिय देउरुपा श्रेष्ठलाई मंगलबार बिहान पाथिभरा मन्दिर जाने भनेपछि खुसीले भुईंमा खुट्टै नरहेको बताईन । उनले भनिन्– ‘बिहान यो खबर सुने देखि हर्क बढाईं भए जस्तो भएको छ ।’ यता बृद्धाश्रमको स्थापनाकाल देखि नैं आश्रित शारीरिक अपाङ्गता भएकी सावित्रा तामाङलाई तपाईं पाथिभराको दर्शनमा जान लाग्नु भएको हो ? भन्ने चियाबारी दैनिकको प्रश्नमा आफु बसेको ठाउँबाट नाच्न थालिन् र अप्ठेरो बोलीमा यसरी अनाथ भई बेसाहारमा बसेकाहरुलाई बेलाबेलामा धाममा लगेकामा खुसी भएको बताईन् । बृद्धाश्रम प्रबन्ध समितिका सदस्य यामबहादुर थापालाई पनि बृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई यसरी पाथिभरा दर्शनमा लैजाने खबर सुनेपछि आश्चर्यचकितमा परेका छन् । ‘बिहान सुमन भाई आएर बुधबारै बिहान सुकेटारबाट पाथिभराको दर्शनमा लैजाने जेष्ठ नागरिकहरुलाई तयारी राख्नु भनेपछि हामी खुसी भएका छौं ।’ उनले भने– ‘सुमन भाईले यस अघिपनि आश्रमका जेष्ठ नागरिकहरुलाई धरान र झापाका तिर्थस्थलमा घुमाएका थिए । उनले आश्रमप्रति देखाएको सदासयता हामी तिर्न सक्दैनौ होला ।’ यता वर्षेनी आश्रममा आश्रितहरुलाई तिर्थयात्रा लगायत अन्य सरसहयोग उपलब्ध गराउँदै आएका युवा व्यवसायी सुमन श्रेष्ठलाई यस्तो सोच कसरी आयो भन्ने प्रश्नमा श्रेष्ठले भने– ‘मैले पहिलेदेखि नैं बृद्धबृद्धाहरुलाई पाथिभरा लैजाने भनेर सोच बनाएको थिए । अहिले ठिक्क ताप्लेजुङमा महोत्सव चलेको अवसरमा हेलिकोप्टर सुविधा समेत भएको मौका पारेको हुँ । पुरानो सोचलाई साकार बनाउन पाउँदा खुसी लाग्यो ।’ यस्तै आश्रम प्रबन्ध समितिका कोषाध्यक्ष कोमल निरौलाले सुमनको कार्यको प्रशंसा गर्दै भने– ‘सुमनको काम धेरै स्तूत्य छ, सहारानीय छ । विगत देखिनै आश्रममा आश्रितलाई गरेको सहयोग र सामाजिक क्षेत्रमा गरेको योगदान स्तुत्य रहेको छ । आगामी दिनमा आश्रमले सुमनबाट धेरै आशा गरेको छ, उनलाई दानवीर भन्दा फरक पर्दैन ।’
बृद्धाश्रम स्वास्थ्य परिक्षण शिविर सम्पन्न
गोदक, ७ मंसिर (चियाबारी संवाददाता)ः गोदक गाविस राजदुवालीस्थित माई भगवती बृद्धाश्रममा एक दिने स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । उक्त आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई लक्षित गरी इलाम नगरपालिका वडा नं. ८मा रहेको डा.मेघबहादुर पराजुली सामुदायिक अस्पतालको सहयोगमा संचालन गरिएको शिविरमा आश्रम आसपास राजदुवाली टापु र राजदुवाली पुल आसपासका करिब १७ महिला सहित ११ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
परिक्षण शिविरमा सामुदायिक अस्पतालका जनरल फिजिसियन डाक्टर रामकृष्ण आचार्य, अनमी लिला सुवेदी, ज्योति बस्नेत, प्रशासन प्रमुख खेमराज खत्री, रविन रायमाझी, खगेन्द्र ठकुरी, सुनिल कार्की, विनोद कन्दङ्वा लगायतको उपस्थिती रहेको थियो । शिविरमा हाडजोर्नी, पेट दुख्ने, दम, खोकी, मधुमेहको समस्या बढि रहेको डाक्टर आचार्यले जानकारी दिए । यस सामुदायिक अस्पतालले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच बिस्तार गर्नको लागि विभिन्न सहकारी, संघ–संस्थाहरुको समन्वयमा विगतमा जिल्लाका धेरै गाविसका स्थानहरुमा शिविर संचालन गरेको बताउँदै यसपटक पनि सहकार्यको माध्यमबाट माग भई आएमा शिविर संचालन गर्न सकिने प्रशासकिय अधिकृत खेम खत्रीले बताए ।
0 comments:
Post a Comment