२० वर्ष पुराना गाडीले फागुनपछि रुट इजाजत नपाउने, पुरानाको सवारी कर नबुझिने, नामसारी पनि बन्द

२३ कात्तिक, काठमाडौं , २० वर्ष पुराना सवारी साधन सडकमा गुड्न नपाउनु पर्ने हो । तर, कवाडीमा बेच्नुपर्ने अवस्थामा पुगिसकेका यस्ता झण्डै २० हजार सार्वजनिक सवारी अहिले पनि नेपालमा गुडिरहेको सरकारी अनुमान छ ।
यातायात व्यवस्था विभागले फागुनदेखि देशभरका सडकमा गुड्ने २० वर्ष आयु पार गरिसकेका सार्वजनिक सवारी कवाडीमा बिक्री गर्ने योजना बनाएको छ । र, अटेर गरेर गुडे कारवाहीको भागिदार हुनुपर्नेछ ।
थोत्रा गाडीको रुट इजाजत बन्द
सरकारको निर्णयअनुसार आउँदो फागुनदेखि २० वर्षे पुराना सवारीलाई कुनैपनि रुटमा चल्ने इजाजत नदिइने यातायात व्यवस्था विभागले बताएको छ । अहिले प्रत्येक ४(४ महिनामा सार्वजनिक सवारीले रुट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
विभागको साना तथा ठूला सवारी कार्यालयमा भर्खरै प्रमुखका रुपमा पुगेका उप(सचिव बसन्त अधिकारीले फागुनपछि २० वर्ष आयु नाघेका कुनैपनि सवारीको कर समेत नबुझिने अनलाइनखबरलाई बताए ।
गुडेमा कारवाही पनि
उनकाअनुसार त्यस्ता सार्वजनिक सवारीको अब प्राविधिक परीक्षण पनि गरिने छैन । यस्ता सवारीको नामसारी पनि रोकिने र विक्री वितरणमा पनि प्रतिवन्ध लगाइने उनले बताए ।
‘अब फागुनपछि २० वर्ष पार गरेका सार्वजनिक सवारीलाई कुनैपनि सरकारी कागजातका प्रक्रिया अघि बढाउने र रोडमा चल्ने अनुमति दिने क्रम रोकिनेछ,’ अधिकारीले भने, ‘रुट इजाजत नभइ सवारीले सडकमा गुड्नै पाउँदैनन् । त्यसपछि व्यावसायीलाई यस्ता सवारी नहटाई सुखै हुनेछैन ।’
यदि यस्ता सवारी सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिनेछ ।
पुरानै निर्णय कार्यान्वयनको तयारी
२० वर्षे सार्वजनिक सवारी देशभरबाटै विस्थापन गर्ने निर्णय नयाँ भने होइन । सरकारले दुई वर्षअघि नै यो निर्णय गरेको थियो । मन्त्रिपरिषदको यो निर्णय २०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो ।
निर्णयमा २ वर्षभित्र २० वर्ष आयु पुगेका सबै सार्वजनिक सवारीलाई विस्थापन गरिसक्ने उल्लेख छ । र, कार्यान्वयन हुन सकेको छैन ।
सरकारले तोकेको २ वर्षको समयसीमा नाघ्नै लाग्दा पनि व्यावसायीले पुराना सवारी सडकबाट हटाउन अटेर गरिरहेका छन् । यातायात व्यवस्था विभागले पनि व्यावसायीको प्रभाव र दबावमा परेर २० वर्ष नाघेका सवारीलाई रुट इजाजत दिने लगायत सबै कागजी प्रक्रिया सुचारु गरिरहेको छ । तर, अब गाडीलाई कुनै कानुनी मान्यता नै नदिएर विस्थापनका लागि बाध्य पार्न लागिएको कार्यालय प्रमुख अधिकारीले बताए ।
२० हजार कवाडी गाडी रोडमै
कवाडीमा बेच्नुपर्ने झण्डै ५ हजार सार्वजनिक सवारी अहिले काठमाडौं उपत्यकामा नै गुडिरहेको अनुमान विभागको छ ।
यस्ता सवारी बढीजसो विद्यार्थी, कर्मचारी र सर्वसाधारण यात्रु बोक्ने काममा संलग्न रहेको अनुमान छ । देशभरमा झण्डै २० हजार सार्वजनिक सवारी यस्तै कवाडी हुनसक्ने बताइएको छ । ‘पुराना गाडीले प्रदुषण बढी हुन्छ, तेल बढी खान्छ, मानव स्वास्थ्यमा पनि प्रत्यक्ष असर गर्छ भने यसले यात्रुको असुरक्षा पनि बढाएको छ,’ कार्यालयका प्रमुख अधिकारीले भने ।
पुराना गाडीहरु विस्थापन गर्ने योजनाअनुसार अहिलेसम्म उपत्यकाबाट १३ सय वटा पुराना ट्याक्सीहरु हटाइएको छ ।
विभागले अहिले नयाँ गाडी दर्ता गर्दा नै २० वर्षको आयू तोक्ने गर्छ । पहिले यो व्यवस्था थिएन ।
पुराना गाडीहरुको इन्जन र पार्टपूर्जा काम नलाग्ने हुने भएकाले यात्रु बोक्नु निकै जोखिपूर्ण मानिन्छ । तर, त्यस्ता पुराना गाडीहरु ‘शान्ति क्षेत्र’ घोषित विद्यालयमा प्रयोग हुने गरेका जानकारहरु बताउँछन् ।
भक्तपुर, बालाजु, रिंगरोड सहित मुख्य सडकहरुमा नै थोत्रा मिनिबस, माइक्रो, ट्याम्पो लगायतका सार्वजनिक सवारी यात्रु पनि ओसारिरहेका छन् ।
१५ वर्ष पुगेकाको नामसारी बन्द
२० वर्ष पुराना सवारीलाई व्यक्ति वा संस्थालाई बेचेर निजी रातो नम्बर प्लेटमा बदलिदिने चलाखीपूर्ण खेलमा पनि व्यावसायी लागेका छन् । निजी सवारी २० वर्ष पुराना भएपनि विस्थापित गर्ने निर्णय भएको छैन ।
अहिले उपत्यकाका धेरै बोर्डिङ स्कुलले यस्ता थोत्रा बसमा विद्यार्थी बोकिरहेका छन् भने साना खालका सार्वजनिक सवारी कार्यालय प्रयोजन तथा व्यक्तिको घरमा समेत प्रयोगमा छन् ।
यस्ता गाडीले कतिबेला, कसको ज्यान लिने हो वा आफैं नियन्त्रण गुमाएर यात्रुलाई मृत्यु शैयामा पुर्‍याउने हो भन्ने निश्चित छैन ।
अब यस्ता व्यावसायीको चलाखीलाई रोक्न पनि सरकारले नयाँ नियम लागू गर्ने बताएको छ । १५ वर्षभन्दा पुराना सार्वजनिक सवारीको नामसारी र बेचबिखन गर्न नपाइने गरी व्यवस्था गर्न लागिएको कार्यालय प्रमुख अधिकारीले बताए ।
‘सार्वजनिक सवारी २० वर्ष पुग्नै लाग्दा कुनैपनि व्यक्तिलाई झुक्याएर बेच्न सक्छन्,’ अधिकारीले भने, ‘त्यसैले अब १५ वर्ष पुराना सवारीको नामसारी र दर्ता हेरफेर गर्न नपाइने व्यवस्था गर्दैछौं ।’
उनले थोत्रा सार्वजनिक सवारी कुनैपनि प्रलोभनमा परेर नकिन्न सर्वसाधारणलाई आग्रह गरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment