इलाम, १ मंसिरः नोभेम्बर महिनाको १७ तारिखका दिन हरेक वर्ष संसारभरि गैर राजनैतिकरुपमा बहुसांस्कृतिकरुपमा विश्व विद्यार्थी दिवस मनाईन्छ । सम्झना गरौँ न ति दिन जब हामी विद्यार्थी थियौँ या अझै पनि विद्यार्थी हुँदाका क्षणहरु, शिक्षक कक्षाकोठामा छिर्ने बित्तिकै गुड मर्निङ या गुड आफ्टरनुन सर या मिस या म्याडम भन्दाको क्षण, हाजिर गर्दा आफ्नो रोल नम्बरसँगै यस सर या प्रेजेन्ट सर या हाजिर भन्दाको क्षण, सोधेर अनि अनुमति लिएर मात्र शौचालय या काम विशेषले कक्षा कोठा बाहिर गएको क्षण, विद्यार्थी त हामी सबै अहिले पनि छौँ तर स्कूले जीवनको कालखण्डले विद्यार्थीपनालाई अझ वढी झकझकाँउछ ।
विद्यालयको पोशाक, बिहानै राष्ट्रगान गाउँदै एसेम्बली गर्दाको क्षण, मनै गदगद भएर आउँदछ । आज तपाई हामी सबैजनाको दिन अर्थात आज विश्व विद्यार्थी दिवस । जीवन धेरै अध्याय अनि ज्ञानहरुले भरिएको छ, कहिले गुरु हुने त कहिले विद्यार्थी यो नियति हो तर विद्यार्थी हुँदाका क्षण र त्यति बेलाको अनुशासनले हाम्रो जीवनभरी धेरै प्रभाव पार्दछ । तथ्याङ नै हेर्ने हो भने पनि आजको मितिमा सैयौँको संख्यामा नेपाली विद्यार्थीहरु दैनिकरुपमा विदेशमा अध्ययन गर्न जान्छन्, उनीहरुको हक अधिकार अनि परदेशी पृष्ठभुमि सहज पार्नका लागी देश अनि अन्तराष्ट्रिय समुदायले धेरै कदमहरु चाल्न जरुरी छ, त्यसतर्फ पनि निकायहरुको ध्यान जाओस् । स्कुले जीवन र कलेजको जीवनको विद्यार्थीपनाको आभासमा धेरै फरक छ, कलेजको जीवनका विद्यार्थीह्रु तुलनात्मकरुपमा अलि स्वतन्त्र हुन्छन्, आजभोली त शिक्षक शिक्षिकाभन्दा पनि सहजकर्ता या सुझावकर्ताजस्ता विशेषणहरु प्रयोग गर्न थालिएको छ । वास्तवमा विद्यार्थीपनाको परिवेश समय अनि कालखण्ड अनुसार फरक हुँदै गएको छ, गुरु द्रोणचार्यको गुरुकुल शिक्षा देखि गुरुकुलको शिक्षण पद्धति हुँदै आजका दिनसम्मको विद्यार्थीको दिनचर्या अनि पद्धति फरक भइसकेको छ । जे जस्तो भएपनि अनुशासनमा बसेर अनि गुरुहरुको सम्मान गर्दै शिक्षा आर्जन गर्नु नै विद्यार्थीको मुलभुत धर्म हो ।
वृहतरुपमा जीवनका तथ्यहरुलाई आत्मसाथ गर्ने हो भने हामी सबैजना विद्यार्थी हौ, मानवमा हरेकपल केही नयाँ सिक्ने र गर्ने चाहना हुन जरुरी छ र यही चाहनाले उसलाई विद्या आर्जनको पथमा विद्यार्थी परिभाषित गराईरहन्छ । आजको दिनमा चेक रिपब्लीकका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरु माथी नाजी सैनिकहरुले आक्रमण गरी हत्या अनि गिरफ्तार गरेको सन् १९३९को सन्दर्भ जोडिन आँउदछ, आजको दिन ति विद्यार्थीहरु र उनीहरुको मृतआत्माको चिर शान्तिको कामना पनि गरिने चलन छ । नेपालमा पनि विभिन्न चरणमा भएका आन्दोलन अनि परिवर्तनकारी कदमहरुमा विद्यार्थीहरुको सहभागीता अत्यन्त महत्वूर्ण छ चाहे त्यो ७ साल होस् या ४६ या ६२ र ६३को जनआन्दोलन नै किन नहोस ? देशका ठूलाठूला राजनेताहरुले विद्यार्थीकाल देखिनै विद्यार्थी आन्दोलनमा सहभागी भएका र राजनीति गरेका हुन् । विद्यार्थी राजनीतिको राम्रा र नराम्रा पक्षहरु दुवै छन्, शिक्षा आर्जन स्वतन्त्र, निष्पक्ष अनि तठस्ट रहन जरुरी छ यही तठस्टतासँगै आज हामी सबैलाई विद्यार्थी दिवसको शुभकामना छ ।

0 comments:
Post a Comment