पार्किङ स्थलको अभावमा अस्तव्यस्त बन्दै इलाम

नमीन ढकाल


इलाम, ९ मंसिर । सवारी साधन पार्किङ गर्ने व्यवस्थित पार्किङ्गस्थल नहुँदा इलामको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ । प्राकृतिक सुन्दरताले हरेक नेपालीको मन लोम्याउन सकेको इलाममा पार्किङ्गस्थलको अभावमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको हो । पार्किङ्गस्थलको अभावले गर्दा  इलाम आउने सवारीधनीले जथाभावी सवारीसाधन पार्किङ्ग गर्दै आएका छन् ।
इलामको सदरमुकाम इलाम बजार लगायत सुर्योदय नगरपालिका, मंगलबारे, बिब्ल्याँटे, पशुपतिनगर, कन्याम, कुटीडाँडा लगायतका क्षेत्रमा पार्किङ्गस्थल अभावले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्ने गरेको छ । अव्यवस्थित पार्किङस्थल भएपछि  घरायसी तथा व्यापारिक  प्रयोजनका लागी सामान खरिद गर्न आउने सर्वसाधारणले सडक छेउमै पार्किङ गर्ने गरेका छन् । पार्किङस्थल नभएपछि सदरमुकामको इलाम चोकबजार देखि टुडिँखेलसम्मको क्षेत्रमा बाटाको एकतर्फी मोटरसाइकल पार्किङ गर्न ट्राफिक प्रहरी कार्यालयले नै निर्देशन जारी गरेको छ । ट्राफिक प्रहरी प्रमुख पदम राई भन्छन्– ‘सडक छेउमा पार्किङ गर्न नहुने हो तर इलाममा व्यवस्थित पार्किङस्थल नभएपछि सडक आसपासकै क्षेत्रलाई मोटरसाइकल पार्किङस्थलको रुपमा तोक्न बाध्य छौ । तै पनि सवारी साधनको अत्याधिक चापका कारण दुवै तर्फ गर्ने गरिएकाले दुर्घटनाको खतरा बढको छ । यसरी सडक छेउमा मोटसाइकल लगायत साना सवारी साधन पार्किङ गर्नाले ठुला सवारी साधन ओहोरदोहोरमा समस्या पर्ने गरेको छ । नगरपालिका क्षेत्रमा ठुला सवारी साधन पार्किङ गर्न लामो दुरीको लागी बसपार्क र छोटो दुरीको लागी चोकबजार छेउमा पार्किङ स्थल बनाइएपनि सबै सवारी अटाउन नसकेको पाइन्छ । सानो पार्किङस्थल भएकाले गाडी पार्किङ गर्न पाइदैन, बाटो छेउमा राख्दा पनि ट्राफिक प्रहरीले कारवाही गर्ने डर हुन्छ –सवारी चालक देवेन्द्र बराइलीको गुनासो छ । पार्किङस्थल नभएपछि सडक छेउछाउ यत्रतत्र अव्यवस्थित रुपमा सवारी साधन राखिएको पाइन्छ ।
सोयाङ, नाम्सालिङ लगायत उत्तरी गाविसबाट आउने सवारी साधनलाई व्यवस्थापन गर्न पार्किङस्थल नभएपछि अहिले मालापाथ छेउमा बाटो अवरोध हुने गरी पार्किङ गरिदै आएको छ । नगरपालिकाले वार्षिक पार्किङ शुल्क बापत २० लाख रुपैंयाँ भन्दा बढी आम्दानी गर्ने गरेपनि पार्किङस्थल व्यस्थापनमा चासो नदिएको पुर्वेली टयाक्सी व्यवसायी संघ सोनाम यल्मोले बताए । अत्यन्त व्यस्त रहने इलाम बजारमा बाटा छेउमा जथाभावी सवारी पार्किङ गरिनाले पैदलयात्री हिड्न समेत असहज भइरहेको छ । इलाम बजारभित्रका अधिकांस बाटोहरु तोकिएको मापदण्ड भन्दा धेरै साना छन् । पैदलयात्री माधव भट्टराई भन्छन्– ‘जथाभावी गाडी राख्नाले बाटो साँघुरो भइ गुडिरहेको गाडीले हान्छ कि भन्दै डराएर हिडनुपर्ने अवस्था छ ।’ त्यसै गरी पुर्वाधार तयार नगरी घोषित गरिएको सुर्योदय नगरपालिकामा पनि पार्किङको ठुलो समस्या छ । पार्किङस्थल नभएपछि हाल सुर्योदय नगरपालिकामा ठुला सवारी मेची राजमार्ग र पशुपतिनगर जान बाटो छेउमा सयौको संख्यामा पार्किङ गरेर राखिनाले सडक दुर्घटना बढ्ने गरेको छ । नयाँ घोषित नगरपालिका भएकाले आगामी आर्थिक वर्षमा कार्ययोजना बनाई उपयुक्त स्थानमा पार्किङ व्यवस्थापन गर्ने तयारी भइरहेको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बताए । सुर्योदय नगरपालिकाको ट्राफिक व्यवस्थापनका लागी छिपिटार पेट्रोल पम्प आसपासको क्षेत्रमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाका कर्मचारी हरी गुरागाईले बताए । अत्याधिक यातायातको चाप रहने मेची राजमार्गमा सवारी पार्किङ गरिनाले पैदलयात्रीहरुलाई समस्या पर्ने गरेको छ । भारतसँग सिमा जोडिएको पशुपतिनगर व्यापारिक केन्द्रमा व्यवस्थित पार्किङ्गस्थलको अभाव भएको छ । व्यवस्थित पार्किङ्गस्थल नहुदा नेपाल मात्र नभएर भारतीय नम्बर प्लेटका सवारीसाधनले समेत पशुपतिनगर व्यपारिक केन्द्रको सडकमै पार्किङ्ग गर्दै आएका छन् । नेपालबाट भारतको पर्यटकीय क्षेत्र जाने र भारतीय पर्यटक पशुपतिनगर भ्रमण गर्न आउनाले सवारीसाधनको चाप बढ्नाले ट्राफिक व्यवस्थापनमा पनि समस्या हुने गरेको छ ।
भारतीय सवारीसाधन बजारभित्र आएर सडकमै पार्किङ्ग गर्नाले ट्राफिक व्यवस्थापन हुन नसकेको स्थानीय कमल गदालले बताए । सडकमै पार्किङ्ग गरिदा पसल नै छेक्ने गरी पार्किङ गर्ने र यात्रुहरु ओराल्ने तथा चढाउनाले व्यापारमा समेत समस्या भएको व्यापारीको गुनासो छ । गाविसबाट निर्माण गरिएका दुई वटा पार्किङ्गस्थल सानो भएकाले चारमाइल सडक र बागबिरे चोकमा समेत गाडीहरुको पाकिङ्ग हुदैँ आएको छ । पशुपतिनगरमा देश भरका पर्यटक आउने गरेकाले पार्किङ्गस्थलको समस्या हुने गरेको छ । पशुपतिनगरमा भारतको सिक्किम, दार्जिलिङ्ग, मिरिक, ग्यान्टोकबाट भारतीय पर्यटक सवारीसाधन लिएर आउने गरेका छन् भने नेपालबाट सबै जिल्लाका पर्यटक पशुपतिनगर र भारतको दार्जिलिङ्ग घुम्न जाने गरेका छन् ।
पर्यटक मोटरसाइकलमा समेत आउनाले कतिपयले प्रहरी चौकीमा समेत पाकिङ्ग गर्दै आएका छन् । भारतीय सवारीसाधन पशुपतिनगर बजारभित्रै आउने र नेपाली सावारीसाधन भारतीय बजारमा जान पाउँदैनन् । भारतीय सवारीसाधन पनि धेरैजसो नेपाली क्षेत्रमै पाकिङ्ग हुदै आएका छन् । गाडी पार्किङ्गस्थल गर्न समस्या रुपमा नभएपनि अन्य स्थान नभएकाले सडकमै पार्किङ्ग गर्दै आएको र यसको समाधानका लागि स्थानीयबासीको सहकार्यमा निश्चित स्थान तोकिएको ट्राफिक प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment