कालीध्वज गणले मनायो १६३ औं बार्षिक उत्सव

इलाम, २७ कार्तिकः २०६७ साल चैत १९ गतेदेखि इलाम जिल्लामा तैनाथ रहेको श्री कालीध्वज गणले १६३ औं बार्षिक उत्सव मनाएको छ । जिल्लास्थित सुरक्षा अङ्गका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा गणले विविध सांस्कृतिक कार्यक्रम तथा रात्रीभोजको आयोजना गरि उत्सव मनाएको हो । सदरमुकामस्थित गडीथुम्का व्यारेकमा आयोजना गरिएको कार्यक्रममा पुर्वी पृतना हेडक्वाटरका पृतनापति तथा कार्यक्रमका प्रमुख अतिथि उपरथी प्रह्लाद थापाले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन गरे । श्री नं. २१ बाहिनीका बाहिनीपति सहायक रथी सिताराम खड्का र सहायक रथी सुरेसराज थापाले केक काटेर सामुहिक कार्यक्रमको उद्घाटन गरे । 
‘राष्ट्र प्राण भन्दा प्यारो छ’ भन्ने आदर्श वाक्य रहेको श्री कालीध्वज गण विसं. १९१० भदौ २९ गते श्री ५ सुरेन्द्र विक्रम शाहको पालामा ‘कालीध्वज कम्पनी’को नाममा रामेछाप जिल्लामा स्थापना भएको हो । कैयन पल्टनहरूको खारेजी सँगसँगै यो कम्पनी पनि वि.सं.१९७९ सालमा खारेजीमा परेको थियो । यो कम्पनी पछि बृहत् सैनिक पूनर्गठनको सिलसिलामा ‘नं.३ हिमाली राईफल’ कम्पनीको नाममा वि.सं.२००९ साल असोज १ गते पूनस्थापित भइ सिंहदरबारमा तैनाथ रहेको थियो । हिमाली राईफल कम्पनीको रूपमा पूनस्थापित भएको यो पल्टन वि.सं.२०२६ साल भदौ २९ गते ‘कालीध्वज गुल्म’मा रूपान्तरण भइ गुल्म स्थानान्तरणको सिलसिलामा सिंहदरवार, धनकुटा, सिराहा, पाँचथर, इलाम, कोशीटप्पु, खोटाङ, सिराहा, पाँचथरमा तैनाथ भएको थियो । त्यसैगरि नेपाली सेनालाई विस्तृतिकरण गर्ने क्रममा यो गुल्म पाँचथर व्यारेकमा तैनाथ रहेको समयमा वि.सं. २०६१ साल साउन ८ गते अनाश्रित गुल्मबाट ूकालीध्वज गणूमा परिणत भइ वि.सं.२०६१ साल मङ्सिर ५ गतेबाट कालीध्वज गण ईटहरी व्यारेकमा तैनाथ भएको र गण स्थानान्तरणको क्रममा वि.सं.२०६२ साल कार्तिक ८ गतेबाट भोजपुरमा तैनाथ भएको थियो । आफूलाई सुम्पिएको गहन जिम्मेवारी उच्च तवरबाट निर्वाह गर्दै पूनःस्थानान्तरण भइ वि.सं. २०६७ साल चैत १९ गतेबाट इलाममा तैनाथ रहेको छ ।
गणको प्राङ्गणमा बार्षिकउत्सव मनाउन आयोजित कार्यक्रममा सेनाका सांस्कृतिक विभागका कर्माचारीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए । देशका विभिन्न क्षेत्रका मौलिक नृत्य तथ कलाहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो । रमाइलो हास्य ब्यंगात्मक प्रस्तुतिले सहभागीहरुको मन जितेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दहाल, नेपाल प्रहरी प्रमुख शु्शिल यादव, सशस्त्र प्रहरी प्रमुख चेतराज जोशी लगायतका कार्यालय प्रमुखहरुको सहभागीता रहेको थियो । उपस्थित आमन्त्रितहरुलाई गणपति प्रकाश लामिछाने, मेजर हरि पाण्डे लगायतले स्वागत तथा आभार प्रकट गरेका थिए ।   

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment